कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ ।
मन्त्री चौधरीले कृषि, बन तथा वातावरणको क्षेत्रका जटिल समस्याको पहिचान र आवश्यकतामा केन्द्रित भएर सरकारले कानुनको सुधारसहितका कार्यहरूलाई प्राथमिकता दिएर अगाडि बढेको बताउनुभयो ।
मुस्ताङको शीतोष्ण बागवानी विकास केन्द्र, मार्फाले आफ्नो स्थापनाको ६०औँ वर्ष पूरा गरेको अवसरमा मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले हिमाली जिल्लामा मौषम अनुसारको उत्पादन तथा फलफूल खेतीको विस्तारका लागि अनुदानसहितका प्रोत्साहन कार्यक्रमलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
मन्त्री चौधरीले भन्नुभयो, ‘‘विभिन्न प्रजातिको फलफूल उत्पादनमा ठुलो योगदान रहेकाले हाइब्रिड स्याउका बिरुवा उत्पादनका लागि ‘टिस्यु कल्चर बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी थपका लागि आएको प्रस्तावलाई अगाडि बढाउने बताउनुभयो ।
केन्द्रका प्रमुख प्रकाश पन्थले उच्च घनत्वको स्याउका बिरुवा उत्पादनका लागि ‘बायोटेक्नोलोजिस्ट’ को स्थायी दरबन्दी आवश्यक रहेको जानकारी गराएपछि स्थायी दरबन्दी थप भएमा फलफूलबाट उत्पादित मदिराको अन्तःशुल्कसम्बन्धी बेरुजु समस्या समाधानसहित केन्द्रको लक्ष्य प्राप्तीमा समेत सहज हुने बताउनुभएपछि मन्त्री चौधरीले प्रतिवद्धता जनाउनुभएको थियो ।
वार्षिकोत्सवका अवसरमा लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमी सामुदायिक स्याउबारी कृषक समूह, अगुवा कृषक सुरेन्द्रकुमार हिराचन एवम् शीतोष्ण वागवानी विकास केन्द्रका उत्कृष्ट कर्मचारी सञ्जीना माझी र अष्ट विकलाई सम्मान गरिएको थियो ।
केन्द्रले विगतदेखि गर्दै आएको फलफूल तथा तरकारी उत्पादन, गुणस्तरीय बिरुवा विकास, अनुसन्धान, प्रविधि प्रसार र कृषकसँगको सहकार्यका उपलब्धि प्रस्तुत गर्दै आगामी कार्यदिशासमेत सार्वजनिक गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख माया गुरूङ, प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, राष्ट्रिय फलफूल विकास केन्द्रका प्रमुख महेशचन्द्र आचार्य, कृषि विभागका उपमहानिर्देशक बद्रीप्रसाद दाहाल, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले केन्द्रको भूमिका र कृषि विकासका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
समुन्द्री सतहदेखि दुई हजार ६५० मिटर उचाइमा रहेको केन्द्र शीतोष्ण फलफूल तथा तरकारी उत्पादनका लागि महत्वपूर्ण क्षेत्रका रूपमा विकास भइरहेको छ ।
यहाँ स्याउ, ओखर, आरु, आरुवखडा, खुर्पानी, कागजी बदाम, हेजलनट, मिठो चेरी, अङ्गुरलगायत फलफूलका बिरुवा उत्पादन तथा बिक्री वितरण हुँदै आएको छ । केन्द्रमा स्याउका ३५ भन्दा बढी जातको परीक्षण तथा संरक्षण गरिएको छ ।
केन्द्रले गाला, गोल्डेन डेलिसियस, फुजी र किङ रोट डेलिसियसजस्ता स्याउका जातका ग्राफ्टेड बिरुवाको विभिन्न स्थानमा प्रभावकारितासम्बन्धी अध्ययनसमेत गरिरहेको छ ।
आर्थिक वर्ष २०८२/८३ मा केन्द्रले बिक्री कार्यक्रममार्फत ७६ लाख ५ हजार ४५१ रुपियाँ राजस्व संकलन गरेको छ । केन्द्रले २१ हजार ६७ फलफूलका बिरुवा उत्पादन गरी १२ हजार ६०८ बिक्री गरेको छ भने २ लाख १९ हजार ५१५ तरकारीका बेर्ना बिक्री गरेको छ ।
चालु आवमा स्याउको ठेक्का २४ लाख ४१ हजार रुपियाँमा सम्झौता भएको छ । केन्द्र प्रमुख पन्थले जलवायु परिवर्तनलाई आगामी दिनको प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो । समयमा हिउँ नपर्नु, बढी वर्षा, बाढीपहिरो तथा भूक्षयका कारण शीतोष्ण फलफूलको उत्पादन र महत्वपूर्ण जर्मप्लाज्म संरक्षणमा चुनौती थपिएको केन्द्र प्रमुख पन्थको भनाइ छ ।
वनस्पति तथा फलफूल उत्पादनको क्षेत्र क्रमशः माथिल्लो भूभागतर्फ विस्तार भइरहेकाले यसलाई चुनौतीसँगै अवसर रहेकाले प्रविधि र जनशक्ति आवश्यक रहेको बताइएको थियो ।
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको कुल क्षेत्रफल ५१ दशमलव ६ हेक्टर रहेको छ । मार्फा, घाँसा, घमी र जोमसोममा केन्द्रको जग्गा रहेको छ । हाल केन्द्रको कार्यक्रम सञ्चालन भएको क्षेत्रफल ७ दशमलव ४ हेक्टर रहेको प्रस्तुतीकरणमा उल्लेख छ । त्यसमध्ये मार्फामा ६ दशमलव ९ र घाँसामा शून्य दशमलव ५ हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
उपल्लो मुस्ताङमा रहेको करिब ८०१ रोपनी जग्गालाई स्याटेलाइट फार्मका रूपमा विकास गर्ने तथा कृषि तथा बागवानी पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । केन्द्रको संस्थागत यात्रा २०२३ सालमा ‘अर्चाड कम नर्सरी’का रूपमा सुरु भएको थियो ।
वि.सं. २०२९ सालमा कृषि फार्म थाक मार्फा, २०४३ सालमा राष्ट्रिय शीतोष्ण बागवानी अनुसन्धान केन्द्र, २०५२ सालमा बागवानी केन्द्र हुँदै २०६१ सालदेखि शीतोष्ण बागवानी विकास केन्द्रका रूपमा सञ्चालनमा रहेको छ ।




