२०८२ बैशाख ११
April 24, 2025, Thursday

पर्यटन प्रवर्द्धनमा गलेश्वरधाम

डा. माधव अधिकारी बेनी नगरपालिका गण्डकी प्रदेशको म्याग्दी जिल्लामा अवस्थित छ । जिल्लाको सदरमुकाम रहेको यो नगरपालिका साबिकको अर्थुंगे, रत्नेचौर, ज्यामरुककोट, सिँगा, पुलाचौर, घतान, भकिम्ली र पात्लेखेत गाविसलाई समेटी बनेको पाइन्छ । यस नगरपालिकालाई विभिन्न १० वडामा विभाजन गरिएको पाइन्छ । यस नगरपालिकाको पूर्वमा कालीगण्डकी नदी र पर्वत जिल्ला, पश्चिममा मङ्गला गाउँपालिका, उत्तरमा रघुगङ्गा नदी र रघुगङ्गा गाउँपालिका र दक्षिणमा बागलुङ जिल्ला पर्छ । समुद्र सतहदेखि ८ सय ९९ मिटरदेखि २ हजार ३ सय मिटरसम्मको उचाइमा फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल ७६.५७ वर्गकिलोमिटर छ ।

Advertisement

बेनी नगरपालिका विविध जातजातिको बसोबास रहेको बहुधार्मिक, बहुसांस्कृतिक सम्पदा बोकेको रमणीय भूभाग हो । यस नगरपालिकाभित्र क्षेत्री, नेवार, थकाली, गुरुङ, मगर, विश्वकर्मा, दर्जी, किसान, मुसलमानलगायतका जातिको बसोबास रहेको छ । त्यस्तै यहाँ नेवारी, थकाली, गुरुङ, मगर आदि भाषा बोल्ने गरिन्छ । नेपालको जनगणना, २०७८ अनुसार यस नगरपालिकाको जनसंख्या ३२ हजार ६ सय ९७ छ भने महिलाको संख्या १७ हजार ३ सय ३६ र पुरुषको १५ हजार ३ सय ६१ रहेको छ ।

Advertisement

धार्मिक, प्राकृतिक तथा ऐतिहासिक दृष्टिकोणले धनी रहेको यो नगरपालिका नेपालकै प्रमुख पर्यटकीय गन्तव्य मुस्ताङ र ढोरपाटन सिकार आरक्ष मार्गमा पर्छ । यहाँका प्रमुख पर्यटकीय स्थलमा अर्जम भुमे मन्दिर, किम्माको थान, अर्जमकोट, ज्यामरुककोट (भकुन्डेकोट), लभ्लीहिल, उडाइनो झरना, भुमेथान, कन्थराथान, स्वर्गाश्रम बेलढुङ्गा, सिंगाकोट, तातोपानी कुण्ड, सोता बगर, डढेकोटको जगन्नाथ मन्दिर, पुलहपुलस्त्य आश्रम, ढोल्ठान दरबार, टोडेके क्षेत्र, पुलाकोट, राममन्दिर, बेनी भगवती मन्दिर, बलमुक्तेश्वर शिवालय, लक्ष्मीनारायण मन्दिर, महारानी थान, वेनी शिवालय, वेनीकोट भण्डार, गलेश्वरधाम क्षेत्र, भरतनाथ गुफा, कालीगण्डकी नदी, घतानकोट, तोरीपानीकोट आदि धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरू पर्छन् । यस लेखमा हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्र गलेश्वरधाम क्षेत्रका बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

गलेश्वर मन्दिर प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको धार्मिक तीर्थस्थल हो । एउटै चक्रशिलामा अवस्थित यस धाम बेनी बजारदेखि २ किलोमिटर उत्तरमा अवस्थित छ । गलेश्वरधामको इतिहास स्कन्द पुराणसँग जोडिएको छ । बाबु दक्ष प्रजापतिको यज्ञमा आफ्ना लोग्ने शिवको अपमान गरिएपछि जलिरहेको अग्निमा हाम फालेर आत्मदाह गरेकी सतीदेवीको लासलाई काँधमा बोकेर हिमालय पर्वततर्फ जाँदै गर्दा गला पतन भएको र त्यस ठाउँको नाम गलेश्वर रहन गएको स्कन्द पुराणमा उल्लेख छ ।

त्यस्तै, १९ औँ शताब्दीको अन्त्यतिर गलेश्वर बाबा नाम गरेका एक जना साधुले सानो कुटी र सानो कच्ची मन्दिर बनाई त्यस क्षेत्रमा बस्न थालेपछि गलेश्वर तीर्थस्थलको रूपमा चिनिँदै जान थालेको स्थानीय जानकारहरूको भनाइ छ । १९ औँ शताब्दीको अन्त्यताका यो क्षेत्र म्याग्दीका उत्तरी क्षेत्रका साथसाथै उत्तरमा भोट र दक्षिणमा भारतीय व्यापारीको सम्पर्क हुने ठाउँको रूपमा चिनिने इतिहासकारको भनाइ छ ।

पूर्वपट्टि कालीगण्डकी नदी, दक्षिणतर्फ बेनी बजार, उत्तरमा मुक्तिनाथ र पश्चिमतर्फ रावणको जन्मस्थान मानिने पुलस्त्य आश्रमको बीचमा अवस्थित गलेश्वर क्षेत्र अपार पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । लामो खडेरीमा पनि कहिल्यै पानी नसुक्ने र ठूलो वर्षामा पनि पानीको सतह घटबढ नहुने ढुङ्गामा मूल उम्रेर बनेको बराहा पोखरी, जडभरत गुफा, विशाल चट्टानमा जगबिना नै निर्माण गरिएको भगवान् शिवजीको भव्य मन्दिर, विष्णु मन्दिर, हवन कुण्ड, १ सय ८ शिवलिङ्ग, साँढेका विशाल मूर्ति, घण्टा यहाँका मुख्य आकर्षण हुन् ।

विश्वमा सूचना र सञ्चारको जगत्मा एक्काइसौँ शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । देशमा बढ्दो बेरोजगारीको समस्या समाधान गर्नका लागि धार्मिक पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनलाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूका आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

यो क्षेत्र प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र धार्मिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । धार्मिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण बेनी नगरपालिकामा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । त्यस्तै, बेनी नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरूलाई समावेश गरी तातोपानी कुण्ड, मुस्ताङ, ढोरपाटन सिकार आरक्ष आदि प्रख्यात पर्यटकीय स्थलहरूलाई सर्किटको रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

बेनी नगरपालिकाको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । पालिकाभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।

अतः प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस बेनी नगरपालिकाका बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।

Related News

मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना पालिका घोषित
  • २०८१ चैत्र ८, शुक्रबार ०३:२६

‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
  • २०८१ चैत्र ८, शुक्रबार ०३:२६

म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...

अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
अधिकृत बिक्रेता संघको शुभकामना आदानप्रदान
  • २०८१ चैत्र ८, शुक्रबार ०३:२६

धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...

TOP