म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको दरबाङ बजारमा सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ। आर्थिक वर्ष २०८२÷०८३ मा संघीय सरकारको समपूरक अनुदानतर्फ एक करोड १० लाख रुपैयाँ अन्य रकम गाउँपालिका मार्फत रु एक करोड ६६ लाख ४९ हजार ७३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा रु एक करोड २६ लाख ८२ हजार ८८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो ।

दरबाङ बजार पिच–दरबाङ दिच्याम सडकअन्तर्गत उक्त योजना कार्यान्वयन गरिएको गाउँपालिकाका वरिष्ठ सबइन्जिनियर दीपक सापकोटाले जानकारी दिनुभयो । गत आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सडक फराकिलो बनाउने क्रममा विवाद उत्पन्न भएपछि निर्माणमा ढिलाइ भएको हो। आयोजनाअन्तर्गत बजार क्षेत्रमा करिब ९ सय मिटर सडक कार्पेट प्रिमिक्स प्रविधिबाट कालोपत्रे गरिएको छ। साथै, नाली निर्माण र भित्री सडकमा ब्लक बिछ्याउने कामसमेत गरिएको सापकोटाले बताउनुभयो।

सडक साँघुरो र धुलाम्मे हुँदा स्थानीय बासिन्दा, व्यापारी तथा सर्वसाधारणले सास्ती खेप्दै आएका थिए। सडक विस्तार र कालोपत्र भएपछि सवारीसाधन आवतजावत सहज भएको स्थानीयवासीको गोपाल रेग्मीले बताउनुभयो । सडक आएको १९ वर्षपछि कालोपत्र भएकोमा स्थानीय खुसी छन् ।
तीव्र रुपमा बस्ती विकास भएको दरवाङ बजारको भित्रि सडक साँघुरा हुँदा सवारीसाधन आवतजावत असहज हुनुका साथै दुर्घटनाको जोखिम थियो । स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वस्फुर्त रुपमा घरको पेटी र टहरा भत्काएका थिए् । विस्तार गरेपछि सडक फराकिलो बनेको छ । दरवाङमा ३०० बढी घरपरिवारको बसोबास रहेको छ । सडक स्तरोन्नतिले बजारको स्वरूप सुधार हुनुका साथै आवागमन सहज हुने अपेक्षा गरिएको छ ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले सडक फराकिलो बनाउने क्रममा देखिएका समस्या समाधान गर्दै बजारलाई व्यवस्थित बनाउन योजना कार्यान्वयन गरिएको बताउनुभयो ।




