२०८३ असार २
June 16, 2026, Tuesday

काम नगर्ने ठेकेदार पालेर राख्दैनौ–मन्त्री जुग्जाली

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले काम नगर्ने ठेकेदार पालिरहन जरुरी नरहेको बताउनुभएको छ ।

Advertisement

पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको मिलनचोक–सल्यान–घाहाखेत–धारापानी–ठोट्नेरी सडक आयोजनाको स्थलगत निरिक्षणका क्रममा मन्त्री जुग्जालीले अधुरा र अलपत्र बनेका सडक र मोटरेबल पुलको पहिचान गरि ठेकेदारलाई काममा फर्काउन पहल गरिएको जानकारी गराउनुभयो ।

Advertisement

सहजिकरण र समन्वय गर्दा पनि सम्पर्कमा नआउने र काममा नफर्किएका निर्माण कम्पनीहरुसँगको धरौटी जफत गर्ने, ठेक्का तोड्ने र कालोसूचिमा राख्ने प्रक्रीया अघि बढाएको मन्त्री जुग्जालीले बताउनुभयो ।

“क्रोनिक अवस्थाका योजनाको समस्या पहिचान, सहजिकरण र समन्वय गर्न मन्त्रालयको टोली आयोजना स्थलमै पुगिरहेका छौ । काम हुने योजनाका लागि बजेटको अभाव हुन दिएका छैनौ र दिदैनौ,” उहाँले भन्नुभयो “काम नगर्ने ठेकेदारलाई पालेर राख्ने पक्षमा मन्त्रालय छैन । दुई÷तीन वटा निर्माण कम्पनीलाई कालोसूचिमा राख्ने प्रक्रीया अघि बढेको छ ।”

मन्त्री जुग्जालीले मन्त्रालयको पहलसँगै अलपत्र अवस्थाका धेरै योजनाका निर्माण व्यवसायी काममा फर्किन थालेका बताउनुभयो । “गत जेठमा प्रदेशभर ४७ वटा आयोजनाका ठेकेदार कार्यस्थलमा थिएनन,” उहाँले भन्नुभयो “करिब छ महिनाको अवधिमा ३२ वटा क्रोनिक आयोजनालाई सूचारु गराएका छौ । काम छाडेर भागेका १५ वटा योजनाका निर्माण कम्पनीको खोजीमा मन्त्रालय लागेको छ ।”

निर्माण कम्पनीलाई धरौटी जफत गरि ठेक्का तोड्ने र कालोसूचिमा राखेर कारबाही गर्ने तयारी भएपछि दुई वर्षदेखि अलपत्र मिलनचोक–धाइरिङ सडक योजनाको काम सूचारु भएको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताउनुभयो ।

“ब्याकुहोलोडर, एक्साभेटर, रोलर र मजदुर सहित अधकल्चो सडक निर्माणको कामलाई पूर्णता दिन थालेका छन्,” उहाँले भन्नुभयो “धेरै प्रयास गरेर ठेकेदारलाई काममा फर्काउन सफल भएका छौ ।”

पर्वतको अन्य दुई वटा अलपत्र आयोजनाका निर्माण व्यवसायीलाई पनि काममा फर्काएका पूर्वाधार विकास कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो । मिलनचोक देखि ठोड्नेरी जोड्ने १० किलोमिटर दुरीको सडक स्तरोन्नति र कालोपत्र गर्न वि.स. २०७६ मंसिर ६ गते रु. २८ करोड १३ लाखमा हिमदुङ एण्ड थोकर प्रालीले ठेक्का सम्झौता गरेको थियो ।  

यो सडक वि.स. २०७८ मंसिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दोस्रो पटक २०८० मंसिर महिनासम्मका लागि थपिएको म्याद सकिने बेलामा ठेकेदारले अधुरो काम सूचारु गरेका हुन् । जलजला गाउँपाकिलाका अध्यक्ष राजुप्रसाद आचार्यले ठेकेदार काममा फर्किएपछि सडक कालोपत्र हुने आशा पलाएको बताउनुभयो ।
“स्थानीयबासी र जनप्रतिनिधिहरुले सडक निर्माणमा भएको ढिलाईप्रति खवरदारी र दवाव दिएका थियौ,” उहाँले भन्नुभयो “निर्माण व्यवसायीलाई सहज रुपमा काम गर्ने वातावरण बनाउछौ ।”

५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे हुने सडकको अधिकांश भागमा विस्तार, ग्रेड मिलाउने, घुम्ती सुधार गर्ने, नाली बनाउने काम सकिएको छ । मिलनचोक देखि सल्यान खण्डमा ग्राभेल समेत गरेर कालोपत्रको तयारी गरिएको थियो । निर्माण कम्पनीका ईञ्जिनियर दिपक गिरीले नाली सफा गर्ने, पहिरो पन्छाउने, बाँकी पर्खाल, नालि निर्माणको काम शुरु गरेको बताउनुभयो ।  

यो सडक धाइरीङका एक हजार भन्दा बढी घरधुरीले प्रयोग गर्छन् । धाइरीङमा उत्पादीत तरकारी निकासी, भुमे ठाकुर र जलजला जाने आउने पर्यटक तथा भक्तजनलाई सहज हुने वडा अध्यक्ष टुंगनाथ शर्माले बताउनुभयो । यो सडकको हालसम्म ४२ प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालय पर्वतले जनाएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP