२०८२ माघ १
January 14, 2026, Wednesday

आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षक

कमल खत्री, बेनी । प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनः स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् ।

Advertisement

पढ्ने रहर अधुरै भएका आमाहरुलाई लक्षित गरेर बेनीको मङ्गलाघाटमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयमा ६२ वर्षीय सुवेदीले स्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसालाई पुनःनिरन्तरता दिएका हुन् । लामो समयसम्म प्रकाश माविको प्रधानाध्यापक भएर जिम्मेवारी पूरा गरेका सुवेदीले अस्थायीसहित ४३ वर्ष छ महिना १८ दिन शिक्षण गरेका थिए । विसं २०७८ फागुन १८ गते अनिवार्य अवकाश लिएर सेवानिवृत्त दैनिकीमा समय बिताउँदै आएका सुवेदी यही भदौ पहिलो सातादेखि उज्यालो वैकल्पिक विद्यालयमा जोडिएका हुन् ।

Advertisement

आमाहरुले अध्ययन गर्दै आएको विद्यालयमा शिक्षकको अभाव भएको र विद्यालय व्यवस्थापन समितिबाट भएको आग्रहबमोजिम आफू स्वयंसेवक भूमिकामा पुनःशिक्षणमा फर्किएको उनले बताए । “अधिकांश विद्यार्थी आमाहरु नै हुनुहुन्छ, उहाँहरुमा पढ्ने तीव्र इच्छाशक्ति छ, मेरो अनुभव र क्षमताले भ्याएसम्म उहाँहरुको सिकाइ उपलब्धि बढाउनतर्फ मेरो प्रयास रहन्छ”, सुवेदीले भने ।

सानो उमेरमा अध्ययन गर्न नपाएका, बीचैमा विद्यालय छाडेका महिला र आमाहरुलाई लक्षित गरेर बेनी सामुदायिक विद्यालय मातृ विद्यालय रहनेगरी विसं २०७१ देखि बेनीमा उज्यालो वैकल्पिक विद्यालय सञ्चालनमा आएको थियो । अहिले सामाजिक विकास कार्यालय सञ्चालनमा रहेको तत्कालीन महिला तथा बालबालिका कार्यालयको भुँइतलामा कक्षाकोठा व्यवस्थापन गरेर कक्षा १ देखि १० सम्म पठनपाठन सञ्चालन गर्दै आइएको छ । 

विद्यालयमा अहिले ३३ विद्यार्थी अध्ययनरत छन् । विविध कारणले बीचैमा पढाइ छाडेका महिला र आमाहरु नै विद्यालयका विद्यार्थी हुन् । जीवनको कुनै चरणमा शिक्षाको ठक्कर लागेर अध्ययन गर्न आएका आमाहरु विद्यार्थी भएकाले पनि पठनपाठन गराउन सहज भएको शिक्षक सुवेदीको भनाइ छ ।

“विद्यालयमा सबैभन्दा गाह्रो काम भनेको विद्यार्थीलाई प्रेरणा दिनु हो, उहाँहरु आफैँ पढ्नपर्छ भनेर विद्यालय आउनुभएको छ, पढ्ने उत्कृष्ट चाहना हुनु नै आधा सिकाइ हुनु हो, हामीले उहाँहरुको क्षमताको पहिचान गरेर सिकाइ उपलब्धि बढाउने गरी शिक्षण गर्ने जमर्को गर्छौं”, उनले भने । शिक्षाको अवसरबाट बञ्चित भएका आमाहरुलाई साक्षर गराउने कार्यमा सहभागी हुन पाउनु आफ्ना लागि पनि योगदान गर्ने अवसर रहेको सुवेदीको भनाइ छ ।

शिक्षक सुवेदीसहित विद्यालयमा नवनियुक्त तीन शिक्षकलाई शुक्रबार विद्यालयमा स्वागत गरिएको छ । सेवानिवृत्त जीवन आमाहरुलाई साक्षर बनाउने कार्यमा खर्चिनु आफैँमा स्वागतयोग्य र प्रशंसनीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले बताए । लामो समयसम्म एउटा विद्यालयको प्रधानाध्यापक भएर विद्यालयलाई उत्कृष्ट बनाउन सफल शिक्षक सुवेदीको आगमनले उज्यालो वैकल्पिक विद्यालयको समग्र शैक्षिक विकास र गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष शाक्यले बताए । यस विद्यालयमा अहिले ६ जना शिक्षक कार्यरत रहेका छन् ।

विद्यालयमा अध्ययन गरेर दुई वर्षदेखि आमाहरुले एसइई परीक्षासमेत उत्तीर्ण गर्दै आएका छन् । यस वर्षको एसइईमा नौ आमाहरु एसइईमा उत्तीण हुन सफल भएको विद्यालयका शिक्षक साहारा थापाले जानकारी दिए । उनका अनुसार विद्यालयमा ६० वर्षसम्मका आमाहरु अध्ययनरत रहेका छन् ।

विद्यालय सञ्चालनमा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाइ र बेनी नगरपालिकाले सहयोग गरेका थिए । सहयोगको निरन्तरता नभएको र स्रोतको सुनिश्चिता नहुँदा सहयोग जुटाएर विद्यालयमा कार्यरत शिक्षकको तलब सुविधा उपलब्ध गराउनुपर्ने बाध्यता आएको विद्यालय व्यवस्थापन समितिका सहसचिव सन्दीप खत्रीले बताए । rss

Related News

बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
बेनीमा पुस ३० देखि खाना हुने महोत्सवको तयारी पुरा
  • २०८० भाद्र ९, शनिबार ०८:३७

बेनी ः माघे संक्रान्ति पर्वको अवसरमा बेनीमा बुधबारदेखि शुरु हुन लागेको खाना महोत्सव एवं कृषि मेला प्रर्दशनीको तयारी पुरा भएको...

दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
दिवंगत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना
  • २०८० भाद्र ९, शनिबार ०८:३७

बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ...

लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
लोकदिप बचतको १२ औ साधारणसभा, डिजिटल भुक्तानी थप प्रभावकारी बनाइने
  • २०८० भाद्र ९, शनिबार ०८:३७

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको लोकदिप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा...

TOP