२०८३ असार २
June 16, 2026, Tuesday

बेनी अस्पतालमा ओपिडी सेवा विस्तारले ७४ हजारले सेवा लिए

म्याग्दीको बेनी अस्पतालमा ओपिडी सेवा विस्तारपछि अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीहरुको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । गएको आर्थिक वर्ष २०८०÷०८१ को कार्तिक महिनादेखि सुरु गरिएको ओपिडी सेवा विस्तारपछि बेनी अस्पतालमा आउने सेवाग्राही बिरामीको सङ्ख्या बढेको हो । 

Advertisement

सोमबार बेनी अस्पतालद्वारा आयोजित वार्षिक समीक्षामा गएको वर्ष अस्पतालमा सञ्चालित स्वास्थ्यका कार्यक्रमसहित समग्र प्रगतिको विषयमा प्रस्तुतीकरणसहित समीक्षा गरिएको थियो । गतवर्ष अस्पतालबाट सम्पादित कार्यक्रम तथा विविध पक्षमा आफ्नो प्रस्तुतीकरण गर्दै निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अन्जु थापाले गतवर्ष बेनी अस्पतालमा कुल ७३ हजार ९ सय ३० जनाले सेवा लिएको जानकारी दिनुभयो ।

Advertisement

बेनी अस्पतालको स्त्री तथा प्रसुति रोग विशेषज्ञ समेत रहनुभएकी मेडिकल सुपरिटेन्डेन्ट डा. थापाका अनुसार आर्थिक वर्ष ०७९÷८० मा ५० हजार २ सय ८० र ०७८÷७९ मा ४० हजार १ सय १० जनाले सेवा लिएको तथ्याङ्क छ । यसैगरी गतवर्ष ७ हजार ५ सय ७२ जनाले इमरजेन्सी सेवा लिएका छन्भने २२ सय ६५ जना बिरामीहरु अस्पतालमा भर्ना भएर उपचार गरेको उहाँले बताउनुभयो । त्यस्तै गतवर्ष कुल ३ सय ७० जना बेनी अस्पतालमा सुत्केरी भएकोमा ९६ जनाको शल्यक्रिया गरी बच्चा जन्माइएको उहाँले जानकारी दिनुभयो । 

गएको वर्ष बेनी अस्पतालमा ९८ जनाको मुख्य अपेशन गरिएको छ भने ९ हजार ६ सय ३६ जनाले युएसजी सेवा लिएका छन् । ४ हजार १३ जनाले इसिजी सेवा लिएकोमा १५ हजार ८ सय ९५ जनाले एक्सरे सेवा पाएका छन्भने ९३ जना बेनी अस्पतालमा रिफर भई उपचार गरेकोमा ४ हजार ३ सय ४ जना रिफर भई जिल्ला बाहिर उपचार सेवा लिन गएका थिए । गतवर्ष अस्पतालमा आएर सुत्केरी हुने तथा शल्यक्रिया सेवामार्फत बच्चा जन्माउने गर्भवती महिलाहरुको सङ्ख्या न्यून रहेपनि विगतका दुई वर्षको तुलनामा अन्य सेवा लिने सेवाग्राही गतवर्ष भन्दा बढेको बेनी अस्पतालको वरिष्ठ नर्सिङ अधिकृत खेमकुमारी पन्तले बताउनुभयो ।

गतवर्ष बेनी अस्पतालले सञ्चालन गरेको कार्यक्रमहरुको वित्तीयतर्फ कुल ५४ प्रतिशत र भौतिकतर्फ ६३ प्रतिशत प्रगति हासिल भएको छ । सार्वजनिक विदाको दिन तथा शनिवारसहित हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपिडी सेवा विस्तार भएपछि बेनी अस्पतालमा सेवा लिन आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ ।

वि.सं. २०३६ सालमा बेनी स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको हालको बेनी अस्पताल २०७२ सालमा ५० शैया क्षमतामा स्तरोन्नति भए पनि थप गरेर अहिले ७६ बेड पु¥याइएको छ । अस्पतालमा स्वीकृत दरबन्दी स्थायीतर्फ कुल ५९ रहेपनि हाल जम्मा २६ जनाको मात्रै पदपूति भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनी अस्पतालको सेवा प्रवाहरुलाई थप प्रभावकारी बनाउनुपर्ने बताउँदै प्रचारप्रसारमा समेत जोड दिनुपर्ने बताउनुभयो । उहाँले बेनी अस्पतालमा पाइने स्वास्थ्य बिमाको सुविधालाई थप प्रभावकारी बनाउन तथा अस्पतालको निर्माणाधीन भवन निर्माणलाई पूर्णता दिनको लागि सम्बन्धित निकायमा पहल भैरहेको जानकारी दिनुभयो । 

समापन गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले अस्पतालको सेवालाई गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले बेनी अस्पतालमा एमडिजिपी डाक्टरको व्यवस्थापन गर्नका लागि अस्पतालसँग आफ्नो छुट्टै स्रोत नभएको र प्रदेश सरकारले पनि पठाउन नसकेको हुँदा जिल्लाका स्थानीय तहहरुले आर्थिक सहयोग गर्न अनुरोध गर्नुभयो । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवेदीको अध्यक्षता, प्रमुख एवं निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अन्जु थापाको स्वागतसहित प्रस्तुतीकरण र वरिष्ठ नर्सिङ अधिकृत एवं अस्पतालका सूचना अधिकारी खेमकुमारी पन्तको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, सरकारी, गैरसरकारी कार्यालय तथा संघसंस्थाका प्रमुख एवं प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP