२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

धौलागिरि चक्रीय पदमार्गको विकासमा प्रदेश, पालिका र व्यवसायीको चासो

संसारको सातौ (८१६७) मिटर अग्लो धौलागिरि हिमाललाई फेरो लगाउने चक्रीय पदमार्गको विकास र प्रर्वद्धनमा गाउँपालिका, प्रदेश सरकार र पर्यटन व्यवसायीले चासो देखाएका छन् ।

Advertisement

ओझेलमा परेको म्याग्दी स्थित धौलागिरि चक्रीय पदमार्गमा पूर्वाधार विकास र प्रर्वद्धनका लागि सरकार र निजी क्षेत्रले साझेदारी गर्ने विषयमा पोखरामा छलफल भएको हो । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा अवस्थित छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जाली, धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकीङ व्यवसायी एजेन्सीज एसोशियसन (टान)का पदाधीकारीहरुबीच सोमबार पोखरामा छलफल भएको हो ।

Advertisement

टान गण्डकी प्रदेशका अध्यक्ष धर्म पन्थीले धौलागिरि चक्रीय पदमार्गलाई नयाँ गन्तब्य बनाउन छलफल गरिएको बताउनुभयो । “गण्डकीको पुरानो अन्नपूर्ण चक्रीय पदमार्ग छोटिएपछि धौलागिरिलाई वैकल्पिक नयाँ गन्तब्यको रुपमा विकास गर्नुपर्ने आवश्यकता महशुस गरेर पालिका र प्रदेश सरकारसँग छलफल गरेका हौ,” उहाँले भन्नुभयो “पालिका, प्रदेश र संघीय सरकारले पूर्वाधार बनाउने, हामी निजी क्षेत्रले प्रर्वद्धनको काम गर्ने योजना बनाएका छौ ।”

पर्यटन मन्त्री जुग्जालीले पर्यटकको चाहना र आवश्यकता अनुसार धौलागिरि, ढोरपाटन शिकार आधार, अन्नपूर्ण आधार शिविर लगायत नयाँ गन्तब्यमा पर्यटक भित्र्याउन पूर्वाधार विकासमा पालिका र संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताउनुभयो । सडकले छोटिएका पुराना पदमार्गको विकल्पमा नयाँ गन्तब्यको खोजी, विकास र प्रर्वद्धन गर्ने नीति प्रदेश सरकारले लिने उहाँको भनाई थियो ।

धवलागिरी गाउँपालिकाका अध्यक्ष पुनले पालिकाको सिमित स्रोतले नभ्याउने भएको हुँदा धौलागिरि चक्रीयमा पूर्वाधार बनाउन प्रदेश र संघीय सरकारको साथ चाहिएको बताउनुभयो । म्याग्दीको दरवाङ, मुदी, बगर, दोभान हुदै धवलागिरी आधार शिविर भएर मुस्ताङ निस्कने धौलागिरि चक्रीय पदमार्गको भ्रमण र धौलागिरि हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या न्युन छ ।

आरोहीहरु हेलिकप्टरबाट सिधै आधार शिविर पुग्ने र फर्कने हुँदा पदमार्गमा पर्ने गाउँलेले लाभ लिन पाएका छैनन् । पदमार्ग, पुल, आवास, खानेपानी र सञ्चार सुविधा विस्तारका लागि गाउँपालिकाले पहिलो चरणमा डिपिआर तयार पार्न लागेको उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

साइनबोर्ड, सूचना पाटी राख्ने काम तत्कालै गर्नुपर्ने पर्यटन व्यवसायीले सुझाएका छन् । अत्याधुनिक प्रविधिको सञ्चार सुविधा विस्तार गर्ने विषयमा पनि छलफल भएको उपाध्यक्ष पुनले बताउनुभयो ।बगर, नाउरामा घरबास तथा सल्लाघारी, दोभान र इटली आधार शिविरमा चिया पसल सञ्चालन गरेका छन् । आवास सुविधाका लागि होटेल सञ्चालन नहुँदासम्म यस पदमार्ग क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ । वर्षमा करिब २०० पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् ।

मनोरम हिमशृङ्खलासँगै अग्ला झरना, जङ्गलको एकान्त वातावरण, नजीकै देखिने झारल, प्राकृतिक तातोपानी कुण्ड, भिरमह शिकार, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रीय पदमार्गको मुख्य आकर्षण हो ।

 
भिर र जङ्गलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन पछिल्लो पाँच वर्षमा प्रदेश र संघीय पर्यटन मन्त्रालयले रु. दुई÷दुई करोड भन्दा बढी लगानी गरेका छन् । गाँउपालिकाले पनि यो पदमार्गको पूर्वाधारमा करिब रु. एक करोड भन्दा बढी खर्चिएको छ ।

१२ स्थानमा झोलुङ्गेपुल र तीन स्थानमा साना कल्भर्ट निर्माण गर्न स्थलगत अध्ययन गरेर आवश्यकता पहिचान गरिएको गाउँपालिकाले जनाएको छ । पर्यटकको तथ्याङ्क राख्न, सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधार शिविरमा चेक पोष्ट सञ्चालनका लागि भवन बनाइएको छ । देउरालीमा बिटिएस टावर राखेर बगरसम्म मोवाइल सेवा विस्तार गरिएको छ ।  

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ फाल्गुन २, मंगलवार १४:११

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ फाल्गुन २, मंगलवार १४:११

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ फाल्गुन २, मंगलवार १४:११

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP