२०८३ असार १०
June 24, 2026, Wednesday

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको बजेट पारित गरेको छ ।

Advertisement

गाउँपालिकाको केन्द्र मुनामा बुधबार सम्पन्न १७ औँ गाउँसभामा उपाध्यक्ष रेशम पुन मगरले प्रस्तुत गर्नुभएको बजेट सभाले सर्वसहमतिमा पारित गरेको हो । ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार र रोजगार ः समृद्ध धवलागिरी निर्माणको आधार’ भन्ने नारालाई कार्यान्वयन गर्ने लक्ष्यसहित बजेट ल्याइएको गाउँपालिकाले जनाएको छ ।

Advertisement

धवलागिरीलाई विकटको परिचय फेरेर सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनको विकासमार्फत समृद्ध गाउँपालिकाका रूपमा स्थापित गर्ने उद्देश्य बजेटले लिएको छ । गाउँपालिकाले आगामी वर्ष सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने, सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, खानेपानी, सिँचाइ तथा ग्रामीण विद्युतीकरणका अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्य तय गरेको अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पूर्वाधार विकासतर्फ मात्र रु ११ करोड ६५ लाख बजेट विनियोजन गरिएको छ, जुन गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक हो । बजेटअनुसार यस वर्ष वडा नम्बर ५ को भेडिखाल्टा गाउँसम्म मोटरबाटो विस्तार गरिने भएको छ । उक्त योजनाका लागि संघीय समपूरक अनुदान र गाउँपालिकाको साझेदारीमा रु एक करोड छ लाख विनियोजन गरिएको छ । गाउँपालिकाले सम्भावित पूर्वाधार आयोजनाको विस्तृत अध्ययन, डिजाइन तथा प्राविधिक तयारीका लागि समेत बजेट व्यवस्था गरेको जनाएको छ ।

निर्माणाधीन गाउँपालिका प्रशासकीय भवन सम्पन्न गर्न रु एक करोड ५० लाख बजेट छुट्याइएको छ । त्यस्तै पहाड ट्रष्टसँगको सहकार्यमा हेम माध्यमिक विद्यालयमा दश कोठे भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरिएको छ । गाउँपालिकाभित्रका सडकलाई वर्षभर सञ्चालनयोग्य बनाउन बाटो सरसफाइ शीर्षकमा रु एक करोड बजेट राखिएको छ ।

लुलाङ–गुर्जा सडकलाई स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउने लक्ष्यसहित प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रु एक करोड विनियोजन गरिएको छ । ताकम ढल ब्यवस्थापन योजनालाई रु। एक करोड बिनियोजन भएको छ । पालिका स्तरीय कबर्डहल निर्माणका लागि रु २० लाख बजेट छुट्याइएको छ ।

गाउँपालिकाले आर्थिक विकासतर्फ रु एक करोड चार लाख विनियोजन गरेको छ । कृषि क्षेत्रलाई आर्थिक विकासको मुख्य आधारका रूपमा लिँदै कृषि यान्त्रिकीकरण, बीउबिजन, बिरुवा, टनेल वितरण तथा आकस्मिक रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने भएको छ । जडीबुटी खेतीको सम्भावनालाई उपयोग गर्न यस क्षेत्रको विस्तारमा पनि जोड दिइएको छ ।

पशुपालन क्षेत्रमा देखिने आकस्मिक रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने र सहकारी संस्थालाई कोपोमिस प्रणालीमा आबद्ध गरिने बजेटमा उल्लेख छ । पर्यटनतर्फ पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा पूर्वाधार निर्माणका लागि बजेट व्यवस्था गरिएको छ ।

सामाजिक विकास क्षेत्रले सबैभन्दा बढी हिस्सा पाएको छ । यस शीर्षकमा रु २२ करोड २४ लाख ६० हजार विनियोजन गरिएको छ । शिक्षातर्फ पढ्दै कमाउदै, विद्यालयका दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइएको छ । स्थानीय पाठ्यक्रम निर्माण, विद्यालयस्तरीय मूल्याङ्कन, शिक्षक क्षमता विकास, सूचना प्रविधिमैत्री शिक्षा तथा प्रतिभा पहिचान कार्यक्रमका लागि बजेट व्यवस्था गरिएको छ ।

आर्थिक रूपमा विपन्न तथा भौगोलिक कठिनाइका कारण अध्ययनबाट वञ्चित विद्यार्थीलाई सहयोग गर्न हेम माध्यमिक विद्यालयको आवासीय छात्रावास व्यवस्थापनका लागि रु २० लाख विनियोजन गरिएको छ ।

ताकम माध्यमिक विद्यालयमा प्राविधिक शिक्षासँग सम्बन्धित छात्रावास निर्माणका लागि प्रदेश विशेष अनुदानअन्तर्गत रु ४० लाख विनियोजन गरिएको छ । युवा तथा खेलकुदतर्फ विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरिने र स्वरोजगार प्रवद्र्धनका लागि युवा तथा नवउद्यमीलाई अनुदान उपलब्ध गराइने भएको छ । सीप भएका तर प्रमाणपत्र नपाएका युवाको सीप परीक्षण तथा प्रमाणीकरण कार्यक्रमसमेत सञ्चालन गरिने बजेटमा उल्लेख छ ।

स्वास्थ्य क्षेत्रमा एलोपेथिक र आयुर्वेदिक औषधि व्यवस्थापन, स्वास्थ्य संस्थाको सुदृढीकरण, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन, मानसिक स्वास्थ्य कार्यक्रम तथा मातृ–शिशु स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने भएको छ । ‘दीर्घरोगीसँग अध्यक्ष’ र ‘सुनौला हजार दिनका आमासँग उपाध्यक्ष’ कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

खानेपानी तथा सरसफाइतर्फ पर्यटकीय क्षेत्र जलजलामा खानेपानी र शौचालय निर्माणका लागि रु नौ लाख विनियोजन गरिएको छ । स्वच्छ खानेपानी पहुँच विस्तारका लागि साझेदारीमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

महिला, बालबालिका, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पछाडि पारिएका समुदायको क्षमता विकास र आर्थिक आत्मनिर्भरताका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बालविवाह न्यूनीकरण तथा अपाङ्गता भएका व्यक्तिको आयआर्जनसँग सम्बन्धित कार्यक्रमसमेत सञ्चालन हुनेछन् ।

वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ८५ लाख विनियोजन गरिएको छ । विपद् जोखिम न्यूनीकरण, राहत, उद्धार, पुनस्र्थापना तथा वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिने भएका छन् ।

संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ रु १२ करोड ७३ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, ई–गभर्नेन्स प्रणाली कार्यान्वयन गर्ने, कर्मचारीको क्षमता विकास तथा सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था बजेटमा गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा संघीय सरकारको समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान, प्रदेश सरकारको अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय तथा सञ्चित कोषको मौज्दातबाट कुल रु ४८ करोड ५२ लाख तीन हजार आम्दानी हुने अनुमान गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो ।

उपाध्यक्ष पुन मगरले सीमित स्रोतसाधनका बीच पनि सडक, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा केन्द्रित रहेर नागरिकको जीवनस्तर सुधार गर्ने उद्देश्यका साथ बजेट निर्माण गरिएको बताउनुभयो। उहाँले बजेट कार्यान्वयनमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै समृद्ध धवलागिरी निर्माण अभियानमा सबैलाई सहभागी हुन आह्वान गर्नुभएको छ।

Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP