२०८३ असार १
June 15, 2026, Monday

नगरपालिकाको फोहोर काली किनारमा

बेनी नगरपालिकाले बजार क्षेत्रमा सङ्कलन गरेको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइट व्यवस्थित नहुँदा कालीगण्डकी नदीका जलचरलाई समस्या भएको छ । बेनीबजार तथा नगरपालिकाभित्रको क्षेत्रमा नगरपालिकाले सङ्कलन गर्ने फोहोरलाई उचित ल्यान्डफिल्ड साइट बनाएर व्यवस्थित नगर्दा समस्या भएको हो । कालीगण्डकी नदीमै फोहोर फ्याँक्दा जल तथा वायुप्रदूषण पनि बढेको गुनासो आउने गरेको छ ।

Advertisement

बेनीबजारमा सङ्कलित फोहोर बेनीदेखि दुई किलोमिटर उत्तरतर्फ पवित्र तीर्थस्थल गलेश्वरधामनजिकै विसर्जन गरिँदै आएको छ । २०६२ सालमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद श्रेष्ठको पालादेखि फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले चार/पाँच वर्ष सङ्घले सञ्चालन गरेपछि फोहोर उठाउने ट्याक्टर तथा उठ्नुपर्ने रकमसहित तत्कालीन अर्थुङ्गे गाविसलाई जिम्मेवारी हस्तान्तरण गरेको बताउनुभयो । 

Advertisement

मुलुक सङ्घीय संरचनामा गएपछि नगरपालिकाको जिम्मेवारीमा आएको उक्त काम व्यवस्थित भने हुन सकेको छैन । सङ्घले फोहोर व्यवस्थापनको काम थालेदेखि नै फोहोरलाई सोही स्थानमा विसर्जन गर्दै आएको थियो । पर्वतको जलजला गाउँपालिका बगरफाँटका बासिन्दाले पटक पटक विरोध गरे पनि त्यसलाई व्यवस्थित गर्ने वा हटाउने कार्य भने हुन सकेको छैन । कालीगण्डकी नदीसँगै जोडिएको फोहोर फाल्ने साइटले कालीगण्डकीलाई समेत दुर्गन्धित बनाउने गरेको बेनी नगरपालिका–८ का पहलबहादुर खत्रीको भनाइ छ । उहाँले भन्नुभयो, “धार्मिक महत्वको कालीगण्डकी नदीमै जोडेर फोहोर फाल्दा राम्रो भएकै छैन । मैले धेरै पटक नगरपालिकामै पुगेर धार्मिक महत्वको नदीमा फोहोर फाल्न हुँदैन भनेको छु तर उनीहरूले सुन्दैनन्,” ८३ वर्षीय ज्येष्ठ नागरिक खत्रीले सुनाउनुभयो । 

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले धार्मिक पर्यटक गलेश्वरधाम प्रवेश गर्ने मार्गमा पर्ने उक्त फोहोरको डङ्गुरले गर्दा मन्दिरकै महिमालाई प्रत्यक्ष असर गर्न सक्ने बताउनुभयो । उक्त स्थानको विकल्प खोजी गरेर त्यहाँ भइरहेको फोहोर विसर्जन गर्ने काम रोकिनुपर्ने उहाँको भनाइ छ । बाहिरबाट आउने पर्यटकका लागि फोहोरको दुर्गन्धले गर्दा असर गर्ने र पवित्र धार्मिक स्थल मुक्तिनाथ जाने मार्ग पनि भएको हुनाले पनि यसको विकल्प खोजिनुपर्ने भन्दै नगरपालिकालाई क्षेत्र विकास कोषले पटक पटक ताकेता गरेको भए पनि सुनुवाइ नभएको उहाँले सुनाउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले फोहोर व्यवस्थापन गर्ने स्थलको विकल्प खोजी भएको बताउनुभयो । २०६२/०६३ ताकादेखि नै त्यही स्थानमा फोहोर फाल्ने काम भएको र २०७९ मा आफूहरू निर्वाचित भएर आएपछि पनि निरन्तरता भएको भए पनि त्यसलाई स्थान्तरण गर्नेबारेमा विकल्पको खोजी भइरहेको उहाँको तर्क छ ।    

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP