२०८० आश्विन १३
September 30, 2023, Saturday

विमानस्थलमा कहिल्यै नरित्तिने युवाको लाइनको लम्वाई कति ?

बदलिँदो समाजमा युवाको अपरिहार्यता संग अन्तर्निहित छ वटा ज्वलन्त विषयवस्तुहरुको चिरफार
सिर्जनशीलता, साहस, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा जुनसुकै मुलुकको सर्वाङ्गीण रुपान्तरणका लागि अमूल्य सम्पत्ति, अग्रदूत तथा संवाहक शक्तिका रुपमा विश्वव्यापी रुपमा स्वीकार गरिएको छ ।

Advertisement

नेपालको कुल जनसंख्याको ४२.५६ प्रतिशत युवा रहेको नेपालले जनसंख्यिक लाभको अवसरलाई पुँजीकृत गरी मुलुकको समृद्धिमा युवाको भूमिका र योगदान सुनिश्चित गर्नु जरुरी छ । नेपालको युवा सम्वन्धी राष्ट्रिय नीतिले युवालाई १६ देखि ४० वर्षसम्मका नागरिकका रुपमा परिभाषित गरी युवाको चौतर्फी विकासका लागि आयामिक रुपमा नीति, योजना, बजेट तथा कार्यक्रम समेत कार्यान्वयन गर्दै आएको छ ।

Advertisement

यद्यपी, युवाको सर्वाङ्गीण विकास र परिचालन मार्फत राज्यका अपेक्षित उपलव्धि हासिल गर्न निक्कै मेहनत गर्नुपर्ने देहाय बमोजिमका दृष्टान्तहरुबाट स्पष्ट हुन्छः

१. विश्वले चिनेको नेपाली युवा लाई हामी आफै कहिले चिन्ने ?

’युवाको सर्वाङ्गीण विकास राष्ट्र निर्माणको आधार’ भन्ने वास्तविकतालाई अझै नेपालले अपेक्षित रुपमा मूर्तरुप दिन सकिरहेको छैन् ।तर, हाम्रै युवाले निर्माण गरेको कतारको रङ्गशालामा विश्वकप फुटबल सम्पन्न भइसक्यो ।अझै, दक्षिण कोरिया, साउदी, मलेसिया जस्ता मुलुकमा हाम्रा युवाहरु सक्षम भै ती देशहरुले कृषिमा रुपान्तरण गरि सके ।

त्यसैगरी, ती मुलुकहरुलाई उन्नत र समृद्ध देशमा उभ्याउन हाम्रा युवाहरु समृद्धिका महत्वपूर्ण पिल्लरका रुपमा उभिएका छन् ।अव, विकसित र समृद्ध मुलुक निर्माणमा युवाको विदेशमा खेलेको भुमिकालाई अव नेपालमा नै उचित ढङ्गले उपयोग गर्न ढिला गर्न हुँदैन ।
२. कहालीलाग्दो ’ब्रेन ड्रेन’ बाध्यता कि रहर एक पटक सोचौं :

मुलुक भित्र रोजगारीको अवसर नभएर, गुणस्तरीय एवं व्यवसायिक शिक्षाको कमीका कारण नै विदेश पलायनको मुख्य कारणका रुपमा सधैं अघि सार्ने गरिने आम प्रचलन छ ।तर, अहिले आवश्यकता र बाध्यता भन्दा देखासिकी र लहैलहैमा लाग्ने प्रवृत्ति नै ब्रेन ड्रेन( बौद्धिक पलायन) को निर्णायक देखिएको छ ।यसले गर्दा नै युवा विद्यार्थी प्रत्येक वर्ष विदेशिने सङ्ख्यामा वृद्धि भइरहेको छ । अभिभावक देखासिकीका कारण आफ्ना छोराछोरीलाई ऋण गरी युरोप, अमेरिका जस्ता देशमा पढ्न उत्प्रेरित गरिरहेका छन् ।

त्यस्तै उता विद्यार्थी पनि सामाजिक सञ्जालमा साथीभाइ र अग्रजले राखेका तस्बिरबाट प्रभावित भई पारिवारिक तथा आर्थिक अवस्था नबुझी अभिभावकलाई भावनात्मक बाध्यतामा पारेर आधुनिक सहरको रमझममा आकर्षित हुँदै गइरहेका छन् । यसरी प्रत्येक वर्ष लाखौंको सङ्ख्यामा राम्रा विद्यार्थी पलायनको बाटोमा छन् । बर्सेनी योग्य, सक्षम, प्रतिभावान युवा अनि श्रमयोग्य व्यक्ति विदेशिनु मुलुकको विकासका लागि सबै दृष्टिले सान्दर्भिक देखिँदैन ।

३. हाम्रो युवाले बोकेको पासपोर्टको सामाजिक मूल्यको हिसावकिताव गर्न छुट्यौँ कि :

सामान्यतः नेपाल नफर्कने मानसिकता बोकेर विकसित देशहरुतर्फ जाने क्रम तीव्र हुँदा अनवरत प्रतिभा पलायन( ब्रेन ड्रेन) भइरहेको र उनीहरुले अर्बौं रुपैंयाँ बराबरको विदेशी मुद्रा बर्सेनि मुलुकबाहिर लगिरहेकोमा मुलुकको वैदेशिक मुद्राको सञ्चितिमा समेत यसले प्रत्यक्ष असर पारेको प्रति पनि विश्लेषण गर्नु जरुरी देखिएको छ । हामी विप्रषेणले मुलुकको अर्थतन्त्रमा पारेको सकारात्मक प्रभावमा मात्र केन्द्रित नभई समग्रतामा पासपोर्टको सामाजिक मूल्यको समेत मूल्यांकन गर्न अव ढिला नगरौं ।

४. विद्यालयपछिको बिदाइः ’ विदेशको खाडीमा भेटौंला’ यसको चिरफार गर्न ढिला नगरौं :

नेपालको अधिकांश ग्रामीण भूभागमा अवस्थित गाउँहरु यतिबेला सुनसान छ । कुनै विपत्ति परेर वा गाउँमा विकास निर्माणका कार्यहरु नभएर गाउँमा यसरी सन्नाटा छाएको होइन । यसो हुनुमा युवाहरुको अत्याधिक संख्या विभिन्न कारणका लागि विदेशिनु नै देखिएको छ । अहिले मूलरुपमा दश दुई पास गरेका युवालाई ’अब तपाईहरु के गर्नुहुन्छ ? कहाँ पढ्नुहुन्छ ?’ भनेर प्रश्न गर्दा खुसीसाथ सबैजसोको उत्तर आउँछ, ’अब विदेश गएर पढ्ने, उतै काम गर्ने ।’

यता आफ्ना सन्तानहरुले यस्तो भनिरहँदा हाम्रा अभिभावकहरुका अनुहारमा खुसी अनि गर्व गर्ने आम सामाजिक मनोविज्ञान नै बनिसकेको छ ।अझ, विचारणीय प्रश्न त के छ भने गत वर्ष मात्र माध्यमिक शिक्षा उत्तीर्ण शिक्षा(SEE), कक्षा १० का विद्यार्थीहरुले आफ्नै टिसर्टमा विदेशको खाडीमा भेटौंला भन्ने वाक्यांसले सम्वन्धित पक्षलाई झस्काएको हुनुपर्दछ । त्यसैले, यी र यस्ता प्रकृतिको मानसिकताको अन्त्य कहिले गर्ने, कसले गर्ने र कसरी गर्ने? यसमा घोत्लिनु अपरिहार्य नै भएको छ ।

५. विमानस्थलमा कहिल्यै नरित्तिने युवाको लाइनको लम्वाई कति ?

श्रम बजारमा रोजगारीको नयाँ अवसर खोज्दै प्रत्येक वर्ष थपिने ५ लाख भन्दा बढी युवा पासपोर्ट र विमानस्थलमा कहिल्यै नरित्तिने लाइन । यी लाइनकै वरिपरि रिङिएका छन् नेपाली अर्थतन्त्र, मिडियाका खबर र नेपाली समाजको बहुसङ्ख्यक हिस्सा ।यो वास्तविकता र विकास निर्माण, सामाजिक विकास, विपद् व्यवस्थापन जस्ता कार्यमा व्यापक रुपमा युवा स्वयंसेवक परिचालन गर्ने राज्यको सोचसँग अपेक्षित तालमेल मिलेको देखिँदैन् ।

यसका लागि राज्यले सीपमूलक तालिम र वित्तीय स्रोतमा युवाको पहुँच वृद्धि गरी मुलुकको उद्यम र व्यवसायमा युवाको संलग्नता बढाउन कत्ति पनि ढिला गर्नु हुँदैन् ।
. युवाको सशक्तिकरण र प्रतिनिधित्वको विषयमा बहस कमै भयो कि

युवाका लागि सर्वाङ्गीण विकासको तह सम्म पुग्ने चार तह हुन्छन्– पहिचान, प्रतिनिधित्व, पहुँच र प्रतिफल । यसमा हामी युवा कहाँ छौं भन्ने प्रश्न उठिरहेको छ । यथार्थमा हामी युवा एकैचोटी दोस्रो खुट्किलोमा उक्लिएका छौं र त्यहीँ अलमलिएका पनि । पहिलो खुट्किलो अर्थात् पहिचानको तहमा राम्ररी नटेकी दोस्रोमा उक्लिएको हुँदा पाइला धरमराएको छ ।

अब न खुट्किलो झरेर पाइला दह्रो बनाउँदै उक्लिने धैर्य छ, न त तेस्रो अर्थात् पहुँचको तहसम्म पुगिहाल्ने सामर्थ्य नै । वञ्चितीकरणमा परेको खास युवा वर्गको पहिचान, उक्त वर्गको उत्थान, सशक्तीकरण तथा विकासको खाका तयार गरी प्रतिनिधित्वको तहमा उक्लिनुपर्नेछ ।

हामीकहाँ युवाहरुलाई खासै विश्वास नगर्ने स्थिति अझै विद्यमानता छ ।त्यसैले, युवा जनप्रतिनिधिहरुका लागि यो अवधि निकै चुनौतीपूर्ण हुनेछ । हामी फरक हौं र हामी सक्छौं भन्न देखाउन नसकेमा युवा पुस्ता पनि उस्तै हो भन्ने जनतामा पर्नेछ ।

अन्त्यमा,
युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्दै युवाहरुको व्यक्तित्व विकास गर्ने तथा राज्यको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने संवैधानिक नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको मूल दायित्व रहिआएको अवस्था छ ।त्यसैगरी युवामा उद्यमशीलता, अनुशासन, मर्यादा, जिम्मेवारीपूर्ण व्यवहार जस्ता सामाजिक सांस्कृतिक मूल्यहरुको विकास गर्न तर्फ पनि राज्य एवं सम्वद्ध निकायहरु त्यत्तिकै सजगतापूर्वक लाग्नु जरुरी देखिएको छ ।

साँच्चिकै, युवालाई परिवर्तनको संवाहक र दिगो विकासको उत्प्रेरक शक्तिको रुपमा विकास गर्न युवाहरुलाई देश दर्शन(Know your country), युवामा उद्यमशीलता विकास गर्न व्यवसाय सिर्जना( Business Incubation), राष्ट्र निर्माणमा स्वयंसेवक, युवाका लागि शैक्षिक छात्रवृत्ति तथा शैक्षिक ऋण, सामाजिक कुरीति एवं हानिकारक अभ्यासका विरुद्ध आम युवा परिचालन गर्ने जस्ता सरकारका प्राथमिकताका नीतिगत एवं कार्यक्रमगत व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनबाट नै मुलुकको विकासमा युवाको नेतृत्वदायी भूमिका अवश्य बढ्नेछ ।

यसका लागि निर्णायक योजना र जाँगर अवश्य चाहिन्छ अन्यथा, हाम्रो युवा पुस्ता मूल्यहीन पासपोर्ट बोकेर विदेश छिर्न बाध्य भइरहनेछ ।यो कुरा सत्य हो कि जवसम्म युवाले नै गर्व नगर्ने देशको भविष्य कहिल्यै सुन्दर हुँदैन । थप विमर्श गरौं ।

                   लेखक सामाजिक विकास कार्यालय, म्याग्दीको कार्यालय प्रमुख हुनुहुन्छ ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०८० श्रावण २०, शनिबार १५:०७

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०८० श्रावण २०, शनिबार १५:०७

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०८० श्रावण २०, शनिबार १५:०७

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP