२०८३ असार २६
July 10, 2026, Friday

श्रमदान जुटाएर कैलाशफाटको खेलमैदान स्तरोन्नति गरिदै


म्याग्दीको मंगला गाउँपालिका–५ कैलाशफाँटमा खेलमैदान निर्माणका लागि श्रमदान अभियान चलाइएको छ ।

म्याग्दी नदी किनारको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरि सम्माएर बनाइएको खेलमैदानलाई स्तरोन्नति गरि प्रयोग योग्य बनाउन श्रमदान अभियान सञ्चालन भएको हो । जनप्रतिनिधी, स्थानीयबासी, खेलाडी र विद्यार्थीहरुले श्रमदान गरेर खेलमैदान स्तरोन्नति गर्न लागिएको मंगला गाउँपालिका–५ का वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो ।

“चार वर्षअघि डोजरले जमिन सम्माउने काम भएपनि खेलमैदान प्रयोगमा आउन सकेको थिएन्,” उहाँले भन्नुभयो “यही पुष १५ गतेदेखि सञ्चालन हुने राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यही खेलमैदानमा सञ्चालन गर्ने योजना अनुसार श्रमदान अभियान चलाइएको हो ।”
पुष १ गतेदेखि शुरु भएको श्रमदान अभियान १२ गतेसम्म चल्ने बताइएको छ । गाउँपालिकाले जमिन सम्माउन डोजर परिचालन गरेको छ । खेलमैदानमा रहेका ढुङगा टिपेर व्यवस्थापन गर्ने, सम्माउने र स्टेज बनाउन म्याग्दी नदी किनारबाट ढुङ्गा ढुवानी गर्न श्रमदान अभियान चलाइएको हो ।

स–साना ढुङ्गा हटाउने, माटो राख्ने र खाल्डाखुल्डी पुरेर खेल्ने क्रममा चोट पटक नलाग्ने बनाउन लागिएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताका संयोजक समेत रहेका मंगला गाउँपालिका–१ का वडा अध्यक्ष एकजित रोकाले बताउनुभयो ।

युवा क्लव र आमा समूहको नेतृत्वमा दैनिक २० देखि ३० जना स्थानीयबासी श्रमदान अभियानमा सहभागि भएका छन् । बाबियाचौरको मंगला मावि, डनिङ आवासीय र छिस्वाङको शारदा माध्यमिक विद्यालयका विद्यार्थीहरुले विदाको दिन खेलमैदानमा श्रमदान गरेका छन् ।

खेलमैदान स्तरोन्नति र व्यवस्थित गर्न समुदाय तहबाट भएको सहभागिताले उत्साहीत बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद पौडेलले बताउनुभयो । सात दिनको अवधीमा खेलमैदानले स्वरुप लिएको छ ।

गण्डकी प्रदेशको एक स्थानीय तह, एक खेलमैदान कार्यक्रम मार्फत रु. १५ लाख बजेटबाट वि.स. २०७६ मा १२० मिटर लम्बाई र ७१ मिटर चौडाई भएको खेलमैदान बनाइएको थियो । खेलमैदानलाई कटानबाट बचाउन म्याग्दी नदीको किनारमा १२० थान ग्याबियन पर्खाल निर्माण गरिएको स्थानीय युवा श्यामसुन्दर कडेलले बताउनुभयो ।

गाउँपालिकाको केन्द्र बाबियाचौर, पिपलबोट, सहश्रधारा र रणवाङलाई पायक पर्ने ठाउँमा रहेको कैलाशफाँट नजिकै हालै झोलुङ्गे पुल निर्माण भएको छ । व्यवस्थित खेलमैदान अभावमा खेलकूद गतिविधि र प्रतियोगिता सञ्चालन गर्न समस्या भएको थियो ।

खेलाडीले खेलअभ्यास गर्न समस्या थियो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले विद्यालय परिसरमा खेलकूद गतिविधि सञ्चालन गर्दा पठनपाठन प्रभावित भएकाले खेलकूदका लागि वैकल्पिक स्थानमा खेलमैदान बनाउने अभियान चलाइएको बताउनुभयो । कैलाशफाँटको खेलमैदानलाई पालिका स्तरीय बनाउने योजना रहेको उहाँले बताउनुभयो ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP