२०८० चैत्र १६
March 29, 2024, Friday

कैलाली ४ मा दुई डोटेलीको भिडन्त, ‘ह्याट्रिक’को दाउमा बलायर

कैलाली- सुदूरपश्चिम पश्चिम प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको जिल्ला हो कैलाली।

Advertisement

मंसिर ४ गतेको निर्वाचनको मिति नजिकिँदै गर्दा उक्त जिल्लाका ५ प्रतिनिधि सभा र १० प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेपनि अहिले धेरैको ध्यान कैलाली क्षेत्र नम्बर ४ मा केन्द्रित हुँदैछ।

सत्ता र विपक्षी गठबन्धनका प्रमुख दुई हस्तीहरुः नेपाली कांग्रेसका प्रदेश सभापति बीरबहादुर बलायर र माओवादी छाडेर एमाले प्रवेश गरेका नेता लेखराज भट्टबीच सोझो प्रतिस्पर्धा हुने अनुमान गरिएको उक्त क्षेत्रमा मंसिर ४ गते कसले बाजी मार्ला भन्ने कौतुहलताले उक्त क्षेत्र वा जिल्लामा मात्र होइन, राजनीतिमा चासो राख्ने देशभित्र र बाहिरको जमातलाई समेत आकर्षित गर्दैछ।

कैलालीका तीन स्थानीय तहहरुः चुरे गाउँपालिका, गोदावरी नगरपालिका, गौरीगंगा नगरपालिका र मोहन्याल नगरपालिकाको ५ नम्बर वडा समेटेर बनेको उक्त निर्वाचन क्षेत्रका १ लाख १० हजार ४ सय ५३ मतदाताले आगामी ५ वर्षका लागि प्रतिनिधि सभामा आफ्नो जनप्रतिनिधि चुन्दैछन्।

हुन त कैलालीमा पछिल्लो जातिय मुद्दामा आधारित घटनाको आडमा अगाडि बढ्दै गरेको नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कइयाँ चौधरीले पनि आफ्नो समुदायबीच प्रभाव जमाउँदैछन्। तर, विशेषगरी सांगठनिक पकडका हिसाबले बलायर र भट्टकैबीचमा सोझो प्रतिस्पर्धा हुन सक्ने बलिया आधारहरु स्थानीय जानकारहरु अघि सार्दछन्।

बलायर र भट्टको राजनीतिक पृष्ठभूमि हेर्ने हो भने, दुबैको पृष्ठभूमि निर्भिक, जुझारु र लडाकू खालको छ। फरक यत्ति हो, बलायरको लडाकूपन निरंकुश निर्दलीय पञ्चायती व्यवस्था होस् वा तत्कालिन राजा ज्ञानेन्द्र शाहको बहुदलीय प्रजातन्त्रमाथिको रक्तपातबिशिन कु (शाही कदम) दुबैलाई शान्तिपूर्ण जनआन्दोलन र विद्रोहको माध्यमबाट पनि परास्त गरी व्यवस्था परिवर्तन गर्न सकिन्छ भन्ने मान्यताबाट निर्देशित थियो र छ। भट्टको पृष्ठभूमि बहुदलीय प्रजातान्त्रविरुद्ध हिंसात्मक द्वन्द्ध गर्नेदेखि व्यक्तिगत लाभहानीको हिसाबले सिद्धान्त र आदर्शलाई जतिबेला पनि तिलाञ्जली दिएर जुनसुकै बेला दल अदलबदल गर्न सकिन्छ भन्ने मान्यता र व्यवहारमा आधारित देखिन्छ।

बलायर र भट्ट दुबैको जन्मथलो डोटी भएपनि भट्टले आफ्नो राजनीतिक कर्मथलो ०६४ को संविधान सभा निर्वाचनदेखि कैलाली ४ लाई बनाएर आएका थिए। जहाँबाट उनले तत्कालिन माओवादी पार्टीको तर्फबाट दुई पटक अर्थात ०६४ र ०७४ को निर्वाचन जितेर राष्ट्रिय राजनीतिमा सत्ता र शक्तिको उपभोग गर्ने अवसर पाए। भलै ०७० को दोस्रो संविधान सभामा उनी कांग्रेसकै पुराना नेता दीर्घराज भाटसँग पराजित हुन पुगेका थिए।

बलायर भने पछिल्लो राजनीतिक जोडघटाउको परिस्थितिले गृहजिल्ला डोटी छाडेर आफ्नो जग्गा जमिन र निवाससँगै आफ्ना दाजुभाईहरु बसोबास गर्दैआएकोे कैलाली ४ मा पहिलो पटक आफ्नो राजनीतिक भाग्य र भविश्यको परिक्षण गर्दैछन्।
यस आधारमा भन्ने हो भने, यी दुबै उम्मेदवार डोटीबाट बसाई सरेर आएका हुन्। फरक यत्ति हो, एउटा अलि अगाडि नै त्यो क्षेत्रलाई आफ्नो राजनीतिक भविश्य निर्माणका लागि उपयोग गर्न सफल भए भने अर्कोले अहिले परिक्षण गर्दैछन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा उक्त क्षेत्रका सबै उम्मेदवारहरु अहिले जनतामाझ आफ्ना चुनावी घोषणापत्र र संकल्प लिएर जाँदै गर्दा त्यस क्षेत्रमा कसको पडक कुन आधारमा बलियो छ भन्ने विश्लेषण गर्यो भने निर्वाचनपूर्व नै धेरथोर पूर्वानुमान लगाउन सकिन्छ।

हुनत, लेखराज यस क्षेत्रका जनताका लागि नयाँ अनुहार होइन तर, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापति बलायर पनि नौलो नाम होइन। उनले विद्यार्थी जीवनकालमै त्यस क्षेत्रकै ग्वाँसी माध्यमिक विद्यालयमा अध्यापन गराएर प्रजातान्त्रिक आन्दोलनको क्रममा त्यहीबाट जेल परेका व्यक्ति हुन्। त्यस हिसाबले पनि उनीहरुबीच टक्कर ज्यादा छ।

विगतका चुनावमा भएको मतदाताको साथ र समर्थनका हिसाबले हेर्ने हो भने, सर्वहारा वर्गको नाममा राजनीति गर्दैआएका भट्टले त्यस क्षेत्रमा रहेका मुक्त कमैया, सुकुम्बासी, हलिया, दलीत, थारु लगायतको भोटमा करिब करिब एकलौटी कब्जा जमाउँदै आएका थिए। भलै पढे लेखेका र विचारका आधारमा संगठित कतिपय उक्त समुदायका मानिसहरुले कांग्रेसलाई पनि मत दिँदै आएका थिए।

तर, अहिले परिस्थिति बदलिएको छ। करिब १७ हजारको हाराहारीमा रहेको उक्त भोट यसपटक नागरिक उम्मुक्ति पार्टीका उम्मेदवार कइयाँ चौधरीले अधिकाधिक चोइट्याउने सम्भावना प्रवल हुँदैछ। पेशाले वकिलका रुपमा परिचित चौधरी ०५२ सालमै तत्कालिन राष्ट्रिय सभा सदस्यमा राजाबाट मनोनित सांसद पनि हुन्।

यस हिसाबले भट्टको भोट बैंकका रुपमा रहेको त्यो समुदायबाट घाटा बलायरलाई भन्दा भट्टलाई नै बढी हुने अनुमान स्थानीयबासीको छ।

अर्कोतर्फ तत्कालिन माओवादी स्थायी कमिटी सदस्यका रुपमा भट्टको पहिले जुन परिचय जनतामाझ थियो, त्यो उनी एमालेमा प्रवेश गरिसकेपछि स्वतः घटेको छ। एकातिर, पूर्व माओवादी नेता, कार्यकर्ताको साथ र समर्थन पनि उनले गमाइसकेका छन् भने अर्कोतर्फ पुराना एमाले नेता, कार्यकर्ता पनि उनका पछिल्ला निर्णयबाट सन्तुष्ट छैनन्।

एमालेभित्रैका नेता, कार्यकर्ताले समेत उनीमाथि नातावाद, कृपावाद र अवरवादको आरोप लगाउँदैछन्। यसरी आरोप लगाउनुको मुख्य कारण उनीहरु गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा भट्टले गरेको टिकट वितरणलाई लिने गर्दछन्।

खासगरी गोदावरी नगरपालिकाको प्रमुख पदमा भट्टले पार्टीभित्र कार्यकर्ताको मूल्याङ्कन पद्धतीभन्दा बाहिर गएर आफ्नै भाई गोकर्ण भट्टलाई टिकट दिएको मात्र होइन, अत्तरियामास्थित वडा अध्यक्ष पदमा पनि आफ्नै भाई पर्ने परमानन्द भट्टलाई टिकट दिएको देखि गौरीगंगाका केही वडामा पनि टिकट विगतरणमा काखा, पाखा गरेको आरोप छ।

यसरी भएको भेदभावको बदलामा एमाले कार्यकर्ताहरुले स्थानीय तहमा भट्टका उम्मेदवारलाई पराजित गरेर मात्रै रोकिने वाला छैन। अहिले पनि कतिपय पुराना एमाले नेता, कार्यकर्ता भट्टको विपक्षमा कोही खुलेर त कोही भित्रभित्रै लागिरहेको स्थानीय बासिन्दाको दाबी छ।

त्यतिमात्र होइन, प्रदेश सभा सदस्यको टिकट वितरणमा पनि एमालेभित्र ठूलै असन्तुष्टि रहेको छ। प्रदेशको चुनावमा बाजुराबाट झरेका एमालेका स्थानीय नेता मानसिंह रावल बलिया दाबेदार थिए। तर, उनको नाम काटेर भट्टले प्रदेश (क)मा भीमबहादुर देउवा र प्रदेश (ख)मा हरिसिंह साउदलाई उम्मेदवार बनाए। दुबै जना निवर्तमान नगर प्रमुखहरुले यसअघिको कार्यकालमा कतिपय विवादस्पद निर्णय गरेको कारण पनि आगामी निर्वाचनमा त्यसको असर भट्टलाई पर्ने देखिन्छ।

अर्कोतर्फ सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा बेग्लै पहिचान बनाउन सफल एमाले पूर्व उपाध्यक्ष भीमबहादुर रावलमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएर गरेको अन्याय र विभेदले पनि सुदूरपश्चिममा एमालेलाई नोक्सानी गर्दैछ। त्यसमाथि पनि रावलको विकल्पका रुपमा ओलीले अघि सारेका भट्टलाई रावलको साथ खुल्ला रुपमै नरहने अवस्थामा त्यसको फाइदा बलायरलाई नै पुग्ने अनुमान गरिँदैछ।

यसका अतिरिक्त अछाम, डोटी लगायतका पहाडी जिल्लाबाट बसाई सरेर आएका मतदातामाझ पनि बलायरकै पकड पछिल्लो समय बढि हुँदै गएको त्यहाँका राजनीतिकर्मी, बुद्धिजिवी र संचारकर्मीहरुको दाबी छ।

उता, चुनावी गठबन्धनको सवालमा सत्ता गठबन्धनभित्रको एउटा दल माओवादीभित्र केन्द्रदेखि तल्लो तहसम्म नै पार्टीले जारी गरेको उर्दी अनुसार त्यस क्षेत्रमा जेजति माओवादी नेता, कार्यकर्ता र मतदाता छन् उनीहरु अरु भन्दा बढी कटिबद्ध र इमान्दार देखिएका छन्। जसको फाइदा अन्तःत बलायरलाई नै हुने देखिन्छ।

अघिल्लो चुनावमा एमाले र माओवादीबीचको गठबन्धनका कारण भट्टले कांग्रेसका उम्मेदवार सुनील भण्डारीलाई १० हजार ३ सय ९९ मतको अन्तरले पराजित गरेका थिए।

तर, अहिले गठबन्धनको चुनावी सूत्र बदलिएको छ। एमाले नेतृत्वको गठबन्धनविरुद्ध कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन चुनावी मैदानमा उत्रिएको छ। जसको साझा उम्मेदवार बलायर छन्।

यसका अतिरिक्त भट्टप्रति पटक पटक सांसद र मन्त्री बनेर पनि क्षेत्रको पूर्वाधार विकास र जनताको पक्षमा भन्दा पनि व्यक्तिगत स्वार्थ र अवसरवादी चरित्र देखाउँदै भाइभतिजा र नातागोता सिमित रहेको आरोप छ।

हुनतः कांग्रेसभित्र पनि केही असन्तुष्टि नभएको होइन। तर, त्यो अहिले विस्तारै व्यवस्थित हुँदै गएको प्रमाण त्यस क्षेत्रबाट टिकटका आकांक्षी सुनील भण्डारीले बलायरकै पक्षमा खुलेर मत मागिसकेको र अहिले क्षेत्र नम्बर ५ का उम्मेदवार डिल्ली पन्तलाई जिताउन लागिपरेको घटनालाई देखाउँछन्।

अर्कोतर्फ यस क्षेत्रमा पर्ने दुई नगरपालिका, एक गाउँपालिकाका अतिरिक्त मोहन्याल नगरपालिकाको वडा नम्बर ५ मा हालै सम्पन्न स्थानीय तह निर्वाचनको परिणामले पनि एमालेका उम्मेदवार भन्दा कांग्रेस नेतृत्वको गठबन्धनकै पल्ला भारी देखिन्छ।

चुरे गाउँपालिका प्रमुखमा एमालेले प्रमुख पदमा बाजी मारेपनि उपप्रमुखसहित अधिकांश वडामा कांग्रेस र माओवादीको बर्चश्व छ भने गोदावरीमा कांग्रेसले बहुसंख्यक वडासहित प्रमुखमा र गौरीगंगामा माओवादी उम्मेदवारले भारी मतअन्तरले प्रमुख जितेका थिए।

यसरी समग्र मतपरिणामको आधारमा हेर्ने हो भने, गत स्थानीय तह निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनले ३२ हजार ७ सय ७७ भन्दा बढी मत पाएको छ भने एमालेले केबल २१ हजार १ सय ६१ मत पाएको छ। जुन, यसअघि ०७४ को निर्वाचनको ठिक उल्टो परिणाम हो।

त्यस आधारमा पनि अहिले यो क्षेत्रबाट भट्ट भन्दा बलायर नै बलिया उम्मेदवार देखिन्छन्। जुन, अबको ४ दिनसम्म अपत्यारिलो र अनपेक्षित ढंगले घुन, पुत्ला केही लाग्न हुँदैन।

Related News

म्याग्दीमा शैक्षिक सत्र सुरु नहुँदै भित्रियो पाठ्यपुस्तक
म्याग्दीमा शैक्षिक सत्र सुरु नहुँदै भित्रियो पाठ्यपुस्तक
  • २०७९ मंसिर १, बिहीबार १६:१७

म्याग्दीमा आगामी शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताको कारण दुर्गम गाउँका विद्यालयहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने समस्यालाई...

१५ महिनापछि बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो
१५ महिनापछि बेनी–मालढुङ्गा सडक निर्माणले गति लियो
  • २०७९ मंसिर १, बिहीबार १६:१७

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ । Advertisement...

रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई
रत्नेचौरमा बेनी नगरपालिकाको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई
  • २०७९ मंसिर १, बिहीबार १६:१७

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले वडा नम्वर १ रत्नेचौरमा चालु आर्थिक वर्षको दोस्रो चौमासिकको प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम...

TOP