२०८३ भाद्र १०
August 26, 2026, Wednesday

कृषि उपजलाई बजार अभाव

१५ वटा मुर्रा भैँसी र आठ वटा होलिस्टिन जातका गाईपालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका-६ बिरौटाका कृष्ण र शिव बरुवालले सञ्चालन गरेको धौलागिरि बहुउद्देश्यीय कृषि फार्ममा दैनिक एक सय ४० लिटर दूध उत्पादन हुन्छ । 

Advertisement

बेनी बजारमा प्रतिलिटर एक सय ४० का दरले दुध बिक्री हुन्छ  तर खड्का दाजुभाइले प्रतिलिटर एक सय २० मा बिक्री गर्दा पनि बजार पाउनुभएको छ । “नजिकैको पोखरेबगर, भुरुङ-तातोपानी, नारच्याङ र बासबोटमा घरघरमा लगेर जाँदा पनि दुध कटाउन समस्या भएपछि पोखरेबगरमा डेरी खोलेको छु”, उहाँले भन्नुभयो, “बर्खायाममा दूध धेरै हुँदा घ्यू बनाएर बेच्ने गरेका छौँ ।” एक वर्षअघि दुई सय २२ वटा बोयर जातका बाख्रा भएको बेनी नगरपालिका–४ डाडाखेतको एकता एग्रो फार्ममा यसपालि एक सय ८२ वटा मात्र छन् ।

मासुका लागि खसीबोका र पाल्ने पाठीहरूको माग घटेपछि बाख्राको सङ्ख्या घटाउँदै लगेको फार्मका सञ्चालक महेन्द्र बानियाँले बताउनुभयो । दुई सय ५० बोट किवीलगाएका बेनी नगरपालिका–३ भकिम्लीका लालबहादुर पुनले गत हिउँदमा फलेको १० क्विन्टल किवी बेच्न पोखरामा भौँतारिनुभयो । “व्यापारीले मसँगबाट प्रतिकिलो एक सय ५० का दरले किनेको किवी आँखै अगाडि दुई सय ५० का दरले बेचेको टुलुटुल हेरेर बस्नुपर्‍यो”, उहाँले भन्नुभयो, “बजारमा लगेको किवी कुहाएर फाल्नु र घर ल्याउनुभन्दा व्यापारीले जति भने त्यति मूल्यमा बेचेर आए ।”

भकिम्लीमा २० घरधुरीले व्यावसायिक किवी खेती गरेका छन् । यसवर्ष उत्पादन बढे पनि कसरी बजारको चिन्ताले सताएको पुनले बताउनुभयो । बिरौटाका खड्का दाजुभाइ, डाडाखेतका बानियाँ र भकिम्लीका लालबहादुर कृषि उपजले बजार र उचित मूल्य नपाउँदा मर्कामा परेका म्याग्दीका प्रतिनिधि कृषक हुन् । बिस वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले स्थानीयभन्दा आयातित फलफूल र तरकारी सस्तोमा पाइने हुँदा प्रतिस्पर्धा गर्न नसकेर किसान पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । 

सडक यातायातको सहज पहुँच नभएको, भण्डारण र बजारको असुविधाका कारण बर्खायाममा कृषकले उत्पादन गरेको आलु, बन्दा, दुधलगायत कृषि उपजको बजारीकरणमा समस्या भएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले गत हिउँदमा कृषक र व्यापारीलाई सम्पर्क गराएर आलु बिक्री गर्ने वातावरण बनाएको बताउँदै कृषि उपजको बजारीकरणका लागि स्थानीय तह, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले विशेष योजना बनाउनुपर्ने बताउनुभयो । 

कृषि उपज बजारीकरण गर्न अन्नपूर्ण गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको जनाएको छ । सिङ्गामा ३० हजार किलोग्राम क्षमताको चिस्यान गृह सञ्चालन गरेको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कालिपुलमा कृषि बजार स्थापना गर्न भवन निर्माण थालिएको बताउनुभयो । रासस  

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP