२०८३ मंसिर ९
November 25, 2026, Wednesday

राहुघाट जलविद्युत् आयोजनाको असारभित्र निर्माण सक्ने लक्ष्य

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ८० प्रतिशत सकिएको छ । नेपाल सरकार तथा प्राधिकरणको लगानी र निर्यात आयात (एक्जिम) बैङ्क, भारतको लाइन अफ क्रेडिटबाट प्राप्त सहुलियतपूर्ण ऋणमा म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन आयोजना आगामी असारभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

Advertisement

आयोजनाको ६.२ किलोमिटर लामो सुरुङ खनी कङ्क्रिट लाइनिङको काम धमाधम भइरहेको छ । कमजोर भौगर्भिक अवस्था रहेकाले सुरुङलाई पूर्ण रुपमा कङ्क्रिट लाइनिङ गर्नुपर्ने छ । हालसम्म मुख्य सुरुङको एक किलोमिटर कङ्क्रिट लाइनिङ गरिएको छ ।

Advertisement

मुख्य सुरुङबाट विद्युत् गृहसम्म पानी पुर्याउन राखिने १०५० मिटर पेनस्टक पाइपमध्ये १३० मिटर जडान गरिएको छ । विद्युत् गृहको मुख्य सिभिल संरचनाहरूको निर्माण सम्पन्न गरी टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान भइरहेको छ । विद्युत् उत्पादनका लागि २०–२० मेगावाटका दुईवटा युनिट रहने छन् ।

खोलाको नदी फर्काउन आवश्यक बाँधको सिभिल संरचना निर्माण सम्पन्न भएको छ । बाँधमा रहने गेटलगायतका उपकरणहरू आयोजनास्थलमा ढुवानी भइसकेका छन् । अब जडान सुरु हुनेछ । बालुवा थिग्ग्रयाउने पोखरी ९डिसेन्टर०को निर्माण करिब ३० प्रतिशत सकिएको छ । वर्षाका कारण रोकिएको हेडवक्र्सको निर्माण अव सुरु हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक एवम् रघुगंगा हाइड्रोपावर सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले बिहीबार निर्माणस्थलको अनुगमन गरी निर्माणमा संलग्न आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीहरूसँग छलफल गरे।

कार्यकारी निर्देशक घिसिङले विभिन्न समस्याहरू झेल्दै आएको आयोजना आगामी असारभित्र जुनसुकै अवस्थामा निर्माण सम्पन्न गर्ने गरी एकीकृत तालिका बनाएर अगाडि बढ्नु पर्ने बताए । ‘कमजोर तथा जटिल भौगोलिक अवस्थिति, कोभिड–१९को महामारी, भूकम्पलगायतका वाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ, आयोजना निर्माण सम्पन्न हुने विषयमा भारतीय अधिकारीहरुबाट निरन्तर चासो व्यक्त भइरहेको हुन्छ, सबै पक्षले अन्तिम प्रयास गरी चालु आर्थिक वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी कामलाई तिब्रता दिनुपर्छ, यसका लागि हाम्रोतर्फबाट आवश्यक सहजीकरण गर्ने छौं’, घिसिङले भने ।

‘असारभित्र सम्पन्न हुने गरी एक हप्ताभित्र निर्माण समयतालिका टुङ्गो लगाएर सबै पक्षले हस्ताक्षर गरी सोही बमोजिम कार्य अगाडि बढाऔं, कङ्क्रिट लाइनिङको काम सम्पन्न गर्न चुनौतीपूर्ण देखिएकाले जनशक्ति थप गरी निर्माणलाई तिब्रता दिनुपर्ने देखिन्छ ।’

आयोजनाको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) प्रतिवेदनमा उल्लेखित स्थानबाट झिक्न नपाउँदा ढुङ्गा गिट्टी, बालुवाको अभावमा बेहर्नुपरेको थियो । सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको २९ असार २०७८को एकल इजलासले कालीगण्डकी नदी धार्मिक, ऐतिहासिक तथा वातावरणीय महत्वको देखिएकाले रिटको अन्तिम टुङ्गो नलागेसम्म उक्त नदीको प्राकृतिक बवावलाई पथान्तरण गरी जलाशय बनाउने, प्रदूषण गर्ने, नदीजन्य पदार्थहरु निकाल्ने, शालिग्रामको चोरी निकासी तथा विनास गर्नेलगायतका प्राकृतिक बहाव र पर्यापरण प्रतिकूल हुने गरी कुनै पनि कार्यहरु नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्धा सर्वोच्च अदालतमा विचाराधीन छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी रघुगंगा हाइड्रोपावरका प्रबन्ध–सञ्चालक गणेश केसीले नदीजन्य निर्माण सामग्रीमा देखिएको समस्या हाल अस्थायी रुपमा समाधान भएको बताए । केसीले कुनै ठूलो समस्या नदिएमा असारभित्र आयोजना सम्पन्न हुने अवस्थामा पुगेको बताए ।

आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ छ । आयोजनामा भारतीय एक्जिम बैंकको ६ करोड ७० लाख डलर सहुलियतपूर्ण ऋण रहेको छ । बाँकी रकम सरकार र प्राधिकरणले लगानी गरेको छ । त्रिशूली र देवीघाट जलविद्युतपछि भारतले विद्युत उत्पादनतर्फको राहुघाटमा सहायता उपलब्ध गराएको हो ।

सुरुमा आयोजनाको क्षमता ३२ मेगावाट थियो । आयोजना निर्माणका लागि निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि ठेक्का तोडिएको थियो । त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट बनाएर नयाँ ठेक्का सम्झौता गरिएको थियो ।

दैनिक ४ घण्टा पिकिङ गर्न मिल्ने आयोजनाबाट वार्षिक रुपमा २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुनेछ । ratopati

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १३, शुक्रबार १:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP
Click to listen highlighted text!