२०८३ आश्विन १
September 17, 2026, Thursday

नौमती बाजा घन्काउँदै मल्लाजका महिला

बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका –३ मल्लाज माझफाँटका महिलाले नौमती बाजा बजाउन थालेका छन् । 

Advertisement

महिला चेतना केन्द्रले नौमती बाजा बजाउन तालिम दिएपछि महिलाहरू बाजा बजाउन थालेका हुन । तालिम पाएपछि आजकल गाउँघरमा हुने विवाह र विभिन्न कार्यक्रममा महिलाले नौमती बाजा लिएर पुग्ने गर्छन् । महिलाले गाउँमा नौमती बाजा घन्काउन थालेपछि गाउँलेहरू पनि दङ्ग परेका छन् । 

महिलाले बजाएको नौमती बाजामा रमाइलो मानेर पुरुषहरू नाच्ने गर्छन् । हालै मल्लाजमा आयोजना गरिएको कार्यक्रममा आउनुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई महिलाले नौमती बाजाले स्वागत गरे । कार्यक्रममा बजेको नौमती बाजाले सबैको ध्यान खिच्यो । पाहुनाहरू बाजामा छमछमी नाचे । 

‘दश दिनसम्म नौमती बाजा बजाउने तालिम दिएका थियौँ’ महिला चेतना केन्द्रकी अध्यक्ष शान्ति जिसीले भन्नुभयो, ‘‘तालिम पाएपछि महिला नौमती बाजा बजाउन पोख्त भएका छन् । गाउँघरमा आयोजना हुने कार्यक्रममा बाजाका लागि माग आउन थालेको छ ।’’ 

चन्दा सहयोग जुटाएर तालिम दिनुका साथै नौमती बाजाका समानहरू खरिद गरेको उहाँले बताउनुभयो । महिलाले एउटै पहिरन रातो साडी, हरियो चोलो र  तिलहरी लगाएर नौमती बाजा बजाउँछन् ।  

महिलाले हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को, कर्लान र झ्याली लिएर नौमती बाजा बजाउँदै  अघि बढ्दा मुख्यमन्त्रीसहितका पाहुनाहरू अचम्ममा परेको बताएका छन् ।  

नौमती बाजा हामी सबैको संस्कृति हो, केन्द्रकी अध्यक्ष जिसीले भन्नुभयो, ‘‘गाउँघरमा नौमती बाजाको लोप हुन थालेपछि हामी महिलाले सिक्न थालेका हौँ । यो कुनै जातिविशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई महिलाले तोड्न थालेका छन् ।’’ 

नौमती बाजा संरक्षणका लागि महिलाले चन्दा सहयोग जुटाएर तालिमको व्यवस्था र बाजा खरिद गरेको महिला चेतना केन्द्रकी सहसचिव ज्योति मल्लले बताउनुभयो । नौमती बाजा बजाउन १५ जना महिलाको समूह छ । तालिम लिएका महिला सबैले बाजा बजाउन जानेका छन् । 

गाउँघरमा आयोजना हुने कार्यक्रममा नौमती बाजा बजाउने अवसर पाउँदा हौसला मिल्ने कर्नाल बजाउने कालिका परियारले बताउनुभयो । सुरुमा अहिले कठिन भए पनि अहिले बजाउन थालेकी छु उहाँले भन्नुभयो, ‘‘कर्नाल बजाउँदा सास पुगाउन कठिन हुन्छ । सिक्दै गरेकी छु, केही महिना बजाए भने मलाई विश्वास छ राम्रोसँग बजाउन सक्ने हुन्छु ।’’ 

महिला नौमती बाजाको संरक्षणमा जुटेकाले वडाले पनि सहयोग गर्ने सोच बनाएको जलजला गाउँपालिका –३ का वडाध्यक्ष एकिन्द्र खत्रीले बताउनुभयो . gorakhapatraonline

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP