२०८३ असार ६
June 20, 2026, Saturday

बेनी–जोमसोम खण्डका पहिरो नियन्त्रणमा बजेट अभाव

राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरो नियन्त्रणका लागि बजेट अभाव भएको छ । पहिरो नियन्त्रणका लागि दीर्घकालीन रूपमा काम गर्न नसक्दा बर्खामा नियमित यातायात सञ्चालन गर्न समस्या हुनाका साथै निर्माण भएका संरचनामा क्षति पुग्ने देखिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुव झाले म्याग्दीको राहु घाटबाट मुस्ताङको घाँसा खण्डमा १४ वटा पहिराले करिब पाँच किलोमिटर सडक जोखिममा रहेको जानकारी दिनुभयो ।

“बेनी–घाँसा खण्डको करिब ४० किलोमिटर सडकमा १४ वटा ठुलो पहिरो पहिचान भएका छन्”, उहाँले भन्नुभयो “सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरूप विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माण नगरिएकाले नियन्त्रणका लागि बजेट थप गरेका छौँ ।”

Advertisement

उक्त खण्डमा तत्काल पहिरो रोकथामका लागि रु ८० लाख बजेट आवश्यक भएको भन्दै आयोजनाका प्रमुख झाले बजेट माग गरेर भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको बताउनुभयो । हालसम्म बजेट विनियोजन नभएकाले निर्णयमा ढिलाइ भएको उहाँले गुनासो गर्नुभयो ।

बैँसरी खण्डका साथै अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरनाबाट काभ्रे भिर क्षेत्रमा करिब पाँच सय मिटर क्षेत्रमा माथिबाट पहिरो झर्ने र तलबाट सडक भासिने समस्या रहेको आयोजना कार्यालयले जनाएको छ । सोही वडाको खाम भित्ता, गुइँठे भिर, लाटा खोलामा पनि बर्सेनि निरन्तर माथिबाट पहिरो झर्ने गरेको आयोजना प्रमुख झाले बताउनुभयो ।

अन्नपूर्ण–२ मा पर्ने नाग ढुङ्गा, भुरुङ भिर, वडा नं ६ मा पर्ने टिम्मुरे भिर क्षेत्रको साँघुरो भूगोल, काली गण्डकी नदीलगायत स्थानमा बारम्बार खस्ने पहिराले सडक जोखिमपूर्ण बनाएको उहाँको भनाइ छ । रघु गङ्गा गाउँपालिका–१ बेगखोला, वडा नं २ मासखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने चमेरे र गलेश्वर पारी पहिरोको जोखिम छ ।

भूगर्भविद्ले गरेको अध्ययनअनुसार कमजोर भूगोल रहेका गलेश्वर, खाम भित्तामा तल निर्मित सडकले बलियो संरक्षणका संरचना नबनाएको र माथिल्लो खण्डमा पनि संरक्षण बिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ । सडक निर्माण सुुरु गर्नुअघि सम्भावित पहिरो जाने स्थानको पहिचान र रोकथामका लागि कुनै अध्ययन नगरी निर्माण गरिँदा अहिले पहिराले जोखिम निम्त्याएको छ ।

पहिराले बर्सातका समयमा यातायात प्रभावित हुने गरेका छन्भने यात्रुले सास्ती भोग्दै आएका छन् । बेनी–जोमसोम–कोरोला सडकको सर्वे, डिजाइन गर्दादेखि ठेक्का भई सडक निर्माण भइरहँदा कतै पनि पहिराको अवस्था अध्ययन गरिएको थिएन । कोरिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिराको जोखिम छ ।

बेनीदेखि घाँससम्म बर्सेनि पहिराले दुःख दिने गरेको छभने सवारी दुर्घटना पनि निम्त्याएको छ । उक्त खण्डमा पहिराको दीर्घकालीन समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना सञ्चालन गर्न सुझाव दिइएको आयोजना प्रमुख झाले बताउनुभयो । तत्कालीन समस्या समाधानका लागि कटानको जोखिममा रहेका ठाउँमा कालीगण्डकीलाई ‘डाइभर्सन’ र माथिबाट खस्ने पहिरो रोकथामका लागि भूमिगत पानी व्यवस्थापन गर्न बजेट अभाव भएको उहाँले बताउनुभयो ।

Related News

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य
  • २०८३ असार ६, शनिबार ०७:१०

राकेश शर्मा, म्याग्दी । अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ ।...

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

TOP