२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । 

Advertisement

आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित भएका छन् । पाँच वर्षको प्रयासपछि केन्द्र स्थापना भएको सञ्चालक समितिका सदस्य नवराज पौडेलले बताउनुभयो । 

“सदरमुकाममै भए पनि निजी क्लिनिक नभएको मङ्गलाघाटका बासिन्दालाई समान्य बिरामी पर्दा स्वास्थ्य परीक्षण, औषधि लिन, रक्तचाप, चिनी रोग परीक्षण गराउन असहज भएको पछि पाँच वर्षअघि स्वास्थ्य केन्द्र सञ्चालनको माग गरेका थियौँ,” उहाँले भन्नुभयो, “टोलमै स्वास्थ्य केन्द्र भएपछि प्राथमिक उपचारका लागि वडा नं ८ मा पर्ने कालीपुलस्थित प्रदेश अस्पतालमा पुगेर घण्टौँ लाइन बस्नुपर्ने अथवा निजी क्लिनिकमा धाउनुपर्ने समस्या हटेको छ ।”

बेनी –७ मा यसअघि स्वास्थ्य संस्था थिएन । केन्द्रमा नगरपालिकाले एक जना सिनियर अहेव र एक जना स्टाफ नर्स खटाएको छ । स्वास्थ्य परीक्षण, खोप, निःशुल्क औषधि वितरण, परामर्श, गर्भपरीक्षण, सुत्केरी घरभेटलगायत स्वास्थ्य चौकीबाट प्रदान गरिने आधारभूत तहको सेवा उपलब्ध रहेको छ । सेवा लिनेको सङ्ख्या मासिक २०० जनाको हाराहारीमा रहेको केन्द्रका सिनियर अहेव सीमा भण्डारी घिमिरेले बताउनुभयो । 

भाडाको घरमा केन्द्र सञ्चालन भएको छ । बेनी नगरपालिकाले स्वास्थ्य केन्द्र स्थापनाका लागि विनियोजन गरेको रु एक लाख ५० हजार बजेटले फर्निचर र स्वास्थ्य सामग्री खरिदमा अपुग भएपछि स्थानीयवासीले रु एक लाख १३ हजार सङ्कलन गरेर भुक्तानी गरेका सञ्चालक समितिका सदस्य पौडेलले बताउनुभयो । 

वार्षिक रु ६० हजार घरभाडा तिर्न बजेट अभाव हुँदा समस्या भएको उहाँले बताउनुभयो ।  केन्द्रको भवन निर्माण र नियमित सञ्चालन गर्न मङ्गलाघाटवासीले माग गरेका छन् । नगरपालिकाले वडास्तरीय स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने टोलका बासिन्दालाई लक्षित गरेर यसअघि सिङ्गा, डडुवा, सेताढुङ्गा, गलेश्वर र तोरीपानीमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको थियो । रासस

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP