२०८३ जेष्ठ १७
May 31, 2026, Sunday

म्याग्दीमा ८ महिनामा ३१ नयाँ क्षयरोगी फेला

म्याग्दीमा चालु आर्थिक वर्षको ८ महिनामा ३१ नयाँ क्षयरोगी फेला परेका छन्। जिल्लाका स्वास्थ्य चौकी, शिविर र बेनी अस्पतालमा खकार जाँच गराउनेमध्ये तीन बालकसहित ३१ जनामा क्षयरोग पुष्टि भएको हो। विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय म्याग्दीले सोमबार आयोजना गरेको कार्यक्रममा यो तथ्याङ्क सार्वजनिक गरिएको छ।

Advertisement

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका अनुसार सङ्क्रमितको सम्पर्कमा रहेका र लक्षण देखिएर स्वास्थ्य संस्थामा आएकाहरूको जाँचबाट नयाँ क्षयरोगी पहिचान भएका हुन्। फोकल पर्सन गणेश सुवेदीले बेनी नगरपालिकामा १७, अन्नपूर्णमा ६, रघुगंगामा ३, मालिकामा २, धवलागिरिमा २ र मंगलामा १ जना क्षयरोगी भेटिएको बताए। गत आव २०८०/८१ मा ४७, आव २०७९/८० मा ६३ र आव २०७७/७८ मा ४८ क्षयरोगी फेला परेका थिए।

Advertisement

जनस्वास्थ्य अधिकृत राजेन्द्र सापकोटाले एकजना क्षयरोगीबाट वर्षमा १० जनासम्म सङ्क्रमित हुन सक्ने जोखिम रहेको बताए। ‘हल्का ज्वरो, पसिना, छाती दुख्ने, सास फेर्न गाह्रो हुने, दुई हप्ताभन्दा बढी खोकी लाग्ने, तौल घट्ने, भोक नलाग्ने र खकारमा रगत देखिए खकार जाँच गर्नुपर्छ,’ उनले भने। ‘बीचमा औषधि छोड्दा रोग पुनः बल्झिएर बिरामी उपचारमा फर्किन्छन्। धेरैजसो फोक्सो र घाँटीका रोगी छन्, नयाँ क्षयरोगी थपिने सम्भावना धेरै छ।’ 

म्याग्दीमा बेनी अस्पताल, दरबाङ, ताकम, भुरुङ तातोपानी र शिख स्वास्थ्य चौकीमा खकार जाँचको ल्याब छ। क्षयरोग माइकोब्याक्टेरियम ट्युबरक्लोसिस किटाणुबाट हावामार्फत सर्छ र फोक्सोमा असर गर्छ। जिल्लाका सबै स्वास्थ्य संस्थाबाट औषधि निःशुल्क उपलब्ध छ। तर, परीक्षणको दायरा बढाउन नसक्दा सङ्क्रमितको वास्तविक सङ्ख्या पहिचानमा समस्या छ। सङ्क्रमितको परिवारको खकार जाँच र प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्य कमजोर छ। अनुमानित २३३ क्षयरोगीमध्ये ४७ मात्र परीक्षणको दायरामा छन्।

बालबालिका र महिलामा सङ्क्रमणको जोखिम बढी छ। नियमित औषधि खानेको निको हुने दर ९३.२ प्रतिशत छ। वडास्तरमा प्रयोगशाला र जनशक्ति व्यवस्थापन गरेर खकार जाँच शिविर सञ्चालन गर्न सके सङ्क्रमित पहिचान सजिलो हुने जनस्वास्थ्यकर्मीको भनाइ छ। कार्यक्रममा पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले तिरस्कारको डरले क्षयरोगी खुल्न नसकेको भन्दै जनचेतनामार्फत पहिचानमा जोड दिए। निमित्त कार्यालय प्रमुख सापकोटा र फोकल पर्सन सुवेदीको सहभागितामा कार्यक्रम सम्पन्न भयो।

Related News

म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
  • २०८३ जेष्ठ १६, शनिबार ०७:५१

म्याग्दी जेसीजको २८ औ स्थापना दिवसको अवसर पारेर बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।...

धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२८

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा माछा सिकार गरी पितृलाई चढाउने सात सय वर्ष पुरानो...

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३८

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका...

TOP