२०७९ असार २२
July 6, 2022, Wednesday

प्रिय बेनी ! तिमीसँग मायालु नजर मिलाएर लामै बात मार्ने रहर छ

प्रिय बेनी ! तिमीसँग मायालु नजर मिलाएर लामै बात मार्ने रहर छ

धर्मेन्द्र झा

‘बेनीको बजार, 
जता माया उतै छ नजर
किरेमिरे जाले रुमाल…’ 

नेपालको ७३ जिल्ला टेक्ने क्रममा म्याग्दी टेक्ने अवसर पनि मलाई प्राप्त भएको छ । मेरो दुई पटकको भ्रमणको निष्कर्ष हो– म्याग्दीको सदरमुकाम बेनी मलाई निकै मन परेको भूगोल हो । 

म्याग्दी मैले दुईपटक टेकेँ । एकपटक सायद ६९–७० सालतिर र अर्कोपटक ७८ साल माघ महिनामा । 

पहिलोपटक त मैले टेकेको मात्र हुँ । एउटा कार्यक्रमका सन्दर्भमा बागलुङ पुगेको बेलामा स्थानीय साथीहरूसँग बेनी पुगेर एक कप कफी पिएर पुनः बागलुङ फिरेको हुँ । 

दोस्रो पटक २०७८ माघको १७ गते म्याग्दी टेक्ने क्रममा बेनीको सङ्गत गरेको हुँ । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशले आयोजना गरेको पत्रकारितासम्बन्धी तालिमको सहजीकरणका सन्दर्भमा म्याग्दीको सिंगासम्म पुगेको हुँ । 

मेरा लागि यति महत्वपूर्ण गीतमा उल्लेख गरिएको बेनी यति नजिकै हुँदा पनि त्यहाँ कसरी नपुग्ने ?

बेनी अर्थात् म्याग्दीको सदरमुकाम । म्याग्दी र काली गण्डकी नदीको सङ्गमस्थल । पहिलोपटक मैले यहाँ मुस्किलले एक घन्टाजति समय बिताएको थिएँ । त्यसबेला म निकै हतारमा हुँदाहुँदै पनि बेनी गएको थिएँ । हेरेको थिएँ र बेनीलाई अनुभूत गर्ने प्रयत्न गरेको थिएँ । कारण थियो– त्यही गीत, जसको उल्लेख मैले माथि गरेको छु । 

मैले आफ्नो बाल्यकालदेखि नै सुनेको गीत हो यो । मलाई निकै मन पर्ने गीत । मैले बेनी देखेको थिइनँ । तर यो गीतको लवज, शैली र स्वरले मलाई निकै आकर्षित गर्ने गरेको थियो । 

बेनीसँगको मेरो पुरानो सम्बन्ध छ जस्तो अनुभूत मलाई पटकपटक भएको हो । अहिले पनि छ । अनायास मेरो मुखमा यो गीतका हरफहरू झुन्डिन्छन् र म गुनगुनाउन थाल्छु,

बेनीको बजार…

मेरा लागि यति महत्वपूर्ण गीतमा उल्लेख गरिएको बेनी यति नजिकै हुँदा पनि त्यहाँ कसरी नपुग्ने ? मलाई पहिलोपटक यही हुटहुटीले बेनी पुर्‍याएको हो भन्दा फरक पर्दैन । 

अलि पुरानो पनि भयो क्यारे, मैले पहिलोपटकको संस्मरणको टिपोट गरिनँ । तर अहिले आएर बेनीको पहिलो भ्रमणको स्मरण गर्दा वर्तमानसँग तारतम्य मिलाउन निकै कठिन भएको स्वीकार्दा मलाई आपत्ति छैन । खैर, यसका बारेमा अहिले चर्चा नगरी बेनीकै बारेमा केन्द्रित हुनु उपयुक्त हुन्छ । 

माथि उल्लेख गरिएको चर्चित गीतका हरफमा भनिएझैँ जता नजर लगाए पनि सुन्दर देखिने बेनी बजार म्याग्दी र कालीगण्डकी नदीको सङ्गमस्थलमा अवस्थित छ ।

पर्वत राज्यको इतिहासबारे जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती फलाम र आरनको काम गर्नेहरूको हो ।

बेनी बजार प्राकृतिक सुन्दरताले मात्रै होइन, ऐतिहासिक दृष्टिकोणले समेत महत्वपूर्ण छ । तुलनात्मकरूपमा बेनीको बस्ती नयाँ हो । इतिहासकारहरूका अनुसार नेपाल एकीकरणका क्रममा गोरखा राज्यले बेनी कब्जा गर्ने बेलासम्म यहाँ बस्ती थिएन । 

१८४३ सालपछि मात्र यहाँ बस्ती बस्न थालेको मानिन्छ । बेनीमा मानव बस्तीको विकास कहिलेदेखि भयो यो अलग कुरा हो । तर सत्य के हो भने नेपालको राजनीतिक इतिहासमा यस ठाउँको सदासर्वदा सामरिक महत्व छ ।

तत्कालीन समयमा बेनी बजार भोट तिब्बत र मधेसको प्रमुख व्यापारिक केन्दमात्र थिएन, बरु भोट उक्लने महत्वपूर्ण नाका पनि थियो । यही नाका पछि हाट बजारमा परिणत हुँदै अहिलेको बेनी बजार विस्तार भएको स्थानीय जानकारहरूले बताउने गरेका छन् । 

इतिहासकारहरूका अनुसार बेनी बजार पहिला पर्वत राज्यअन्तर्गत थियो । मोहनबहादुर मल्लद्वारा लिखित ‘पर्वत राज्यको इतिहास’ नामक पुस्तकमा १८४३ सम्म बेनीमा लाग्ने हाट मेलाले वैदेशिक व्यापारको रूप लिएपछि व्यापार व्यवस्थित गर्नका लागि पर्वत राज्यले बेनीमा अस्थायी मुकाम राख्न थालेको उल्लेख छ ।

इतिहास जेसुकै होस्, वर्तमानको एउटा अकाट्य सत्य के हो भने बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ ।

यस्तै इतिहासकार चन्द्रप्रकाश बानियाँका अनुसार त्यतिबेला पर्वत राज्यको राजधानी ढोलठानामा थियो । राजा दिलीपबम मल्ल (डिम्ब मल्ल) गर्मीमा ढोलठाना र जाडोमा बेनी झर्ने गर्दथे । जाडो छल्नका लागि मात्र ढोलठाना दरबार बेनी झर्न थालेको होइन भन्दै इतिहासकार बानियाँ भन्छन्– यसको अर्को महत्व पनि छ ।

बानियाँका अनुसार ढोलठाना दरबारले दुई नदीको दोभानमा अवस्थित सिँचाइका लागि उपयुक्त बेनीमा खेतीको पनि प्रारम्भ गरेको थियो । बानियाँ यसको प्रमाणका रूपमा यहाँका राजकुलोहरूलाई प्रस्तुत गर्छन् । उनका अनुसार राजकुलोको निर्माण गरेर दरबारले नै यहाँ खेती गर्न थालेको हो ।

पर्वत राज्यको इतिहासबारे जानकार बानियाँका अनुसार बेनीको पहिलो बस्ती फलाम र आरनको काम गर्नेहरूको हो । बानियाँका अनुसार हतियार निर्माणका लागि उनीहरूलाई बेनीमा राखिएको हो ।

गोरखाले बेनी कब्जामात्रै गरेन, दरबारमा आगजनी गरेर ध्वस्त बनाएको थियो । बानियाँ बेलिबिस्तार लगाउँदै भन्छन्– दरबारको त्यही खरानीमा बेनीको बजार बसेको हो ।

मल्ल र बानियाँ दुवैजना एउटा कुरामा सहमत छन् । त्यो के भने– विसं १८४३ पछि मात्र बेनी बजारमा बस्ती विस्तार हुन थालेको हो । बेनीमा नेवार बस्ती बसिसक्दा पनि बेनीको मुख्य बजार पारीबेनी थियो ।

बेनीमा स्कुल पाठशाला नखुल्दै पारीबेनीमा मिडिल स्कुल थियो । त्यही मिडिल स्कुल पछि मल्लाज स्थानान्तरण भएको हो । पारीबेनीको स्कुल मल्लाज उक्लेपछि मात्र बेनीमा विद्यालय खुलेको इतिहासकार बानियाँले बताए । बेनीमा विद्यालय खुलेपछि बस्ती विस्तार हुने क्रम बढ्दै गएको हो । 

घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागि समेत जग्गा पाइन छोडेको छ । बेनीमा परिवर्तन त २०७६ को बाढीपछि पनि देखापरेको छ ।

इतिहास जेसुकै होस्, वर्तमानको एउटा अकाट्य सत्य के हो भने बेनी बजार प्राकृतिकरूपले अत्यन्त सुन्दर छ । म्याग्दीमात्र होइन, मुस्ताङको समेत प्रवेशद्वार मानिने आकारमा सानो बेनी बजार म्याग्दी र कालीगण्डकी नदीका कारण सङ्कटाभिमुख अवस्थामा पुगेको छ ।

यसक्रममा २०७६ साल असारको अन्तिम सातामा बेनीले बेहोरेको त्रासदीलाई स्मरण गर्नु जरुरी छ । दुई नदीको सङ्गमस्थलमा बसेको यो सानो बजार यही दुई नदीमा आएको बाढीका कारण नकै ठूलो समस्यामा पर्‍यो ।

स्थानीयका अनुसार भगवान मुक्तिनाथ र गलेश्वरको कृपाका कारण बेनीमा ठूलो क्षति हुन पाएन । तर एउटा कुरा मान्नैपर्छ– म्याग्दी र कालीगण्डकीको लगातार कटानका कारण बेनीको बस्ती जोखिममा छ । तर बाध्यता के छ भने बस्ती स्थानान्तरणका लागि उपयुक्त विकल्प र पहल दुवै छैन । 

माथि भनिएजस्तै सानो आकारको यो बजारमा अब बस्ती विस्तारको सम्भावना पनि छैन । पर्वत, बागलुङ र म्याग्दी जिल्लाको सिमानामा अवस्थित म्याग्दीको सदरमुकाम बेनीको विस्तार अन्यत्र हुन सक्ने सम्भावना कम छ । यसको मूल कारण हो– बेनी भूगोलमात्र होइन । यो बजारमात्र पनि होइन र यो सामान्य बस्ती पनि होइन । यी सबैसँगै जोडिएको छ बेनी अर्थात म्याग्दीको इतिहास, सभ्यता र संस्कृति ।

बेनीका दुई–चार पसल पारि पर्वत र बागलुङतर्फ सरे पनि बेनीको चिनारी सर्न सक्दैन । बेनीको परिचय र पहिचान पारिपट्टि जान सक्दैन । ‘बेनीको बजार, जता माया उतै छ नजर किरेमिरे जाले रुमाल…’ गीतको मौलिकता त बेनीसँगै सधैँ सम्बन्धित रहने छ । यो अपरिवर्तनीय छ र रहने छ । 

बेनी तिमीसँगको यो दुवैपटकको छोटो भेटले मेरो चित्त बुझेको छैन । एकपटक अलि धेरै समय बिताएर तिमीसँग जाले रुमाल अगाडि राखेर मायालु नजर मिलाएर लामै बात मार्ने रहर छ ।

अहिले बजारको स्वरूप फेरिएको छ । जताततै कङ्क्रिट नै कङ्क्रिटका भव्य संरचना ठडिएका छन् । स्थानीयका अनुसार अति महँगोमध्येको बजार बन्न पुगेको छ बेनी । वैदेशिक रोजगारीका कारण गाउँबाट सहर झर्नेक्रम तीव्ररूपमा बढेको छ ।

गाउँ खाली हुँदा बजार भरिन पुगेको छ । घरजग्गाको कारोबार गर्ने व्यापारीका अनुसार अब बेनीमा घडेरीका लागि समेत जग्गा पाइन छोडेको छ । बेनीमा परिवर्तन त २०७६ को बाढीपछि पनि देखापरेको छ ।

म पहिलोपटक बाढीभन्दा पहिले र दोस्रोपटक बाढीपछि बेनी पुगेको हुँ । त्यसो त बेनीमा देखिएका भौतिक परिवर्तन समयसँगै आएका परिवर्तन पनि हुन सक्छन् । तर मलाई लाग्छ, बेनी बजारमा देखिएको पछिल्लो भौतिक परिवर्तनमा बाढीको त्रासदीले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

मेरा हकमा एउटा अर्को कुरा पनि सत्य हो । त्यो के भने– मैले पहिलोपटक त बेनीमा धेरै समय बिताउन पाएको थिइनँ नै दोस्रो पटक पनि यहाँ धेरै समय बिताउन पाइनँ । दोस्रो पटक, म सिंगा तातोपानी जाने क्रमको साक्षीमात्र बन्यो बेनी । 

बेनी तिमीसँगको यो दुवैपटकको छोटो भेटले मेरो चित्त बुझेको छैन । एकपटक अलि धेरै समय बिताएर तिमीसँग जाले रुमाल अगाडि राखेर मायालु नजर मिलाएर लामै बात मार्ने रहर छ । हेरौँ कहिले जुर्छ ! साभार कोशि अनलाइनबाट

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७८ फाल्गुन २९, आईतवार १७:१९

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७८ फाल्गुन २९, आईतवार १७:१९

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७८ फाल्गुन २९, आईतवार १७:१९

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP