२०८२ आश्विन २४
October 10, 2025, Friday

कृषि उपजलाई बजार अभाव

१५ वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका-६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ । 

Advertisement

बेनी बजारमा प्रतिलिटर एक सय ४० का दरले दुध बिक्री हुन्छ  तर खड्का दाजुभाइले प्रतिलिटर एक सय २० मा बिक्री गर्दा पनि बजार पाउनुभएको छ । “नजिकैको पोखरेबगर, भुरुङ-तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दुध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको छु”, उहाँले भन्नुभयो, “बर्खायाममा दूध धेरै हुँदा घ्यू बनाएर बेच्ने गरेका छौँ ।” एक वर्षअघि दुई सय २२ वटा बोयर जातका बाख्रा भएको बेनी नगरपालिका–४ डाडाखेतको एकता एग्रो फार्ममा यसपालि एक सय ८२ वटा मात्र छन् ।

Advertisement

मासुका लागि खसीबोका र पाल्ने पाठीहरूको माग घटेपछि बाख्राको सङ्ख्या घटाउँदै लगेको फार्मका सञ्चालक महेन्द्र बानियाँले बताउनुभयो । दुई सय ५० बोट किवीलगाएका बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गत हिउँदमा फलेको १० क्विन्टल किवी बेच्न पोखरामा भौँतारिनुभयो । “व्यापारीले मसँगबाट प्रतिकिलो एक सय ५० का दरले किनेको किवी आँखै अगाडि दुई सय ५० का दरले बेचेको टुलुटुल हेरेर बस्नुपर्‍यो”, उहाँले भन्नुभयो, “बजारमा लगेको किवी कुहाएर फाल्नु र घर ल्याउनुभन्दा व्यापारीले जति भने त्यति मूल्यमा बेचेर आए ।”

भकिम्लीमा २० घरधुरीले व्यावसायिक किवी खेती गरेका छन् । यसवर्ष उत्पादन बढे पनि कसरी बजारको चिन्ताले सताएको पुनले बताउनुभयो । बिरौटाका खड्का दाजुभाइ, डाडाखेतका बानियाँ र भकिम्लीका लालबहादुर कृषि उपजले बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका म्याग्दीका प्रतिनिधि कृषक हुन् । बिस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले स्थानीयभन्दा आयातित फलफूल र तरकारी सस्तोमा पाइने हुँदा प्रतिस्पर्धा गर्न नसकेर किसान पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । 

सडक यातायातको सहज पहुँच नभएको, भण्डारण र बजारको असुविधाका कारण बर्खायाममा कृषकले उत्पादन गरेको आलु, बन्दा, दुधलगायत कृषि उपजको बजारीकरणमा समस्या भएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले गत हिउँदमा कृषक र व्यापारीलाई सम्पर्क गराएर आलु बिक्री गर्ने वातावरण बनाएको बताउँदै कृषि उपजको बजारीकरणका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विशेष योजना बनाउनुपर्ने बताउनुभयो । 

कृषि उपज बजारीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको जनाएको छ । सिङ्गामा ३० हजार किलोग्राम क्षमताको चिस्यान गृह सञ्चालन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालिपुलमा कृषि बजार स्थापना गर्न भवन निर्माण थालिएको बताउनुभयो । रासस  

Related News

म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
  • २०८१ श्रावण १२, शनिबार १२:२२

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
  • २०८१ श्रावण १२, शनिबार १२:२२

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
  • २०८१ श्रावण १२, शनिबार १२:२२

म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...

TOP