२०७९ आश्विन १०
September 26, 2022, Monday

सुन्तला खेतीले धनी बन्दै दोसल्लेका किसान

सुन्तला खेतीले धनी बन्दै दोसल्लेका किसान

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ दोसल्लेमा व्यावसायिक रुपमा गरिएको सुन्तला खेतीले किसानको जीवनस्तरमा सुधार ल्याएको छ । दोसल्ले गाउँका ५० घरपरिवारका नागरिकले परम्परागत खेती मकै, गहुँ र कोदो भन्दा सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि खाद्यान्न खेती छोडेर सुन्तलाको व्यावसायिक खेती सुरु गरेका हुन् । गतवर्ष यहाँका किसान सुन्तला बिक्री गरेर रु ५० लाख भन्दा बढी रकम गाउँमा भित्र्याएका स्थानीय किसान प्रेमबहादुर पाइजाले बताउनुभयो ।

दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्षसमेत रहनुभएका पाइजाका अनुसार पोखरा, चितवन र काठमाडौँबाट आएका व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ८० देखि १२० का दरले सुन्तला खरिद गरेर लगेका थिए । भूगोल र वातावरणीय हिसाबले पनि यहाँ सुन्तला खेती राम्रोसँग फस्ट्याउने गरेको उहाँको भनाइ छ । पहिला दुईचार घरले मात्र सुन्तला लगाएका थिए स्थानीय किसान कृष्ण पुनले भन्नुभयो,“एकदशकयता सबै घरपरिवारले सुन्तलाखेती गर्न थालेका छन् ।” खेती नगरेर बाँझिएको जमिनमा पनि सुन्तलाका बिरुवा रोप्न थालेको उहाँले बताउनुभयो ।

अहिले सुन्तला नलगाएको घर नै छैन मकै,धान र कोदोखेती गाउँबाट हरायो । पुनले भन्नुभयो,“सुन्तला खेतीबाट राम्रो आम्दानी हुने भएपछि सुन्तला लगाउनेको सङ्ख्या वृद्धि भएको छ ।” गाउँको सबै जमिन खाली नराखी सुन्तला लगाउने अभियान चलाएको उहाँको भनाइ छ । विगत १२ वर्षदेखि यहाँका किसानले सुन्तलाखेती गर्दै आएका छन् । पछिल्लो समय सुन्तलाको माग बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि पाखोबारी र खेत खाली नराखी सबै जमिनमा सुन्तलाका बिरुवा लगाउन थालेको किसानले बताएका छन् ।

वर्षमा मुस्किलले चार मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट ६० हजार भन्दा बढी आम्दानी भएको किसान रमेश पुनले बताउनुभयो । सडक यातायातको सुविधा पुगेपछि बाँझिएका पाखो बारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उहाँले जानकारी दिनुभयो । दश वर्षअघि स्थानीयवासी मिलन गर्बुर्जाको अगुवाइमा दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु भएको थियो ।

कृषि ज्ञानकेन्द्र म्याग्दीले दोसल्लेमा सुन्तलाखेती विस्तारका लागि नयाँ बिरुवा वितरण, किसानलाई बगैँचा र कीरा व्यवस्थापनसम्बन्धी तालिममा सहयोग गर्दै आएको छ । बेमौसममा सुन्तला बिक्री गर्नका लागि दोसल्लेमा तत्कालीन कृषि विकास कार्यालयको सहयोगमा सुन्तला भण्डार गर्ने भवनसमेत निर्माण भएको थियो । सुन्तलाबाट नै समृद्धि भित्रिन थालेपछि यहाँका किसान उत्साहित देखिएका छन् । निर्वाहमुखी कृषिबाट यहाँ व्यावसायिक कृषिको विकास भएको र यहाँका किसानको सिको उत्तरी म्याग्दीका अन्य ठाउँका किसानले पनि गर्न थालेका पाइएको छ ।

Related News

बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
बेनपा ७ मा राष्ट्रिय खेलकुदको व्यवस्थापनका लागि उपसमिति गठन
  • २०७९ असार २७, सोमबार १९:५६

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीमा सञ्चालन हुने महिला भलिबल र तेक्वान्दोको खेललाई व्यवस्थित बनाउन बेनी नगरपालिका–७ मा विभिन्न उपसमिति...

मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
  • २०७९ असार २७, सोमबार १९:५६

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो । गण्डकी प्रदेशको राजधानी...

एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
एघारौँ बेनी वोर्डिङ कप फुटवल प्रतियोगिता सुरु
  • २०७९ असार २७, सोमबार १९:५६

म्याग्दीको बेनीमा रहेको बेनी वोर्डिङ सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित एघारौँ बेनी वोर्डिङ कप उद्घाटन गरिएको छ ।...

TOP