आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा हिमालमै अस्ताउनुभएको छ। गत बिहीबार (साउन १४ गते) दिउँसो १० जना आरोहीको नेतृत्व गर्नुभएका पुर्जाको निधन भएको पुष्टि भएको हो। आरोही पुर्जाको शव कहाँ अन्त्येष्टि गर्ने भन्ने बारेमा अहिलेसम्म खुलाइएको छैन।
आफ्नो नेतृत्वमा रहेको आरोहीको टोलीलाई सुरक्षित आरोहण गरी सुरक्षित फर्किने बाहेकको कामना गर्नुभएका पुर्जाको चाहना पूरा भएन। सन् २०१९ मा आफ्नै गृहजिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथमबाट विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल छ महिना छ दिनमै आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका पुर्जाले विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिक कठिन र जोखिमपूर्ण आरोहणसँगै केटुमा बिनाअक्सिजन आरोहण गरी पर्वतारोहण क्षेत्रको दुर्लभ कीर्तिमानीको तयारीमा हुनुहुन्थ्यो।
बिनाअक्सिजन तीन पटक १४ वटा हिमालको आरोहणको कीर्तिमानीपछि हलिउड चलचित्रबाट आएको अफरसहित पर्वतारोहण क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुने पुर्जाको सपना अधुरो भएको छ। स्वर्गीय आरोही पुर्जाले आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी रेकर्डसहित ५५ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ।
आरोही पुर्जाले बिनाअक्सिजन सातै महादेशका अग्ला हिमाल (सेभेन समिट) आरोहण गर्ने पहिलो आरोहीको रेकर्डसमेत छ। सात महाद्वीपका सात सर्वोच्च पर्वतमध्ये कार्टेन्स्ज पिरामिड सातौँ शिखर हो। कार्टेन्स्ज पिरामिड अस्ट्रेलिया र ओसिनियाको सबैभन्दा अग्लो हिमालसमेत हो।
दुई वर्षअघि कार्टेन्स्ज पिरामिडको दक्षिण ध्रुवमा पुग्न सफल भएपछि हिमाल आरोहणको कीर्तिमानको यात्रा छोटिएको बताउँदै आउनुभएका पुर्जाले विश्वभर नेपालका हिमाल सुरक्षित छन् भन्ने सन्देश फैलाउन सफल हुनुभएको थियो। आरोही पुर्जाले एसियाको सगरमाथादेखि अफ्रिकाको माउन्ट किलिमन्जारोका साथै दक्षिण अमेरिका, उत्तर अमेरिका, अन्टार्कटिका, युरोप र अस्ट्रेलिया महादेशका उच्च शिखर आरोहणमा अन्य आरोहीलाई समेत निम्तो दिने गर्नुहुन्थ्यो।
१६ वर्ष बेलायती सेनामा काम गर्नुभएका निम्स दाइले वि.सं. २०६९ पुसमा पहिलो पटक सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्नुभएको थियो। त्यही वर्ष पहिलो पटक छ हजार एक सय १९ मिटर उचाइको लोबुचे हिमालबाट आरोहण यात्रा थाल्नुभएको थियो। १२ वर्षको अवधिमा पुर्जाले विश्वकै अग्लो सगरमाथासहित नेपालमा रहेका आठ र पाकिस्तान र चीनमा गरी १४ वटा अग्ला हिमालमा आरोहण गर्नुपर्छ भन्ने जग बसाल्ने नै पुर्जा हुनुहुन्थ्यो।
५० पटक आरोहणको नजिक रहनुभएका पुर्जाले नेपालका साना-ठूला चुचुरोमार्फत विदेशी आरोहीलाई आकर्षित गर्ने गर्नुभएको छ। हालसम्म बिनाअक्सिजन आरोहणमा यस्तो कीर्तिमानी कायम गर्ने नेपाली र विदेशी आरोही अरू कोही छैनन्। पुर्जाले सबैभन्दा चुनौतीपूर्ण र खतरनाक हिमालमध्ये एक पाकिस्तानको केटुको आरोहणमा समेत दुर्लभ कीर्तिमान राख्नुभएको छ। जाडो सिजनमा विश्वकै दोस्रो अग्लो ‘के-टु’ आरोहण अहिलेसम्म कुनै पर्वतारोहीले तोड्न सकेका छैनन्। आरोही पुर्जाले २९ वर्षको उमेरमा आरोहण गरेपछि बेलायती सेनासहितको टोलीलाई समेत सगरमाथा आरोहणको नेतृत्व सम्हाल्नुभएको थियो।
अग्ला हिमालमा हिउँका खुड्किला नाघ्दै उकालो चढ्दा पुर्जालाई सघाउने शेर्पाहरूको तयारीसमेत अन्य आरोहीको भन्दा फरक हुन्छ। पुर्जा हिमालमा पाइला टेक्नेबित्तिकै चुचुरोतर्फ लम्किन्छन्। साना-ठूला हिमालको आरोहणमा सहयोगी शेर्पाहरूसँगै भर्याङ, डोरी, अङ्कुश लिएर आरोहणमा पुर्जासँगै निस्किने धेरै आरोहीले रफ्तारलाई पछाडि पार्न (पछ्याउन) सक्दैनन्। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिनुभएका पुर्जाले आफ्नै जिल्लामा भएका सातौँ अग्लो धौलागिरि हिमाल र १० औँ अग्लो अन्नपूर्ण हिमालको समेत पटक-पटक आरोहण गर्नुभएको छ।
सन् २००३ मा पोखरास्थित ब्रिटिस क्याम्पमा ब्रिटिस आर्मीमा छनोट भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभूत तालिमको ज्ञान प्राप्त गर्नुभएको थियो। कर्पोरल निर्मल बेसिक ट्रेनिङमा च्याम्पियन रिक्रुटको उपाधि लिएर क्विन्स गोर्खा इन्जिनियर्समा आवद्ध हुनुहुन्थ्यो। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ एन्ड डेकोरेसन ट्रेडमा कार्यरत हुनुहुन्थ्यो। क्विन्स गोर्खामा कार्यरत रहँदा ब्रिटिस आर्मीको कमान्डोसमेत गर्नुभएका आरोही पुर्जाले आकर्षक तलबसहितको सुविधा छोडेर हिमाल यात्रामा प्रवेश गर्नुभएको थियो।
बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञका रूपमा समेत काम गर्नुभएका पुर्जाले ‘गोर्खा एक्सपिडिसन २०१७’ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हाल्नुभएको थियो। सगरमाथा आरोहणका क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल हुनुभएका पुर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गर्नुभएको थियो। बेलायती सेनामा हिमचितुवाका नामले चिनिने पुर्जा यो अवार्ड पाउने पहिलो नेपाली हुन्। इलाइट एक्सपिडका संस्थापकसमेत रहनुभएका पुर्जाले हिमालमा मृत्युको पर्खाइमा अलपत्र आरोहीलाई समेत निःशुल्क उद्धारसहित आपत्कालीन अवस्थामा सहयोगसमेत गर्ने गरेको पुर्जाका माहिला दाजु कमलबहादुर पुर्जाले बताउनुभयो। दाजु पुर्जा भन्नुहुन्छ, “भाइले कीर्तिमानी मात्रै होइन धेरै अधुरा काम छोडेर गएको छ, उसको सपना पूरा गर्न अझै धेरै काम गर्नुपर्छ।” तीन दाजु र एक बहिनी रहनुभएका पुर्जाका बुबाआमाको निधन भइसकेको छ।
पुर्जाको ‘प्रोजेक्ट पसिबल’ बाट विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल सात महिनामा आरोहण गरेर विश्व कीर्तिमान राखेको वृत्तचित्र (डकुमेन्ट्री) ‘फोर्टिन पिक्स: नथिङ इज इम्पोसिबल’ नेटफ्लिक्समा १९१ देशमा ३१ भाषामा प्रस्तुत गरिएको छ। यो नेटफ्लिक्समा धेरै हेरिएकामध्येको वृत्तचित्र हो। वृत्तचित्रमा नेपालको हिमाल आरोहणको इतिहासलाई पनि समेटिएको छ। यसमा पुर्जाको व्यक्तिगत जीवनको उतारचढावलाई पनि समेटिएको छ। पुर्जाले सगरमाथा आरोहणमा जाने भरियालाई आफ्नो व्यक्तिगत पाँच करोडको लगानीमा भरिया बस्ने घरसमेत बनाउनुभएको छ भने विभिन्न देशमा प्राकृतिक विपत्तिमा परेकालाई आर्थिक सहयोगसहितका सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्थ्यो।
गाउँको विद्यालयमा ४० लाखको कोष
आरोही पुर्जा सामाजिक कार्यमा समेत उत्तिकै सक्रियता देखाउनुहुन्छ। उहाँले आरोहणका क्रममा नेपाल, पाकिस्तानसहित अन्य मुलुकमा बाढीपहिरोबाट प्रभावितलाई समेत सहयोग गर्नुभएको छ। त्यस्तै आफ्नो जन्मभूमिमा रहेको सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण बढाउन र विद्यार्थीलाई पठनपाठनमा आकर्षित गर्न ४० लाखको अक्षयकोष स्थापना गर्नुभएको छ। उक्त कोषबाट आधारभूत तहका विद्यालयलाई शैक्षिक गतिविधिमा सघाउने र ज्ञानप्रकाश माविमा कक्षा ८, एसइई र कक्षा १२ मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कार दिइन्छ।
आरोही पुर्जाले स्थापना गरेको ‘निम्स दाइ फर एजुकेसन’ ले ज्ञानप्रकाश माविमा कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउनेलाई नगद एक लाख, एसइईमा प्रथम हुनेलाई ८० हजार र कक्षा ८ मा प्रथम हुनेलाई नगद ५० हजार रुपियाँ र सम्मानपत्रले सम्मान गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक शान्तबहादुर नेपालीले बताउनुभयो। यो म्याग्दी जिल्लाका सामुदायिक विद्यालयमा हालसम्मकै सबैभन्दा ठूलो रकम हो।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई थप शैक्षिक गतिविधिमा समेत प्रोत्साहन गर्ने गरी दानामा रहेका चार वटा सामुदायिक विद्यालयलाई समेत आर्थिक सहयोग गरिन्छ। ‘निम्स दाइ फर एजुकेसन’ का संस्थापक आरोही पुर्जाले आफ्नो कम्पनीको आम्दानीबाट शिक्षा, स्वास्थ्य, सामाजिक एवम् मानवीय सेवाका क्षेत्रमा सहयोग गर्ने गर्नुभएको छ। यसैबीच सगरमाथा आरोहणमा जाने भरियालाई लक्षित गरी सुरक्षित आवास भवनका लागि समेत काम भइरहेको छ। gorakhapatra



