२०८२ माघ २९
February 11, 2026, Wednesday

दरबाङ–धारापानी सडकको स्तरोन्नति भएपछि स्थानीयले नाचगान गरेर मनाए खुसीयाली

म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकखण्ड अन्तरगत दरवाङदेखि धारापानीसम्मको सडक स्तरोन्नति योजना सम्पन्न भएपछि उद्घाटन गरिएको छ । दरबाङदेखि धवलागिरी गाउँपालिका–७ धारापानीसम्मको करिब ७ किलोमिटर सडकलाई ग्राभेल, नाली निर्माण, ढलान र ग्रेड सुधार गरेर स्तरोन्नती गरिएको छ । सडकको ट्याक निर्माण भएको करिब १ दशक बढी समयपछि सडकको स्तरोन्नती भएपछि शनिवार सडकको उद्घाटन गरिएको छ भने धारापानीबासीले बाजागाजा सहित नाचगान गरेर खुसीयाली मनाएका छन् ।

Advertisement

सडकको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले उद्घाटन गर्नुभएको हो । उहाँले विकासको आधारभूत पूर्वाधार नै सडक भएकाले सडक स्तरीय भएसंगै धौलागिरि गाउँपालिकाका अधिकाँश नागरिकले सहज र सुरक्षित यात्रा गर्न सुविधा पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकासमा पछि परेको म्याग्दीमा यस बर्ष विकास आयोजनाहरु भित्रने क्रम बढेको बताउँदै सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधारलाई समयमै सम्पन्न गराउनतर्फ सबैले ध्यान दिनुपर्ने बताउनुभयो ।

Advertisement

उहाँले बादीकाको उकालो भिरमा सडकलाई ढलान गरेपछि जोखिमपूर्ण यात्रागर्नुपर्ने बाध्यता हटेको बताउँदै धारापानीदेखि ताकम हुँदै सिवाङ जोड्ने सडक समेत स्तरोन्नतीको लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयबाट बजेट विनियोजन भएर पूर्वाधार विकास कार्यालय, म्याग्दीबाट ठेक्का आह्वान भैसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नती हुँदा समग्र गाउँपालिकाको विकासमा नयाँ आयाम थपिएको बताउँदै थप कार्यान्वयन हुने योजनालाई समेत निर्धारित समयमै कार्यान्वयन गराउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सडक निर्माण अभियानका अगुवा खुमनाथ सुवेदी, रिमप्रकाश थापा, यमन रोका लगायतले स्थानीयको चन्दा संकलनबाट ट्याक निर्माण भएको अप्ठेरो भिर, पहाडको सडकलाई स्तरोन्नती भएपछि सहज भएको बताउँदै सडकको ट्याक निर्माण गर्दाका अप्ठेरो, अल्झन र संघर्षका बारेमा जानकारी गराउनुभएको थियो ।

बेनी–दरबाङ–धारापानी–मुना लुलाङ गुर्जा ढोरपाटन सडक योजना अन्तर्गत दरबाङ– धारापानी खण्डको सडक स्तरोन्नतिका लागि ठेक्कामार्फत कार्यान्वयन थालिएको योजना सम्पन्न भएको भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियर अर्जुन शर्माले बताउनुभयो ।

कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि प्रधुम्न कुँवरल कोरोनाका कारण समयमा काम सम्पन्न गर्न समस्या भएपनि पुनः थपिएको म्यादभित्र सडक स्तरोन्नतिका काम सम्पन्न गरेकोे बताउनुभयो । उहाँले आयोजनालाई सफल बनाउन समुदाय र सरोकारवालाहरुको सकरात्मक भूमिकाले समेत काम गर्न हौँसला र प्रोत्साहन थपिएको बताउनुभयो । कार्यक्रममा धवलागिरि गाउँपालिका–७ का वडा अध्यक्ष अशोक खत्रीले सडक स्तरीय भएपछि सवारी आवत जावतमा सहजता हुने बताउँदै सडकको सुरक्षामा सबै सजग बन्नुपर्नेमा जोड दिनुभयो । वडा अध्यक्ष खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा रुपक सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

दरबाङदेखि धारापानीसम्मको सडक स्तरोन्नती भएपछि साँघुरो, उकालो र जोखिमयुक्त सडकमा यात्रा गर्नुपर्ने बाध्यता हटेको छ । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोरोनाका कारण काम प्रभावित भएपछि दुई वर्ष ठेक्काको अवधि थपिएको थियो । थपिएको ठेक्का अवधिभित्र निर्माण व्यावसायीले योजना सम्पन्न गरेका छन् । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको योजना कार्यान्वयन गर्न पूर्वाधार विकास कार्यालय म्याग्दीले १४ करोड ३८ लाख ६७ हजार एकसय ७६ रुपियाँमा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते वहुवर्षीय ठेक्का सम्झौता गरेको थियो ।

योजना अन्तर्गत साँघुरो सडकलाई फराकिलो, साँघुरा घुम्तीलाई चौडा, बादिकाको भीर काटेर सडक फराकिलो पारी तीनसय मिटर ढलान, नाली निर्माण, ग्यावियन जाली लगाउने, कल्भर्ट निर्माण, कजवे निर्माण, टेवा पर्खाल गरी ७ मिटर चौडाइमा सडक ग्राभेल गरिएको । बादिकाको भीरमा आप्ठ्यारो जोखिमयुक्त सडकलाई फराकिलो बनाउन र ग्रेड मिलाउन भीर काटेर नयाँ ट्रयाक खोलिएको छ । बादिकाको अप्ठ्यारो भीरको करिब तीनसय मिटर सडक ढलान गरी सहज बनाइएको छ ।

यसैगरी धारापानीदेखि सिवाङसम्म सडक स्तरोन्नतिका लागि २५ करोड लागत अनुमान गरी योजना कार्यान्वनयका लागि बहुवर्षीय ठेक्का आह्वान गरिएको कार्यालयले जनाएको छ । योजना अन्तर्गत धवलागिरी गाउँपालिकाको केन्द्र मुना हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडकको धारापानी देखि ७ किलोमिटर अगाडि सिवाङसम्म सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न आगामी चैत महिनासम्म ठेक्का लगाइ योजना कार्यान्वयन थालिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले जानकारी दिनुभयो ।

Related News

एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
एमाले म्याग्दीको अन्नपूर्णमा घरदैलो र मतदाता भेटघाट
  • २०८० माघ २८, आईतवार ११:०४

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा मङ्गलवार अन्नपूर्ण गाउँपालिकामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम सुरु भएको...

जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
जनताको समस्या सुन्दै समाधानप्रति उम्मेदवार भण्डारीको प्रतिबद्धता
  • २०८० माघ २८, आईतवार ११:०४

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी)ले मतदाता प्रत्यक्ष...

म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
म्याग्दी : कांग्रेसका उम्मेदवार भण्डारी अन्नपूर्णमा घरदैलो गर्दै
  • २०८० माघ २८, आईतवार ११:०४

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार कर्ण बहादुर भण्डारी (केबी) सोमबार अन्नपूर्ण...

TOP