उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व संकलन भएको छ ।
एक महिनाको अवधिमा चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) बाट एकसय विवाइडी कम्पनीका विद्युतीय सवारी साधनसहित अन्य ५६ वटा सामान बोकेका कन्टेनरबाट उक्त राजस्व उठाउन सफल भएको कार्यालय प्रमुख विदुर चुडालले बताउनुभयो ।
कार्यालय प्रमुख चुडालले भन्नुभयो, ‘‘आर्थिक बर्षको पहिलो महिनाको राजस्व संकलन सन्तोषजनक हो, पहिलो दुई साता ब्यापारी समेत सामान मगाउन अलमलमा परेको देखिन्थ्यो, अन्तिम साता भित्रिएको सामानले राजस्व संकलनमा योगदान दिएको छ ।’’
कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधन भन्सार कार्यालयबाट जाँचपास भइसकेको छ । गत २०८२–८३ भदौ महिनाको ३० गतेदेखि ब्यावसायिक रुपमा सञ्चालनमा आएको भन्सार कार्यालयले ९ अर्ब ९२ करोड ५ लाख ६ हजार ४२० रुपियाँ राजस्व संकलन गरेको थियो ।
गत आवमा कुल १४ अर्ब ४० करोड ६ लाख बराबरको सामान आयात तथा २० करोड ४० लाख ५५ हजार बराबरको निर्यात भएकोमा कोरला नाकाबाट ३२ सय २३ विद्युतीय सवारीसाधन भित्रिएका थिए ।
यस आव २०८३–८४ मा राजस्व संकलनको लक्ष्य ९ अर्ब निर्धारण गरिएको छ । बर्खा र जाडो याममा भन्सार कार्यालयको सेवा प्रवाह सुस्त हुन्छ । बाढीपहिरो ग्रसित रसुवा र तातोपानी नाकामा समस्या भएपछि ब्यापारीले कोरला नाकालाई बैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने गरेका छन् ।
कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयमा ल्याएर जाँचपासपछि एकसय ८६ किलोमिटर दूरीको कोरला–जोमसोम–बेनी सडकखण्ड हुँदै पोखरा लैजाने गरिन्छ । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको थियो ।



