२०७९ असार २२
July 6, 2022, Wednesday

जिसस म्याग्दीकाद्धारा ५ पत्रकारलाई सम्मानसहित पुरस्कार वितरण

जिसस म्याग्दीकाद्धारा ५ पत्रकारलाई सम्मानसहित पुरस्कार वितरण

जिल्ला समन्वय समिति म्याग्दीका नवनिर्वाचित पदाधिकारीहरुले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिनुका साथै पदभारग्रहण गरेका छन् । समन्वय समितिको सभाहलमा आयोजित एक समारोहबीच जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्य पदमा निर्वाचित पदाधिकारीलाई म्याग्दीका जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले निर्वाचित भएको प्रमाणपत्र वितरण गर्नुभएको थियो । लगत्तै मुख्य निर्वाचन अधिकृत पौडेलले जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा निर्वाचित राजकुमार थापालाई शपथग्रहण गराउनुभयो ।

त्यसपछि थापाले प्रमुखको शपथ लिएलगत्तै जिल्ला समन्वय समितिका उपप्रमुख डिलकुमारी खत्रीसहित नवनिर्वाचित सदस्यहरुलाई शपथ खुवाउनुभएको थियो । जिल्ला समन्वय समिति म्याग्दीद्वारा आयोजित कार्यक्रममा जिससमा नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्नुका साथै निवर्तमान जिल्ला समन्वय समितिका पदाधिकारीलाई दोसल्ला ओढाई मायाको चिनो करुवा दिएर विदाई गरिएको थियो ।यसअघि आइतबार जिल्ला समन्वय समिति म्याग्दीमा भएको निर्वाचनबाट नेकपा एमालेको प्यानलै विजयी भएको थियो ।

कुल ९ सदस्यीय जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका राजकुमार थापाले ७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मनकुमारी विश्वकर्माले ५ मत पाउनुभएको थियो । यसैगरी उपप्रमुखमा एमालेकी डिलकुमारी खत्रीले ७ मत प्राप्त गर्दा कांग्रेसका सोहन श्रेष्ठले ५ मत पाउनुभएको थियो । आइतबार प्रमुख र उपप्रमुख पदका लागि भएको मतदानबाट एमालेका उम्मेदवार विजयी भएका थिए । यसअघि सदस्य पदमा एमालेका कृष्णदत्त पौडेल, श्रीप्रसाद गर्बुजा, देव गर्बुजा, कविता वि.क, गौमती चपाई, धनकुमारी सुनार खाती र जानकी विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको थियो ।

६ वटा स्थानीय तह रहेको म्याग्दीको धवलागिरी गाउँपालिकामा अध्यक्ष कांग्रेस, उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो । त्यस्तै मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष दुवै एमालेले जितेको थियो । नेपाली कांग्रेसले रघुगंगा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष जितेको थियो भने बेनी नगरपालिकाको प्रमुख एमाले र उपप्रमुखमा माओवादी केन्द्रले जितेको थियो । जिल्ला समन्वय समितिमा प्रमुख र उपप्रमुखको मताधिकार हुने हुँदा एमालेको ७, नेपाली कांग्रेसको ३ र माओवादी केन्द्रको २ मत थियो ।

सदस्य पदमा निर्विरोध भए पनि प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिएपछि समन्वयको छिनोफानो गर्न मतदान भएको थियो । मतदानमा एमालेले ७ र नेपाली कांग्रेसले ५ मत प्राप्त गरेपछि दुवै पदमा एमाले विजयी भएको हो । कार्यक्रमको उद्घाटन गर्दै पूर्व मन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य नरदेवी पुनले जिल्ला समन्वय समितिले जिल्लाको समग्र विकास निर्माण तथा कार्यालयहरुको कार्यसम्पादनको सवालमा समन्वय गर्नुपर्ने बताउनुभयो ।

उहाँले यसअघि जिल्ला समन्वय समितिको टिमले राम्रो काम गरेकोमा प्रशंसा गर्दै पुरानो टिमले गरेको कामलाई अनुसरण गरी नवनिर्वाचित टिमले जनताको कामलाई प्राथमिकता दिएर काम गर्ने वातावरण बनाउनका लागि आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । शपथग्रहणपछि बोल्दै नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाले आफू नेतृत्वको टिमले संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार जिल्लामा समन्वय समितिमार्फत काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जिल्ला समन्वय समिति नामबाटै समन्वय गर्ने निकाय भएकाले संविधान, ऐन र कानुनले दिएको अधिकार तथा सीमाभित्र रहेर जिल्लास्थित सरोकारवाला निकाय सबैसँग सहकार्य र हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत तेजरानारायण पौडेलले म्याग्दी जिल्लामा स्थानीय तह सदस्य निर्वाचन–२०७९ सबैको सहयोगमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सरोकारवाला निकाय सबैलाई धन्यवाद दिनुभयो । कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी राना, नेकपा माओवादी केन्द्रका प्रतिनिधि अम्बिका ढुङ्गाना र पुरस्कृत पत्रकार घनश्याम खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापाको अध्यक्षता, जिल्ला समन्वय अधिकारी जानुका सुवेदीको स्वागत र शाखा अधिकृत शालिग्राम पौडेलले सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच सोही अवसरमा जिल्ला समन्वय समिति म्याग्दीले जिल्लाका पाँचजना पत्रकारहरुलाई पुरस्कृतसहित सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कान्तिपुर दैनिकका उपसम्पादक घनश्याम खड्का, राष्ट्रिय समाचार समितिका संवाददाता ध्रुवसागर शर्मा, गोरखापत्र दैनिकका संवाददाता ठाकुरप्रसाद आचार्य, नागरिक दैनिकका संवाददाता हरिकृष्ण गौतम र रासस संवाददाता कमल खत्री रहनुभएको छ ।

उहाँहरु सबैलाई नगद जनही १० हजार रुपैयाँका दरले दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । समितिले जिल्लाको समग्र विकासका गतिविधिलाई सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै विकास पत्रकारिता अक्षयकोषको रकमबाट पत्रकारलाई सम्मान गरेको हो ।

Related News

रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
रोकिएन असारे विकास : बागलुङमा २० दिनमा २० करोड १८ लाख खर्च
  • २०७९ असार ६, सोमबार २३:०३

बागलुङ : जब असार लाग्छ, तब विकासका योजनाहरु धमाधम सम्झौता गर्ने र काम देखाउनेतर्फ सरकार लाग्छ। यो पुरानै परम्परा हो। सरकारले...

भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
भूमिहीनलाई जग्गा उपलब्ध गराउन म्याग्दीका पालिका र आयोगबीच सम्झौता
  • २०७९ असार ६, सोमबार २३:०३

म्याग्दी : भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकालाई जग्गा उपलब्ध गराउन म्याग्दीका स्थानीय तह र राष्ट्रिय भूमि आयोगबीच सम्झौता...

म्याग्दीका  स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
म्याग्दीका स्थानीय तह : ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति
  • २०७९ असार ६, सोमबार २३:०३

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने...

TOP