२०८३ असार २७
July 11, 2026, Saturday

संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’

जिल्लाको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी गाउँभित्र भग्नावशेष अवस्थामा बाह्र सय वर्ष पुरानो ऐतिहासिक दरबार छ । पूरै सख्खर माटोले निर्माण भएको सात तलाको यो दरबार अहिले चार तलामा परिणत भएको छ ।

मुस्ताङको कागबेनीस्थित यस दरबारमा बसेर त्यसबेलाका राजाले शासन चलाउने गर्दथे । तत्कालीन समयमा दरबारमा बसेर जुम्लाबाट आएका राजाले राजकाज गरेको इतिहास रहेको स्थानीयवासी बताउँछन् । यस दरबार र यहाँ बसेर शासन गर्ने राजाको पर्याप्त सूचना भने अझै अनुसन्धानका क्रममा रहेको कागबेनीका स्थानीयको भनाइ छ ।

कागबेनी गाउँको गुजमुच्च एकापसमा ढुङ्गा र माटोले निर्मित पुराना घरको बिचमा ऐतिहासिक कागबेनी दरबार अवस्थित छ । यही दरबारमा बसेर त्यस समय जुम्लाबाट आएका राजाले लोमान्थाङका राजालाई चुनौती दिने गरेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले उल्लेख गर्नुभयो । मुस्ताङी राजाबाट पराजित भएपछि त्यसबेलाका राजाले दरबार छोेडेको भन्ने भनाइ रहेको उहाँले सुनाउनुभयो ।

पूर्वअध्यक्ष गुरुङका अनुसार जुम्लाबाट आएर शासन चलाएका त्यसबेलाका राजाले मुस्ताङको पान्डाखोलाबाट उपल्लो मुस्ताङको घिलिङसम्म शासन गरेका इतिहास छन् । त्यसबेलाका राजाले कागबेनीसहित फल्याक, धाकार्जुङ, पाक्लिङ, तिरी, पुराङ, झोङ, मुक्तिनाथ, छुसाङ, तेताङ, चैले, समर र घिलिङ गाउँसम्म आधिपत्य जमाएर शासन गरेका अभिलेखहरू रहेका उहाँले उल्लेख गर्नुभयो ।

“तत्कालीन राजाले कागबेनी दरबारमा बसेर प्रजाहरूसँग अत्याचार र दमन गर्दथे । हालको बारागुङ मुक्तिक्षेत्रलाई (ङ्ज्याप बारागुङ) भन्ने गरिन्थ्यो र राजाले प्रजालाई खाना दिएर काममा लगाउथे । राजाको आदेश पालना नगरेमा राजाले जनतालाई शारीरिक यातना दिएर सजाय पनि दिने गर्दथे भन्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो ।

उहाँले कागबेनीमा जुम्लाबाट आएका कुन राजाले शासन गरेका थिए भन्ने अहिलेसम्म खुल्न नसकेको बताउनुभयो । “हामीले यसको अभिलेख खोज्दैछौँ, धेरै विषयबा बारेमा स्रोत सङ्कलनको क्रममा छ”, पूर्वअध्यक्ष गुरुङले भन्नुभयो, “यो ऐतिहासिक दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने उद्देश्य छ । तर, गाउँपालिका र स्थानीयवासीबाट यसमा पर्याप्त सहयोग हुन सकिरहेको छैन ।”

करिब बाह्रसय वर्षअघि कागबेनी गाउँमा दूधको कुण्ड थियो । त्यही दूधकुण्ड मासेर त्यसबेलाका राजाले यहाँ एक सय आठ कोठा भएको साततले दरबार निर्माण गरेका कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले उल्लेख गर्नुभयो । पूरै सख्खर माटोले निर्माण भएको उक्त दरबार हावाहुरी र घामपानीले जीर्ण बन्दै जाँदा ढलेर चार तला मात्रै बाँकी रहेको उहाँको भनाइ छ ।

तत्कालीन समयमा निर्मित दरबारको जग करिब दुई मिटर बढी रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । राजाको दरबार बनाउँदा जगलाई याकले थिचेर निर्माण गरिएको भन्ने कथनहरू रहेका उहाँले बताउनुभयो ।

बारागुङ मुक्तिक्षेत्रमा महत्त्वपूर्ण सांस्कृतिक पर्व यार्तुङमा गीत गाउँदा यही दरबार हुँदा सुरु भएको भातिन गीत अझै प्रचलनमा रहेको अध्यक्ष गुरुङले बताउनुभयो । मुस्ताङमा यो गीत कागबेनीका स्थानीयले मात्रै यार्तुङ पर्वमा गाउने गरेका भन्दै त्यसबाहेक अन्य गाउँमा भने प्रचलनमा नरहेको उहाँले जानकारी दिनुभयो । “यार्तुङ पर्वमा कागबेनीका स्थानीयले गाउने यो गीतमा कागबेनी दरबारलाई सम्मान गरेर दरबार निर्माणका विषयवस्तु समेटिएका हुन्छन्”, उहाँले भन्नुभयो ।

कागबेनी भग्नावशेष दरबारभित्र माटोबाट बनाइएका गुरु रिन्पोर्छे र अन्य देवीदेवताका मूर्तिहरूसँगै भत्किएका दरबारको झ्याल ढोकाहरू दरबारभित्रै अझै सुरक्षित राखिएका छन् । दरबारको बाँकी तलामा स्थानीय कामदार बस्ने गरेका छन् भने भित्र पशुचौपायाको खोरजस्तो बनेको छ ।

प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको मुस्ताङको कागबेनीमा अवस्थित यो दरबारका बारेमा अधिकांश पर्यटक बेखबर छन् । ऐतिहासिकता झल्किने कागबेनी दरबारलाई उचित संरक्षण नहुँदा जीर्ण अवस्थामा पुगेको छ । साततले राजाको पुरानो दरबारमाथिको तीन तलाको केही भाग ठिङ्ग उभिएको छ । बाँकी चार तला पनि जीर्ण अवस्थामा छ ।

कागबेनी दरबार अहिले संरक्षणको पर्खाइमा छ । पुरानो दरबारलाई खोज तथा अनुसन्धान गरेर संरक्षण गर्नसकेमा यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने स्थानीय बताउँछन् । रासस

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP