२०८२ फाल्गुन २७
March 11, 2026, Wednesday

पाक्न लागेको धानमा ‘पोके’ र हावाहुरी

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको खेतमा पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

Advertisement

धानबालीमा डर लाग्दो मानिने गवारो, खैरो फड्के किरा र पोके रोग अहिले म्याग्दीको धानबालीमा देखा परेको छ । धान लहलह झुल्ने समयमा रोगको प्रकोपले धानको बाला नष्ट हुन थाल्दा धान उत्पादन घटने चिन्तामा किसान छन् । धानबालीमा प्रकोपकैरुपमा बाला नष्ट हुन थालेको बेनी नगरपालिका-२ बगरफाँटका खड्गबहादुर घिमिरेले बताउनुभयो ।

Advertisement

जिल्लाको बेनी नगरपालिकासहित रघुगङ्गा, मालिका, मङ्गला, अन्नपूर्ण र धवलागिरि गाउँपालिकाका धान उत्पादन हुने फाँटहरूमा गवारो र खैरे फड्के किराको प्रकोपका कारण धानको बाला नष्ट हुने र बोट हरियोमै सुक्दै जाने समस्या देखापरेको सम्बन्धित स्थानीय तहका कृषि प्राविधिकहरूले बताएका छन् ।

रैथाने धानको बीउ गौरिया, गुडुरा, ताकमारे, आँगा, जौधान लगाइएका ठाउँमाभन्दा आयातित विकासे बीउ रोपिएको धानका फाँटमा रोग र किराको समस्या बढी देखिएको मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत् बानियाँले बताउनुभयो ।

धानबाली भित्र्याउने अन्तिम समयमा देखा परेको रोगले यस वर्ष धान उत्पादन घटन सक्ने बगरफाँटका कृषक जीतबहादुर कार्कीको भनाइ छ । रत्नेचौर, बगरफाँट, फापरखेत, सीमालगायत बढी धान उत्पादन हुने फाँटमा लगाइएको धानबालीमा समेत गबाँरो, राते र खैरे थोप्ले रोगको प्रकोप देखापरेको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

गवारो र खैरे फड्के रोगको सङ्क्रमणबाट धानबाली जोगाउन सम्बन्धित पालिकाका कृषि प्राविधिक र किसानसँग रोगको नियन्त्रणबारे समन्वय भइरहेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । म्याग्दीका किसानमा पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति आकर्षण बढेको छ । हल गोरुको विकल्पमा मिनिट्रिलर हलो, ट्र्याक्टरको प्रयोग गर्न थालेका छन् । 

ठुला गरा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाइँ गर्न ट्र्याक्टर र मिनिट्रिलर प्रयोग गरेका छन् । गोरुले एक दिनमा जोत्ने खेत ट्र्याक्टर र मिनिट्रिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने बगरफाँटका कृषक भीमबहादुर रिजालले बताउनुभयो । गत वर्ष तीन हजार नौ सय २५ हेक्टरमा १३ हजार छ सय २६ मेट्रिकटन धान उत्पादन भएको थियो । तर यस वर्ष भने धान लगाउने समयमा रासायनिक मल र सिँचाइको अभाव हुनुका साथै धान भित्र्याउने समयमा भएको मौसमी प्रतिकूलता र रोग किराको प्रकोपका कारण उत्पादन घट्ने भएको छ ।

वर्षा र हावाहुरीबाट क्षति

असोज अन्तिम साताको बेमौसमी वर्षा र हावाहुरीका कारण जिल्लाको सयौँ हेक्टर क्षेत्रफलमा गरिएको धानबालीमा क्षति पुगेको छ । वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएपछि धान बालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् । 

पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि पानीले भिजेर क्षति पुगेको हो । जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनुका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।    

जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् । यस वर्ष धानमा रोग किराको प्रकोप नदेखिएको र सिँचाइको सुविधा पनि पुगेकाले विगतका वर्षका तुलनामा धान उत्पादनमा वृद्धि हुने अपेक्षा किसानले गरेका थिए । 

थन्क्याउने बेलाको बेमौसमी वर्षा र हावाहुरीका कारण धान बालीमा क्षति पुगेको बेनी नगरपालिका-२ ज्यामरुककोटका किसान नारायण सापकोटाले बताउनुभयो । म्याग्दीमा गौरिया, जेठो बुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले दुई लगायतका उन्नत जातका धानखेती हुने गर्छ । वार्षिक चार हजार मेट्रिकटन धान उत्पादन हुने केन्द्रको तथ्याङ्क छ । जिल्लाको उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । रासस  

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८० कार्तिक १२, आईतवार १०:०८

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८० कार्तिक १२, आईतवार १०:०८

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८० कार्तिक १२, आईतवार १०:०८

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP