२०७९ असार २२
July 6, 2022, Wednesday

पुनःनिर्माणपछि चिटिक्क ऐतिहासिक बेनीकोत

पुनःनिर्माणपछि चिटिक्क ऐतिहासिक बेनीकोत

म्याग्दी : तत्कालीन पर्वत राज्यको राजधानी तथा प्रमुख सामरिकस्थल बेनी कोटको कोतघर पुनःनिर्माण गरिएपछि चिटिक्क बनेको छ। म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघर चिटिक्क बनाइएको हो।

बाइसे/चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो। बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए।

पुनःनिर्माणका लागि नगरपालिकाले चालू आव ०७८/७९ मा ८ लाख विनियोजन गरेको थियो। नगरपालिकाको अनुदानको अतिरिक्त कोतघरमा केही सामग्री दाताले पनि सहयोग गरेका छन्।

‘छानो चुहिने, भुइँमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो, पुरानो स्वरुप कायम रहने गरी संरचना बनाएका छौँ‚’ श्रेष्ठले भने। गत फागुन तेस्रो हप्तादेखि कोतघरको पुरानो छाना र पर्खाल भत्काएर नयाँ निर्माण थालिएको थियो।

छानोमा तीनवटा गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुँडाल कलात्मक शैलीका छन्। भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर बनाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए।

कोतघर वरपर घुम्न मिल्ने र बत्ती बाल्ने ठाउँ बनाइएको छ। विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो। तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए।

ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायत हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए। पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुनःनिर्माण भएको बेनी नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताए।

बराइलीका अनुसार ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षण गरिएको हो। ५ लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको बराइलीले जानकारी दिए।

सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इँटा राखेर आकर्षक बनाइएको छ। यसअघि उपयोगविहीन रहेको सो जग्गामा बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ।

साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ। यस कोतघरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ।

कोतघरलाई बेनीमा भित्रने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन पहल गर्ने बेनपा–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने उनले बताए।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७९ असार ५, आईतवार १८:२८

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७९ असार ५, आईतवार १८:२८

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७९ असार ५, आईतवार १८:२८

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP