२०८३ असार ६
June 20, 2026, Saturday

पर्यटनले भरिपूर्ण अन्नपूर्ण : पूर्वाधार विकाससँगै उज्यालिँदै पर्यटकीय गन्तव्य

राकेश शर्मा, म्याग्दी ।
अन्नपूर्ण प्रथम हिमाल अवस्थित रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका पर्यटन, जलस्रोत, कृषि र पशुपालनमा सम्भावनायुक्त छ । आठ वटा वडाहरु रहेको अन्नपूर्ण गाउँपालिका ५५६ दशमलब ४१ बर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिका पर्यटनले भरीपूर्ण गाउँपालिका हो । ऐतिहासिक र साँस्कृतिक सम्पदाले भरिपूर्ण यस गाउँपालिका मौलिक कला र संस्कृतिले धनि मानिन्छ ।


हिमाल, झरना, ताल तलैया, वन जंगल र जैविक विविधताले भरिएको अन्नपूर्णमा पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण र प्रचार प्रसार गरी रोजगार सिर्जना र पालिकाको आम्दानीको स्रोत बढाउने प्रयास थालिएको छ । गाउँपालिकाको अगुवाईमा वडा नम्बर ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको चिनारी स्थापित गराउने काम प्रभावकारी देखिदै गएको छ । यही चालु आर्थिक बर्षमा करिब ३० हजार आन्तरिक तथा बाह्य पर्यटकहरु यस आधार शिविर पुगेका छन् । पालिकाले हरेक बर्ष अन्नपूर्ण आरोहण दिवस मानाउदै आएको छ । यो बर्ष पनि ७६ औँ अन्नपूर्ण आरोहण दिवस मनाईएको छ । गाउँपालिकाले पयर्टकीय गुरु योजना नै निर्माण गरेर पर्यटकीय स्थलको विकासमा लागिरहेको जनाएको छ ।

Advertisement

पर्यटकीय स्थलमा पूर्वाधार निर्माणमा जोड

पालिका भित्र रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसार सहित पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माणमा तिब्रता दिएको छ । स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार संग समन्वय गरेर विभिन्न क्षेत्रमा पर्यटकीय पुर्वाधार निार्मण गरिएको पालिका अध्यक्ष भारत कुमार पुनले बताउनुभयो ‘हामीले पहिलो प्राथमिकता पर्यटन क्षेत्रलाई राखेर योजना तथा बजेट बनाएका छौँ, यस बर्षपनि पालिका र वडाबाट कार्यन्वयन हुने गरी करिब एक करोड भन्दा बढी रकम पर्यटन क्षेत्रमा पालिकाको बजेट मात्र बिनियोजन गरेर काम भैरहेको छ ।’ अध्यक्ष पुनले भन्नुभयो ।

संघीय सरकारको विशेष अनुदानबाट वडा नम्बर ३ मा अवस्थित चर्चित पर्यटकीय स्थल रुप्से झरनामा पहाडमा रेलिङ सहितको पदमार्ग, दृष्य अवलोकन स्थल, शौचालय, खाजा घर लगायतका पर्यटन पूर्वाधार निर्माण कार्य भैरहेको वडा नं. ३ का वडा अध्यक्ष रमेश फगामीले बताउनुभयो । बेनी जोमसोम सडक खण्ड अन्तरर्गत पर्ने उक्त झरनामा तल सडकदेखि झरनाको बिच भाग सम्म पुग्ने र त्यही क्षेत्रमा पुर्वाधार निर्माण गर्ने कार्य ६० प्रतिशत सम्पन्न भएको छ । कुल ३ करोड ६५ लाख लागत अनुमान गरिएको उक्त आयोजनाले फलामको भर्याङ हाल्ले काम सकेको छ । बहुबर्षिय योजनामा काम भएको उक्त आयोजना चालु आर्थिक बर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको योजनाको १ करोड १५ लाख निर्माण पक्षलाई भुक्तानी समेत दिईएको छ ।

अन्नपूर्ण आधार शिविर जाने पर्यटकको सहजकताका लागि पालिकाले आधार शिविर पदमार्ग निर्माण योजना मार्फत उपभोक्ता समितिबाट २० लाख लागतमा गुराँसेडाडाबाट असजिलो स्थानमा पदमार्ग निर्माण र मर्मत गर्नुपर्ने स्थानमा मर्मत गरिहेको छ । पालिकाले उक्त योजना मार्फत नै आधारशिविरको पञ्चकुण्ड ताल क्षेत्रमा काग बाउण्डीको मुर्ति निमार्ण गरी राख्ने योजना यसै आर्थिक बर्षमा सम्पन्न हुने पालिकाको पूर्वाधार शाखाले जनाएको छ ।

चालु आर्थिक बर्षमा पालिका मार्फत पनि धेरै पर्यटकीय स्थलहरुको प्रवद्र्धनमा बजेट विनियोजन भएर काम भैरहेका छन् । वडा नं. १ दोवा गाउँदेखि धौलागिरी आइसफल सम्म जाने पदमार्ग निर्माणका लागि उपभोक्ता समितिले २० लाख बजेटबाट काम गरिसकेका छन् । यसले पर्यटकलाई सहज हुने विश्वास पालिकाले लिएको छ । आईसफल जानका लागि अन्य पदमार्ग भन्दा दोवाको पदमार्ग प्रयोग गर्दा एक दिन नै कम हुने दोवाका स्थानीयको भनाई रहेको छ ।
त्यस्तै अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित नारच्याङ झरनामा समेत पूर्वाधारका लागि बजेट बिनियोजन भएपनि काम हुन नसकेको पालिकाका पूर्वाधार शाखाका सब इन्जिनिय बालकृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार झरनालाई व्यवस्थित र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि पूर्वाधार निर्माण गर्न वडा कार्यालय मार्फत योजना कार्यन्वय हुने गरी २० लाख बजेट बिनियोजन भएपछि यो योजना सम्पन्न हुन नसकेको हो ।

पालिको अर्को प्रमुख पर्यटकीय स्थल घोडेपानी, पुनहिल पछिल्लो समय ट्रेकिङ मात्र होइन, माउन्टेन बाइकिङ अर्थात् साइकलिङका लागि पनि लोकप्रिय गन्तव्य हुने सम्भावना देखेर पालिकाले साइकलिङ गर्नका लागि व्यवस्थित गर्न (साइकल हिड्ने बाटो) निर्माणको काम पनि सम्पन्न भएको छ । प्राकृतिक सौन्दर्य, चुनौतीपूर्ण पदमार्ग र हिमाली दृश्यावलोकनको अवसरले स्वदेशी तथा विदेशी साहसिक पर्यटकलाई घोडेपानीतर्फ आकर्षित गर्न २० लाख बजेटमा पदमार्ग निर्माण गरिएको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

समुद्री सतहबाट करिब २,८७४ मिटर उचाइमा रहेको घोडेपानी अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने महत्वपूर्ण पर्यटकीय केन्द्र हो । परम्परागत रूपमा पदयात्राका लागि प्रसिद्ध यस क्षेत्रले अहिले साइकल यात्रुलाई पनि उत्तिकै लोभ्याउन थालेको छ । विशेष गरी पोखरा, बिरेठाँटी, उल्लेरी हुँदै घोडेपानी पुग्ने मार्ग माउन्टेन बाइकिङका लागि उपयुक्त मानिन्छ ।

अध्यक्ष पुनका अनुसार घाडेपानीमा नै रहेको गुराँसपार्कलाई अझै व्यवस्थित र त्यसमा पूर्वाधार निर्माण गर्नका लागि १२ लाख बजेटबाट घेराबार, सौचालय मर्मत लगायतका कार्य गरिएको छ ।
बेनी जोमसोम सडक खण्डका पर्ने वडा नं. २ को भुरुङतातोपानी कुण्डलाई व्यवस्थित गर्नका लागि पनि योजना रहेको छ । त्यस कुण्ड क्षेत्रमा रहेको जग्गा व्यक्तीको नाममा भएर योजना सुरु हुन केही ढिला भएपनि अब छिट्टै पालिकाको नामा जग्गा आउने प्रक्रिया सुरु भएको वडा अध्यक्ष ओम फगामीले बताउनुभयो ।

उहाँका अनुसार केही कानुनी प्रक्रिया मात्र बाँकी छ, जग्जाधनीले निशुल्क रुपमा दिनेकुरा भएको छ । त्यसका लागि पालिकाले ७० लाखमा पूर्वाधार निर्माणमा बजेट बिनियोजन भएको छ ।

त्यसैगरी पालिका भित्र रहेका पाउद्धर तातोपानी कुण्ड, सेकारको तातोपानी कुण्डमा पनि पुर्वाधार निर्माणको कार्य भैरहेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले बताउनुभयो ।
साथै पालिकाले वडा नंं ७ मा पर्ने महभिर झरनामा पछिल्लो समय पर्यटकको रोजाईमा पर्न थालेपछि त्यस क्षेत्रमा क्याटिन, सौचालय खानेपानी लगायतका पूर्वाधारको आवश्यकता महशुस गरेर भवन निर्माण सुरु गरेको पालिकाका पुर्वाधार विकास शाखाका सव ईन्जिनियर बालकृष्ण पौडेलले बताउनुभो ।
उहाँका अनुसार १९ लाख ९९ हजार ३३० रुपैयाँ लागतमा एक तला भवन निर्माण कार्यको ६० प्रतिशत काम सम्पन्न भएको छ ।

पर्यटनमा आम्दानी गर्दै अन्नपूर्ण गाउँपालिका

अन्नपूर्ण गाउँपालिका प्राकृतिक सम्पदा, हिमाली सौन्दर्य, धार्मिक तथा सांस्कृतिक विविधता र साहसिक पर्यटनको अनुपम संगम हो । विश्वको दशौँ अग्लो हिमाल अन्नपूर्ण प्रथम (८,०९१ मिटर) को आधार क्षेत्र समेटेको यस गाउँपालिकाले पछिल्ला वर्षहरूमा पर्यटनलाई विकास र समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाएको छ । पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण र व्यवस्थित व्यवस्थापनमार्फत गाउँपालिकाले उल्लेखनीय आन्तरिक आम्दानी गर्न सफल भएको छ । आज अन्नपूर्ण गाउँपालिका केवल पर्यटक भित्र्याउने गन्तव्य मात्र नभई पर्यटनबाट प्रत्यक्ष आर्थिक लाभ लिने स्थानीय सरकारका रूपमा परिचित बन्दै गएको छ ।

अन्नपूर्ण गाउँपालिकाको भूगोलभित्र पुनहिल, घोडेपानी, अन्नपूर्ण आधार शिविर, नारच्याङ झरना, रुप्से झरना, भुरुङ तातोपानी, पाउद्धार तातोपानी, रातोपानी तातोपानी कुण्ड, मोहरेडाँडा, खोप्रा लगायतका दर्जनौँ पर्यटकीय गन्तव्य रहेका छन्। यी गन्तव्यहरूले वर्षेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरिरहेका छन् ।

पर्यटनलाई आयआर्जनसँग जोड्ने उद्देश्यले गाउँपालिकाले प्रमुख पर्यटकीय स्थलहरूलाई आय ठेक्कामा लगाउने नीति अवलम्बन गरेको छ । यसबाट गाउँपालिकाले उल्लेखनीय राजस्व संकलन गर्न थालेको छ ।
चालु आर्थिक वर्ष २०८२÷०८३ मा अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय स्थलहरुबाट रु. एक करोड १५ लाख आम्दानी गरेको छ ।

अन्नपूूर्णमा रहेका पर्यटकीयस्थल पुनहिल, भुरुङ्ग–तातोपानी, पाउद्वार र रातोपानी कुण्डमा प्रवेश शूल्क संकलन, होटल र चिया पसल सञ्चालनका लागि आय ठेक्का लगाएर सो आम्दानी भएको गाउँपालिकाले जनाएको छ ।

भुरुङ्ग–तातोपानी कुण्डमा प्रवेश शूल्क संकलन र क्यान्टिन सञ्चालन गर्न रु. ५० लाख एक हजारमा ठेक्का कबोलेको होटल हटस्पिरिङ इनसँग दसै लगत्तै सम्झौताको भएको छ ।

अन्नपूूर्ण गाउँपालिका–६ स्थित पुनहिलमा प्रवेश शूल्क र चिया पसल सञ्चालनका लागि रु. ५० लाख, पाउद्धार तातोपानी कुण्डको रु. २५ लाख र रातातोपानीको रु. तीन लाख न्युनतम शूल्क कायम गरेर ठेक्का आव्हान भएको थियो ।

सबै पर्यटकीय स्थलको ठेक्कामा न्युनतम भन्दा थोरै मात्र बढी कबोलेका व्यवसायीहरुले अग्रिम रुपमा राजस्व जम्मा गरेर कानुन अनुसार १० प्रतिशत छुट पाएका छन् । रु. ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी, रु. १५÷१५ हजार आय ठेक्काको रकम कायम भएको नारच्याङ र महभिर झरनामा क्यान्टिन सञ्चालन गर्न कसैको पनि प्रस्ताव नपरेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाई छ । उहाँका अनुसार महभिर झरनामा पूर्वाधार निर्माणको काम समेत भैरहेको छ ।

गाउँपालिकाको खोप्रा क्षेत्रमा सञ्चालित होटललाई वार्षिकरूपमा व्यवसाय करवापत हरेकलाई रु ३० हजार र सार्वजनिक जग्गा प्रयोग गरेवापत रु ३६ हजार वाहलबटौली कर लिने गरेको छ । मोहरेडाँडा, रुप्से छहरा, घोरेपानी, अन्नपूर्ण आधार शिविरको छोटेपा र हुमखोलालगायतका ठाउँमा रहेका होटल, रेष्टुरेन्ट तथा कफीसफबाट समेत व्यवसाय कर सङ्कलन गर्दै आएको छ ।

गत आर्थिक वर्षमा रु. एक करोड ७२ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णले पर्यटन क्षेत्रबाट मात्रै रु. एक करोड २७ लाख आम्दानी गरेको थियो । चालु आर्थिक वर्षमा रु. दुई करोड १२ लाख ७५ हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको अन्नपूर्णमा पर्यटकीय स्थलको योगदान प्रमुख छ ।

पुनहिल र भुरुङ्ग–तातोपानीमा नेपालीलाई प्रतिव्यक्ति रु. ५० र विदेशीलाई रु. एक सय ५० प्रवेशशूल्क कायम भएको छ । घोडेपानी, पुनहिल, मोहरेडाँडा, खोप्रा, खयरलेक, रुप्से, नारच्याङ र महभिर झरना, विभिन्न ठाउँका तातोपानी कुण्डहरु रहेको यस गाउँपालिकाको वडा नं ४ नारच्याङमा विश्वको दशौँ र नेपालको नवौँ अग्लो अन्नपूर्ण प्रथम हिमाल रहेको छ ।
पर्यटनबाट हुने आम्दानीको दायरा अझ विस्तार हुँदै गएको छ । पर्यटनबाट प्राप्त राजस्वलाई गाउँपालिकाले पुनः पर्यटन पूर्वाधारमै लगानी गरिरहेको छ । गाउँपालिकाले पर्यटकीय क्षेत्रका बारेमा नै लगानी गरेको पालिका उपाध्यक्ष दिवा कुमारी पुनले बताउनुभयो ।


गाउँपालिकाले पर्यटन विकासलाई केवल राजस्व संकलनमा सीमित नराखी स्थानीय रोजगारी सिर्जनासँग पनि जोडेको छ । पुनहिल, घोडेपानी, खोप्रा, मोहरेडाँडा र आधार शिविर क्षेत्रमा सञ्चालन भएका होटल, लज, होमस्टे, घोडा सेवा, भरिया सेवा र स्थानीय उत्पादनको बिक्रीबाट सयौँ परिवारले प्रत्यक्ष आम्दानी गरिरहेका छन् । स्थानीय युवाहरू पर्यटन क्षेत्रमा आकर्षित हुन थालेका छन् भने वैदेशिक रोजगारीको विकल्पका रूपमा पनि पर्यटनलाई हेर्न थालिएको छ ।
यसै कुराहरुलाई मध्यनजर गदै पालिकाले कास्कीको अन्नपूर्ण क्षेत्रका होटल व्यवसायीहरु संग म्याग्दीका अन्नपूर्ण क्षेत्रका पर्यटकीय क्षेत्रका होटल व्यवसायी, पदयात्रीहरुको टोलीलाई लगेर अन्तरक्रिया र कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गराएको छ ।
भुरुङ तातोपानी, पाउद्धार तातोपानी तथा रातोपानी तातोपानी कुण्डहरू गाउँपालिकाका अर्को महत्वपूर्ण आम्दानीका स्रोत बनेका छन् । उपचारात्मक गुण भएका तातोपानी कुण्डमा स्नान गर्न आउने पर्यटकको संख्या वर्षेनि बढ्दै गएको छ । यसले स्थानीय होटल व्यवसाय, यातायात र कृषि उत्पादनको बजारीकरणमा समेत सकारात्मक प्रभाव पारेको छ ।

पर्यटन क्षेत्रका जानकारहरूका अनुसार अन्नपूर्ण गाउँपालिकाले अपनाएको पर्यटनबाट आम्दानी, आम्दानीबाट पूर्वाधार र पूर्वाधारबाट थप पर्यटन भन्ने अवधारणा ग्रामीण पर्यटन विकासको सफल नमुना बन्न सक्छ । प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार विस्तार गर्न सके अन्नपूर्ण गाउँपालिका गण्डकी प्रदेशकै नमुना पर्यटन पालिकाका रूपमा स्थापित हुन सक्ने सम्भावना प्रबल छ ।

(नोट ः यो अन्नपूर्ण गाउँपालिकाको फलोसिप लेखन अन्तर्गतको सामाग्री हो)

Related News

कक्षा १२ को नतिजा :  अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
कक्षा १२ को नतिजा : अप्सरा थापाले ल्याइन ३.८६ जिपिए
  • २०८३ असार ५, शुक्रबार १६:१९

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीकी अप्सरा थापाले...

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्माAdvertisement म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

TOP