२०७९ असार २२
July 6, 2022, Wednesday

प्रकृतिले गर्माएकाे पानीमा जब डुबुल्की मारिन्छ‍‍…

प्रकृतिले गर्माएकाे पानीमा जब डुबुल्की मारिन्छ‍‍…

धर्मेन्द्र झा
काठमाडौँ

हिमाली जिल्ला म्याग्दी ‘तातोपानीका कुण्ड’का लागि पनि प्रसिद्ध छ । यहाँ तातोपानीका अनेक कुण्ड छन् ।

किन छन् ? निश्चय पनि यसको वैज्ञानिक कारण होला । यकिन गर्न अनुसन्धान आवश्यक छ । सम्बद्ध निकायले यसका बारेमा गम्भीर हुनु जरुरी छ । यस्ता कुण्डका सम्बन्धमा अनेक जनविश्वास र जनश्रुति स्थानीय समाजमा विद्यमान छन् । धेरैजसो कुण्डको चर्चा स्वास्थ्यलाभसँग जोडेर गर्ने गरिन्छ ।

म्याग्दीका तातोपानीका कुण्डको कुरा गर्दा सिंगा र भुरुङमा अवस्थित कुण्डको चर्चा बढी हुने गर्दछ । यहाँ सिंगास्थित कुण्डको बारेमा चर्चा गर्ने प्रयत्न गरिएको छ । भुरुङको तातोपानी बेनी—जोमसोम मार्गमा पर्ने भएकाले मार्फा, जोमसोम र मुक्तिनाथको यात्रा गर्ने जो–कोहीका लागि पनि सहज पहुँचमा छ भने सिंगाको तातोपानी पुग्नका लागि यहीँसम्मको यात्रा योजना बनाउनुपर्ने हुन्छ । 

तातोपानी कुण्डमा स्नानका लागि आवश्यक सहजीकरण त्यही होटलका कर्मचारीले पनि गरिदिँदा रहेछन् ।

म्याग्दीमा अवस्थित तातोपानीको कुण्डमध्ये सिंगास्थित कुण्ड बढी चर्चित छ । मैले पनि यस कुण्डको अवलोकन र यहाँ स्नान गर्ने रहर निकै पहिलेदेखि पालेको हुँ । तर सम्भव हुन सकिरहेको थिएन ।

बेनी नगरपालिका–४ (विगतमा सिंगा गाविस) मा पर्र्ने यो कुण्ड नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि निकै चर्चित छ । यहाँ नेपालका अतिरिक्त भारत, बंगलादेश, भुटान, चीन, जापान आदि देशबाट पनि पर्यटक आउने गरेका छन् । 

मैले पहिलोपटक सम्भवतः ६९–७० सालतिर म्याग्दी जिल्ला टेकेको हुँ । त्यसबखतको बसाइ निकै छोटो थियो । मैले कतै पनि घुम्ने अवसर पाएको थिइनँ । सायद एक कप चिया खाएर म बेनीबाट फर्किएको थिएँ ।

अर्कोपटक २०७८ माघ महिनाको १७ गते म्याग्दी टेक्दा तातोपानीको संगत गरेको हुँ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा म्याग्दीका पत्रकारका लागि आयोजित पत्रकारिता तालिमको सहजीकरण गर्ने क्रममा मैले बेनीमात्र टेकिनँ, बरु तातोपानीसँग रम्ने भिज्ने अवसर पनि प्राप्त गरेँ ।

त्यसबेला सिंगास्थित श्रेष्ठ तातोपानी होटलमा तालिमको आयोजना गरिएको थियो । उत्कृष्ट होटलको उत्कृष्ट बसाइ । सिंगामा भव्य होटल रहेछ । खुसी लाग्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको उक्त होटल तातोपानीको कुण्डनजिकै अवस्थित रहेको हुँदा त्यो होटलमा बास बस्ने जो कोहीका लागि तातोपानी कुण्डमा स्नान सहज हुने मेरो बुझाइ हो ।

तातोपानी कुण्डमा स्नानका लागि आवश्यक सहजीकरण त्यही होटलका कर्मचारीले पनि गरिदिँदा रहेछन् । मैले उक्त होटलमा त्यसबखत दुई रात (२०७८ को जेठ १७ र १८) बिताउने अवसर प्राप्त गरेको थिएँ । त्यसबखत मैले सिंगामा बिताएका दुवै चिसा रातको साँझ कुण्डमा डुबेर उष्णताको अनुभव गर्ने मौका पाएँ । गज्जबको अनुभूति थियो ।

यहाँका बारेमा मेरो प्रत्यक्ष अनुभव के हो भने थकित भएर यहाँ गएर स्नान गर्दा सबै थकाइ भाग्छ र एउटा नयाँ स्फूर्ति प्राप्त हुन्छ ।

म्याग्दीमा सञ्चालित उक्त तालिमको क्रममा मैले पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव सन्तोष गौतमसहित रेशाखकौशल रेग्मी, निर्मल खत्री, राकेश शर्मा, जगत बानियाँलगायतका साथीहरूको अविष्मरणीय माया पाएको थिएँ । म यी साथीहरूबाट प्राप्त स्नेह र सम्मान कहिले बिर्सने छैन ।

यस्तै नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष नारायण शर्मा, उपाध्यक्ष सोनी शर्मा र महासचिव गोविन्द सुवेदीलगायतका पदाधिकारी र सदस्यहरूप्रति पनि अनुगृहित छु । 

प्रकृति पनि बडो गज्जबको छ । विश्वास गर्न पनि कठिन हुने । समुद्र सतहभन्दा ९३० मिटरको उचाइमा म्याग्दी नदीको किनारमा अवस्थित तातोपानीको कुण्ड । करिब ५० डिग्री सेल्सियसको तापक्रमको पानी । जाडो मौसममा नुहाउन त बडो आनन्द आउने । त्यसो त यहाँको पानी चर्म रोगलगायत अन्य रोगको पनि उपचारमा सहायक हुने विश्वास गरिन्छ ।

यसको वास्तविकता त कुनै रोगको उपचारका सन्दर्भमा यहाँ जानेहरूले नै राम्ररी बताउन सक्लान् । यहाँका बारेमा मेरो प्रत्यक्ष अनुभव के हो भने थकित भएर यहाँ गएर स्नान गर्दा सबै थकाइ भाग्छ र एउटा नयाँ स्फूर्ति प्राप्त हुन्छ ।

कुनै समय भैँसी आहाल बस्ने तालजस्तो देखिने तातोपानी कुण्ड अहिले हजारौँ बिरामीको उपचार केन्द्र बनेको छ । म्याग्दी खोलाको किनारमा अवस्थित तातोपानीलाई बर्खाको समयमा खोलाले बगर बनाउने गरे पनि स्थानीयले यसलाई जोगाउन निकै परिश्रम गरेका छन् । उनीहरूले चार दशकसम्म लगातार कुण्ड र पानीको मुहानको संरक्षण गरेका कारण आजको तातोपानी कुण्डले अन्तर्राष्ट्रिय चर्चा पाउन सम्भव हुन सकेको स्थानीयहरू बताउँछन् ।

यहाँ कहिलेदेखि तातोपानीको मुहान छ ? यकिनका साथ कसैले भन्न सक्दैनन् । निश्चय पनि यो प्राकृतिक हो । अतः प्रकृतिसँगै यसको पनि प्रादुर्भाव भएको हुनुपर्ने मान्न करै लाग्छ । तर यो कुण्डको औपचारिक व्यवस्थापनको कार्य २०२४ सालदेखि प्रारम्भ भएको मानिन्छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अनुसार देशभरबाट विभिन्न रोगबाट ग्रसित वार्षिक २० हजारको हाराहारीमा बिरामी तथा १५ हजारभन्दा धेरै कुण्डको अवलोकनका लागि आउने गरेका छन् ।

२०२४ सालमा स्थानीयबासी प्रेमप्रसाद गौचन, टुंगलाल शर्मा, दुतबहादुर खत्री, सूर्यमान शाक्यको अगुवाइमा भैँसी बस्नेजस्तै पोखरी बनाइयो । स्थानीयबासीले तातोपानी संकलन गरी कुण्डलाई तातोपानीको स्रोतका रुपमा प्रयोग गर्न थाले । जाडो समयमा स्नान गर्न थाले । २०४२ सालमा समिति बनाएर तातोपानीको मूलको संरक्षण सुरु गरियो ।

कुण्डमा बिस्तारै पूर्वाधार विस्तारका साथै यसको प्रचारप्रसार सुरु गरियो । बिस्तारै कुण्डबाट आम्दानी हुन थालेपछि भौतिक पूर्वाधार विस्तारसहितका योजनाका आधारमा कुण्डमा आवश्यक संरचना बनाउने कार्य थालियो । अहिले यो कुण्ड निकै व्यवस्थित रहेको पाउन सकिन्छ ।

कुण्डमा स्नान गर्न आउनेका लागि सामान्य शुल्कको प्रावधान रहे पनि ८० वर्षमाथिका बिरामी, अपांगता भएकालाई बिनाशुल्क स्नानको व्यवस्था मिलाइएको छ । 

माथि पनि चर्चा गरियो, तातोपानीको मुहानलाई स्थानीयले संरक्षण गरेर राखेका हुन् । स्थानीयले विगतमा तातोपानीको कुण्डलाई बिहान–बेलुकी स्नान स्थलको रुपमा प्रयोग गर्ने गरेका थिए । सोही स्थानले अहिले व्यवस्थित कुण्ड पोखरीको स्वरुप प्राप्त गरेको छ र अहिले नेपालकै प्राकृतिक उपचार केन्द्रको रुपमा स्थापित भएको छ ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अनुसार देशभरबाट विभिन्न रोगबाट ग्रसित वार्षिक २० हजारको हाराहारीमा बिरामी तथा १५ हजारभन्दा धेरै कुण्डको अवलोकनका लागि आउने गरेका छन् ।

सिंगा तातोपानीको चर्चा पत्नी मुन्नीसहित मेरा घरपरिवारका अन्य सदस्यले पनि सुनेका थिए । उनीहरू पनि त्यहाँ एकपटक जान लालायित थिए ।

समितिका अनुसार पहिले सिंगा आसपास र म्याग्दीका मानिसले मात्र यो कुण्डको प्रयोग गर्ने गरे पनि प्रचारप्रसारका कारण अहिले देशका सबैजसो जिल्लाबाट मात्र नभई विदेशबाट पनि विभिन्न रोग पखाल्न भन्दै बिरामीको घुइँचो लाग्ने गरेको छ । 

सिंगा तातोपानीको चर्चा पत्नी मुन्नीसहित मेरा घरपरिवारका अन्य सदस्यले पनि सुनेका थिए । उनीहरू पनि त्यहाँ एकपटक जान लालायित थिए । त्यहाँ उनीहरूलाई लिएर जाने मौका मिलिरहेको थिएन ।

यसै क्रममा मुक्तिनाथको दर्शन गरेर फर्कने क्रममा २०७९ को जेठ १४ गते सिंगाको तातोपानीमा डुबुल्किने अवसर जुर्‍यो । दुई दिन पहिला जेठको १२ गते राति हामी (म, मुन्नी, छोरी शिवार्ती र मुन्नीका भाइ अर्थात् मेरा साला अमृत मिश्र) काठमाडौँबाट मुक्तिनाथका लागि प्रस्थान गरेका थियौँ । १३ गते बिहान हामी बेनी पुगेका थियौँ । त्यहाँ चिया खाजा खाएर, तातोपानीको यात्रा भोलिका लागि थाँती राख्दै, मुस्ताङतर्फ लाग्यौँ ।

भोलि अर्थात् जेठ १४ गते साँझ करिब ५ बजे हामी बेनी पुग्यौं । मैले माथि पनि उल्लेख गरेँ, तातोपानी म यसभन्दा अघि पनि गइसकेको थिएँ । यसपटक मेरो दोस्रो यात्रा थियो भने मेरा भ्रमण दलका सदस्यहरूको पहिलो भ्रमण ।

मुन्नी, शिवार्ती र अमृत निकै हौसिएका थिए । मैले अनुभव गरेँ, उनीहरू निकै उत्साहित थिए । उनीहरूको अनुहारको चमक हेर्दा मलाई पनि आनन्दानुभूति भइरहेको थियो । म एकपटक पुनः भाइहरू हरिकृष्ण गौतम, निर्मल खत्री, राकेश शर्मा, प्रताप बानियाँप्रति आभार व्यक्त गर्न चाहन्छु । यी भाइहरूले तातोपानी जाने, त्यहाँ नुहाउने र खान–बस्नेलगायत सम्पूर्ण कार्यको सहजीकरण गरेका थिए ।

यसै सन्दर्भमा म नेपाली काङ्ग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीप्रति पनि अनुग्रहित छु । उहाँबाट प्राप्त सहयोग र आतिथ्यभाव मेरा लागि सदैव स्मरणीय रहने छ । 

हामी साँझ करिब साढे ६ बजे बेनीस्थित होटल कस्तुरी पार्कबाट तातोपानीका लागि प्रस्थान गर्‍यौँ । यसभन्दा अघि अर्थात गत माघमा आउँदा तातोपानी जाने पक्की बाटो निर्माणधीन थियो । यसपटक बाटो पक्की बनिसकेको रहेछ । करिब ९ किलोमिटरको यात्रा गाडीमा झन्डै १५–२० मिनेटजतिमा तय गर्न सकिन्छ ।

हामी गाडीबाट सिंगा बजार पुग्यौँ । गत माघको तुलनामा यहाँ खासै परिवर्तन भएको रहेनछ । मैले सिंगा जस्तो छोडेर गएको थिएँ– करिबकरिब त्यही अवस्थामा पाएँ । हरिकृष्ण, निर्मल र राकेशले सबै चाँजोपाँजो मिलाए । 

कुण्डमा रक्तचापका बिरामीले धेरैबेर नबस्नु भन्ने सल्लाह दिइँदो रहेछ । हामीले त्यसबारेमा खासै सजगता अपनाएनौँ ।

लुगालगायतका त्यहाँको औपचारिकता पूरा गरेर हाम्रो समूहका सबै कुण्डमा हेलियौँ । लुगाको औपचारिकता यस कारण भनियो कि, त्यहाँ आफूले पहिला धारण गरेको सबै लुगा फुकालेर एकसरो लुगा लगाएर कुण्डमा प्रवेश गर्नुपर्ने प्रावधान छ । त्यस्तो लुगा लिएर गइएको छैन भने त्यहाँ त्यस्तो लुगा पाइन्छ र किन्न सकिन्छ ।

हाम्रो समूहका सबैले नुहाउने लुगा लिएर गए पनि मुन्नी, शिवार्ती र अमृतसँग त्यस्तो लुगा नभएकाले त्यहीँ व्यवस्था गरियो । अघिल्लोपटक मैले यहाँ स्नान गर्दा चिसो मौसम थियो तर अहिले गर्मी । निश्चय पनि कुण्डमा केही असहज महसुस हुनु स्वाभाविक नै थियो । कुण्डमा डुबुल्किएको केहीबेरमै अभ्यस्त हुने प्रयास गरियो । मैले त आफूलाई छिटै अभ्यस्त बनाउन सकेजस्तो लाग्यो । तर मुन्नी र शिवार्तीलाई अभ्यस्त हुन केही समय लाग्यो ।

कुण्डमा रक्तचापका बिरामीले धेरैबेर नबस्नु भन्ने सल्लाह दिइँदो रहेछ । हामीले त्यसबारेमा खासै सजगता अपनाएनौँ । मुन्नी आनन्द मान्दै निकैबेर कुण्डमा बसिन् । बाहिर आएपछि उनलाई अलि अप्ठ्यारोजस्तो अनुभव भयो । साथीहरूसँग यसबारे चर्चा गर्दा रक्तचापको असरबारे बल्ल बुझियो । मुन्नीलाई न्यून रक्तचापको समस्या रहने गरेकाले पनि तातोपानी कुण्डमा नुहाउँदा केही समस्या भएको हुन सक्ने निष्कर्ष निकालियो ।

कुण्डमा नुहाउने कार्य सकिएपछि छेवैमा रहेको मना शेरचन बहिनीको होटलमा गइयो । कुण्ड प्रवेशअघि मनाकै सहजीकरणमा मेरा समूहका मभन्दा अन्य सदस्यका लागि नुहाउने लुगाको व्यवस्थापन सम्भव हुन सकेको थियो । मनाकै होटलमा म्याग्दी खोलाको असला माछाको झोल र भुजा खाइयो । माछाको झोलले काम गरेछ क्यारे मुन्नी अघिभन्दा थोरै सम्हालिएजस्तो लाग्यो । एक किसिमिले ढुक्क भइयो । धन्यवाद मना बहिनी । 

उपचार केन्द्रका रूपमा तातोपानी कुण्ड

स्थानीय बासिन्दाका अनुसार यस कुण्डमा नुहाउँदा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, मर्किएको, पेट दुख्ने, नसा तथा शरीरमा देखिएका विभिन्न किसिमका रोग निको हुन्छ । खानामा अरुची हुनेले समेत कुण्ड स्नानलाई रोज्ने गरेका छन् ।

कुण्डमा स्नान गर्न नेपालीमात्र होइन दक्षिण एसियाली राष्ट्रबाट समेत मानिसहरू आउने गरेका छन् ।

कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यका अनुसार निराश भएर आएका बिरामी एकदेखि दुई हप्तासम्म स्नान गरेपछि खुसी हुँदै घर फर्किने गरेका छन् । शाक्यका अनुसार दुई दशकसम्म वर्षको एकपटक नियमित स्नान गर्नेहरूको सङ्ख्या पनि उत्तिकै छ । बिरामीलाई कुण्ड वरदान सावित भएको अध्यक्ष शाक्य बताउँछन् । परिवारको सहयोगमा कुण्डमा आएका धेरै बिरामी घर फर्किने बेलामा आफ्नै खुट्टाले टेकेर जाने गरेका धेरै दृश्य देखेको शाक्यको भनाइ छ ।

शाक्यका अनुसार यो स्थान अहिले एक किसिमले प्राकृतिक अस्पताल नै बनेको छ । उनका अनुसार कुण्डमा स्नान गर्न नेपालीमात्र होइन दक्षिण एसियाली राष्ट्रबाट समेत मानिसहरू आउने गरेका छन् । कलिलै उमेरमा दुर्घटनामा परेका युवादेखि वृद्धवृद्धाको रोजाइमा परेको कुण्डमा स्नान गरेबापत तोकिएको शुल्कबाहेक पनि उपचारबाट खुसी भएर चन्दासमेत दिएर जाने थुप्रै सेवाग्राही रहेको अनुभव कर्मचारीको छ ।

जमिनभित्रबाट बिरे नुनको गन्धमा निस्कने तातोपानी संकलन गरिएको तलाउमा स्नान गरेका बिरामीले अपेक्षा गरेभन्दा धेरै स्वास्थ्यमा सुधार आएको अनुभव सुनाउँछन् । हामीमध्ये पनि कतिपयमा शारीरिक समस्या थियो । हामीले पनि निको हुने विश्वास गर्‍यौं तर साथीहरूका अनुसार यसका लागि कम्तीमा एक साता यहाँ बस्नुपर्ने र दिनहुँ नुहाउनुपर्ने हुन्छ । तर हामीसँग यसपटक यति समय थिएन । 

यो प्रक्रियालाई विचार गर्ने हो भने यसलाई ‘साउना बाथ’को प्रक्रियासँग तुलना गर्न सकिन्छ । तातोपानी पिउनु स्वयंमा स्वास्थ्यवर्द्धक हो ।

९ सय मिटरभन्दा माथिको उचाइमा बिरे नुन र गन्धक (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियस तापक्रमको तातोपानी निस्कने मुहानको अवस्थिति र यसको चिकित्सकीय प्रभाव स्वयंमा अचम्मको छ । जानकारहरूका अनुसार गन्धक आफैँमा एक प्राकृतिक एन्टिबायोटिक हो । यसकारण पनि कुण्डमा एकैपटक धेरैले स्नान गर्दा पनि एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुन्छ ।

घाउ चोटपटक लागेको ठाउँमा पानीमा नुन राखेर तातो बनाई कृत्रिम रुपमा सेक्ने चलनलाई आधुनिक चिकित्सा विज्ञानले पनि स्वीकार गरेको छ । बिरे नुन र गन्धकको मिश्रण भएको प्राकृतिक तातोपानी कुण्डमा स्नान गर्नु कृत्रिम घरेलु उपचारको तुलनामा सहज र सुविधायुक्त हुन्छ । कुण्डमा घन्टौँसम्म स्नान गर्न सकिने सुविधा भएकाले बिरामीको आकर्षण बढ्दै गएको अध्यक्ष शाक्यले बताए ।

पत्रकार निर्मल खत्रीका अनुसार एक दिनमा दुई पटक डेढ–दुई घण्टाका दरले तातोपानीको कुण्डमा शरीरलाई डुबाएर स्नान गरेपछि बाहिर निस्किएर २० मिनेटसम्म कम्मल, काम्लो आदि न्याना कपडा ओढ्ने हो भने शरीरबाट पसिना निस्कने गर्दछ । यसरी पसिना निस्किँदा शरीरभित्रको विकार पनि सँगै निस्कने विश्वास गरिन्छ ।

खत्रीका अनुसार यो प्रक्रियालाई विचार गर्ने हो भने यसलाई ‘साउना बाथ’को प्रक्रियासँग तुलना गर्न सकिन्छ । तातोपानी पिउनु स्वयंमा स्वास्थ्यवर्द्धक हो । कुण्डमा स्नान गर्ने क्रममा बेलाबेलामा तातोपानी पिए त्यसले स्वास्थ्यमा फाइदा पुग्ने विश्वास स्थानीयको छ । 

र, अन्त्यमा

सिंगाबाट प्रस्थान गर्दा रातको करिब साढे ९ बजिसकेको थियो । बेनीस्थित हामी बस्ने होटल कस्तुरी पार्कमा नेपाली कांग्रेस म्याग्दीका सभापति भण्डारीजी हाम्रो बाटो कुरिरहनुभएको थियो । सन्ध्याकालीन रमझमका नाममा केही समय बिताएपछि हामी सबै अलग्गियौँ । भोलि बिहानै काठमाडौँ प्रस्थान गर्नुपर्ने भएकाले हामीलाई पनि समयको चटारो थियो । मुन्नी र शिवार्ती अघि नै कोठामा गएर निदाइसकेका थिए । अब म र अमृत पनि कोठातिर लाग्यौँ । साथीहरू पनि हामीसँग छुट्टिए । म ओछ्यानमा पल्टिएर पनि निकैबेरसम्म तातोपानीको रहस्यका बारेमा सोचिरहेको थिएँ । 

 

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७९ जेष्ठ २०, शुक्रबार १९:२८

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७९ जेष्ठ २०, शुक्रबार १९:२८

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७९ जेष्ठ २०, शुक्रबार १९:२८

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP