नेपाली कांग्रेस म्याग्दीको चुनावी सभा आज शनिवार अन्नपूर्ण गाउँपालिकाका वडा नं १ दोवा,वडा नं ३ दाना र वडा नं ४ नारच्याङमा सम्पन्न भएको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएका कर्णबहादुर भण्डारीले उत्तरी म्याग्दीका तीन वडामा आयोजित चुनावी सभालाई सम्वोधन गर्नुभएको छ ।
सम्वोधनका क्रममा दोवाको सिमा विवाद,सडक,स्वास्थ्य र चर्को मालपोत कर तिर्नुपर्ने समस्या,दानाको पर्यटन विकास र प्रवद्र्धनमा देखिएका समस्या र नारच्याङको हाइड्रो पावर पिडीतका समस्या समाधान र अन्नपूर्ण वेस क्याम्पसम्म जाने सडक तथा पदमार्गलाई व्यवस्थित गरी संसारभरका पर्यटकहरुको आकर्षण स्थल बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उम्मेदवार भण्डारीले अन्नपूर्ण आधार शिविरलाई व्यवस्थित गराउने,त्यहाँसम्म पुग्ने बाटो स्तरोन्नती गरेर प्रचारप्रसार गरी संसारभरीका पर्यटकहरुलाई लोभ्याउने ठाउँ बनाउने,कालीगण्डकी नदी कटान रोक्न योजना र बजेटको व्यवस्था गर्ने,नारच्याङको लेक गाउँसम्म जाने सडकको स्तरोन्नति गर्ने,आवश्यक ठाउँमा झोलुङ्गे पुलको व्यवस्था गर्ने,रोजगारीका लागि विभिन्न सीपमूलक तथा व्यवसायमूलक कामहरुको पहिचान गरी विदेशीन वाध्य जनशक्तिलाई आफ्नै ठाउँमा स्वरोजगार गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यसैगरी देवाको सिमा विवादलाई दुवै पक्षलाई मर्का नपर्नेगरी समाधान गर्ने,गुठीका कारण देखिएको समस्या समाधान गर्ने,सडक स्तरोन्नति,गाउँमा पक्की नालीको लागि बजेटको व्यवस्था गर्ने,दोवाको स्वास्थ्य चौकीलाई व्यवस्थित गरी संचालन गर्ने लगाएतका समस्याहरुको समाधानका लागि आफूलाई रुख चिह्नमा मतदान गरी विजयी गराउन स्थानीय मतदातासँग अपिल गर्नुभयो ।
सोही अवसरमा निवर्तमान राज्यमन्त्री तथा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजाले आफूले छोटो समयमा जिल्लाका लागि धेरै काम गरेको,बजेटदेखि लिएर योजनाहरुको निरन्तरता र जिल्लामा देखिएका समस्या समाधानको लागि प्रयास गर्दागर्दै देशमा उत्पन्न समस्याका कारण ती सबै प्रयासहरु अधुरा रहेका बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा अधुरा रहेका कामहरु पुरा गर्नुका साथै जिल्लामा देखिने गरी विकास निर्माणका लागि बजेट र कानुन निर्माणमा कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (के.वि) अझै योग्य भएकाले उहाँलाई भोट दिई विजयी बनाउन आग्रह गर्नुभयो ।
हिमाली जिल्लाको मान्यता पाएको म्याग्दीले सेवा सुविधा प्राप्त गर्न नसक्दा उपल्लो भेगमा जनतालाई समस्या भएको बताउँदै जनताका समस्याहरु समाधान गर्ने ल्याकत र सामथ्र्य आफूसँग भएको उम्मेदवार भण्डारीले दावी गर्नुभयो ।
“म सेवा गर्नकै लागि जन्मिएको हुँ,म कानुनको विद्यार्थी भएको हुनाले मलाई योजना कसरी बनाइन्छ,बजेट कसरी बाँढफाँड गरिन्छ र धेरैभन्दा धेरै बजेट कसरी जिल्लामा ल्याउन सकिन्छ भन्ने कुरा थाहा छ । म म्याग्देली जनताको शिर ठाडो हुने गरी नीति निर्माण तहमा पुगेर काम गर्न चाहन्छु । त्यसैले जिल्लाको विकासका लागि पनि मलाई भोट दिनुहोस” उम्मेदवार भण्डारीले भन्नुभयो ।
भण्डारीले प्राथमिकता र आवश्यकताका आधारमा विकास,जातीय समनता,वर्गिय विभेदको अन्त्य,रोजगारीको सृजना,पर्यटन क्षेत्रमा पूर्वाधार निर्माण र विकास,शिक्षा,स्वास्थ्यमा सुधार र सर्वसुलभ बनाउने योजना,हिमाली जिल्लामा कार्यान्वयन गरिनुपर्ने नीति र जनतालाई सुविधा ,सानेपानी,सिंचाइ,उत्पादित वस्तुको बजारीकरण,कृषि र पशुपालनलाई उद्यमको रुपमा विकास गर्ने,जडिबुटीको संकलन,प्रशोधन र विक्रीवितरणका लागि सहज नीतिको कार्यान्वयन,खानी उत्खन लगाएतका कुराहरु आफ्नो क्रमिक प्राथमिकताका विषयहरु रहेका बताउनुभयो ।
नेपालमा पहिलोपटक विद्युतीय भोटिङ मेसिन निर्माण भएको बताउँदै कांग्रेस म्याग्दीका उपसभापति समेत रहनुभएका भण्डारीले सुचना प्रविधिको क्षेत्रमा पनि आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
दोवामा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट निर्वाचित दिलिपकुमार गर्बुजाले शुभकामना मन्तव्य दिँदै गाउँको समस्या समाधान गर्न राजनीतिक पार्टीहरु नै आवश्यक पर्ने भएकोले दलीय व्यवस्थामा राजनीतिक दलभन्दा बाहिरको व्यक्तिले (स्वतन्त्र) जति नै योग्य भएपनि गाउँको विकास,योजना र बजेटका लागि काम गर्न नसक्ने बताउनुभएको थियो ।
तीनवटै वडाहरुमा अत्यन्त शालीन र मर्यादित तरिकाले कार्यक्रम सम्पन्न भएको थियो । प्रतिद्धन्द्धी कुनै पनि दल वा व्यक्तिलाई कुनै किसिमको आक्षेप नलगाई नीति निर्माण तहमा र जिल्लाको विकासमा आफूले गर्नसक्ने कामहरुको बारेमा मतदाताहरुलाई प्रतिवद्धता व्यक्त गरिएको थियो
नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले “समृद्ध म्याग्दी, सुखी म्याग्देली’’को सपना पूरा गर्न पार्टी र...
लोकतन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुलाई नमन तथा स्मरण गर्दै नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले...
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि)भण्डारीले मतदाता भेटघाट र...



