गत हिउँदमा सडक सञ्जालमा जोडिएको म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर २ को लमसुङ र लुलाङ बर्खा लागेसँगै यातायात सञ्जालबाट बिच्छेद भएको छ । गाउँपालिकाको केन्द्र मुना देखि वडा नम्बर २ को खोरीया–लमसुङ हुदै गुर्जा जोड्ने सडकले लुलाङ गाउँ काटेको छ । सडकमा लमसुङमा दरखोला, वडा नम्बर ३ को कालुङ, महखोलामा बाढी आएको र सडकमा हिलो जमेकाले मुना देखि लुलाङ जोड्ने सडकमा नियमित सिधा यातायात सञ्चालन हुन छाडेको स्थानीय राजकुमार बिकले बताउनुभयो ।
“पुल नबनाए र घुमाउरो तथा साँघुरो सडक विस्तार नगरेसम्म बाह्ै महिना सहज र सुरक्षित रुपमा यातायात सेवा नपाइने भयो,” गाउँपालिकाको आर्थिक सहयोगमा वडा कार्यालयले शनिबार लमसुङमा आयोजना गरेको सार्वजनिक सुनुवाईमा खोरीयाका मोतिप्रसाद पाईजाले भन्नुभयो “कालुङखोला, महखोला र दरखोलामा जति सक्छो छिटो पुल हाल्नुपर्ने तथा कालुङखोला नजिकैको पहिरो पन्छाउनुपर्ने देखियो ।”
खोरीयाका तेजिन्द्र पाइजाले यातायात सेवालाई सहज, सुरक्षित, भाडादर समायोजनका साथै गुर्जा र जलजला हुदै ढोरपाटनसँग सडक सञ्जालमा जोड्ने योजनालाई तिब्रताका साथ कार्यान्वयन गर्न माग गरेका थिए । यसैगरी गाईगोरुमा महामारीको रुपमा फैलिएको लम्पि स्किन रोग नियन्त्रणका लागि भ्याक्सिन र औषधीको ब्यवस्था, भनेको समयमा कृषि प्राविधिकको सेवा उपलब्ध गराउन स्थानीय कृष्णबहादुर गौचनले माग गर्नुभयो । लुलाङका कृष्ण बिकले एकै व्यक्तिले धेरै पटक एउटै उपभोक्ता समितिको नेतृत्व गर्न नपाउने नीतिगत व्यवस्था गरेर सबैले अवसर पाउने व्यवस्था मिलाउन सुझाव दिनुभयो । लुलाङकै बलमान बिकले लागत अनुमान भूगोल अनुसार नहुँदा दुर्गमका उपभोक्ता समितिहरु ढुवानी भाडाका कारण मर्का र समस्यामा परेका बताउनुभयो ।
लुलाङकी रतिमा बिकले स्वास्थ्य संस्था टाढा हुँदा सेवा लिन असहज भएको र राजकुमार बिकले बिग्रिएको प्रिन्टर नबनाउँदा वडा कार्यालयबाट जन्मदर्ता गर्न समस्या भएको गुनासो गर्नुभयो । खकप्रसाद बिकले लुलाङमा खेलमैदान नहुँदा विद्यालयमा गएर खेल्दा विद्यार्थीको पढाईमा असर परेको बताउनुभयो ।
स्थानीयबासीले गरेका प्रश्नको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगर, वडा अध्यक्ष अकप्रसाद बिक र वडा सचिव गिरिराज शर्माले जवाफ दिनुका साथै प्रतिवद्धता जनाउनुभयो । गाउँपालिका अध्यक्ष पुनले यसपाली लुलाङ हुदै गुर्जा जोड्ने सडकलाई संघ, प्रदेश र पालिकाबाट रु. दुई÷दुई करोड, ढोरपाटन जोड्ने सडकलाई डेढ करोड, दरवाङ–मुना जोड्ने सडकलाई पाँच करोड र लमसुङको दरखोलामा मोटरेबल बनाउन प्रदेशबाट रु. असी लाख छुट्टीएको जानकारी दिनुभयो ।
लमसुङ पहिरो नियन्त्रणका लागि रु. एक करोड बिनियोजन भएको जानकारी दिनुभयो । “गुर्जा र ढोरपाटनलाई सडक सञ्जालले जोड्ने योजनालाई तीनै तहको सरकारले प्राथमिकता दिएका छौ, आएका योजना कार्यान्वन भयो भने धेरै सुधार र सहज हुन्छ,” उहाँले भन्नुभयो “नयाँ सडक बनाउने भन्दा पनि अब बनेका सडकलाई स्तरोन्नति गरेर नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकताका साथ काम गर्छौ ।
संघ र प्रदेशबाट भित्रिएका आयोजना कार्यान्वयन गराउन सबै जुट्नुपर्छ ।” उपाध्यक्ष पुनले केही उपभोक्ता समितिले गैरजिम्मेवार र लापरबाही गरेका, पालिकाको आफ्नै दररेट बनाउन लागिएको, कृषि र भेटेरीनरीका प्राविधिकलाई वडामै बसेर नियमित सेवा दिन लगाउने, लम्पी स्किन विरुद्धको औषधी सहित प्राविधिक परिचालन गरेको र सडकलाई व्यवस्थित बनाउन केन्द्रित भएको बताउनुभयो । वडा कार्यालयको प्रिन्टर मर्मत र कम्युटर मार्फत सेवा दिने व्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभयो ।
वडा अध्यक्ष बिकले धेरै मेहनतपछि लुलाङमा सडक पुगेको, एक घर एक धारा सहितको खानेपानी आयोजना, वडा कार्यालय भवन बनेको र आगामी वर्ष खोरीया र लमसुङमा नेवा संस्थासँग समन्वय गरेर खानेपानी आयोजना बनाउन लागिएको बताउनुभयो । अवदेखि वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिने जानकारी गराउदै लुलाङको खेलमैदान बनाउन रु. पाँच लाख बिनियोजन भएको बताउनुभयो ।
वडा सचिव शर्माले प्रिन्टर मर्मत गर्ने आर्थिक स्रोतको कमीले वडामा जन्मदर्ता गर्न नसकिएको र पालिकामा गएर अनलाईन दर्ता गराउनुपरेको बताउनुभयो । उहाँले केही योजना तथा कार्यक्रमहरु संघीय सरकारले बजेट कटौति गरेपछि कार्यान्वयन नभएको बताउनुभयो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष पुनले ५ कोठे, एक तले वडा कार्यालय भवन उद्घाटन गर्नुभएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...