२०८१ असार २
June 15, 2024, Saturday

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो छ । पर्यटक याममा दैनिक ३५० जनाको हाराहारीमा समेत विदेशी पर्यटक आउने अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल, घोडेपानी क्षेत्रमा यो बर्षको पर्यटकयाममा १५० जनाको हाराहारीमा मात्रै विदेशी पर्यटक भित्रिए ।  

Advertisement

पछिल्ला बर्षहरुमा घोडेपानीका होटल व्यवसायीहरुले पर्यटकहरुलाई लक्षित गरेर सुविधासम्पन्न होटल खोल्ने लहर नै चलेको छ । पुराना होटल व्यवसायीहरुले होटलको क्षमता र सुविधा बढाएका छन् । पहिले छाप्रोबाट होटल सुरु गरेका व्यवसायीहरुले अहिले घोडेपानीमा पक्की नै घर बनाएर सुविधायुक्त होटल सञ्चालन गरिरहेका छन् ।

होटलको क्षमता र सुविधा विस्तारले पर्यटकहरुलाई सुविधा पुगेपनि पुनहिल क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकहरुको सख्ंया घट्दै गएको घोडेपानीका पुराना होटल व्यवसायी क्याप्टेन डमबहादुर गर्वुजा पुनले बताउनुभयो । ‘‘घोडेपानीमा एक दिनमा १ हजार २ सय जनालाई सहजै रुपमा खाना र बसोबासको प्रवन्ध मिलाउन सक्ने क्षमता छ, व्यवसायीहरुले पनि होटल क्षेत्रमै सुविधा बढाउन र स्तरीय बनाउन लगानी गरिरहेका छन्, तर विदेशी पर्यटकहरु आउने संख्या हरेक बर्ष घट्दै गएको छ ’’–उहाँले भन्नुभयो ।

गत साउनदेखि मंसिर दोस्रो सातासम्म पुनहिल क्षेत्रमा १२ हजार ३६१ जना विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । विगतका बर्षहरुको तुलनामा यस बर्षको विदेशी पर्यटकको संख्या कम रहेको होटल व्यवसायीहरु बताउँछन् । घोडेपानी पुनहिल क्षेत्रमा विदेशी पर्यटकहरुको संख्या घट्नुको प्रमुख कारण कच्ची सडकले पदमार्गलाई विस्थापित गर्नुलाई मानिएको छ । जर्मनका १२ जना पर्यटकहरुलाई पुनहिल क्षेत्रको भ्रमणमा ल्याउनुभएका मल्टीएडभेन्चर कम्पनीका डाइला शेर्पाले अन्नपूर्ण पदमार्ग क्षेत्रमा बढ्दो कच्ची सडक र धुलोको कारण विदेशी पर्यटकहरुको आकर्षण घट्दै गएको बताउनुभयो ।

विगत २० बर्षदेखि अन्नपूर्ण लगायतका मुलुकका विभिन्न क्षेत्रमा पर्यटक घुमाउने काममा सक्रिय शेर्पाले पदमार्गलाई मास्ने र विस्थापित गर्ने गरि खनिएका सडकका कारण पुराना स्थापित पर्यटकीय गन्तव्यहरुमा विदेशी पर्यटकहरुको रोजाई घट्दो रहेको बताउनुभयो । ‘‘ विदेशीहरु नेपालको रमणीय डाँडाकाँडा र पहाडहरुमा पदयात्रा गर्न आउने हुन, अब सडकले सबै पदमार्गलाई विस्थापित गर्दै खनिएका छन्, कच्ची सडकमै पर्यटकहरुलाई धुलो धुवा खुवाएर हिडाउनुपर्छ, यो उनीहरुलाई मन पर्ने कुरा भएन, त्यसैले सडकले विस्थापित भएका ट्रेकिङ ट्रेलहरुलाई सडकले नछुने गरि पुननिर्माण गर्न जरुरी छ’’– उहाँले भन्नुभयो । उहाँका अनुसार, चक्रिय अन्नपूर्ण पदमार्ग क्षेत्रमा सडक विस्तारले पदमार्ग विस्थापित भएका छन भने पर्यटकको यात्रा अवधि समेत छोटिएको छ ।
पुनहिलबाट सूर्योदय र हिमशृङ्खलाको अवलोकन गरि फर्कदै गर्नुभएकी अमेरिकी पर्यटक ग्योरीले प्राकृतिक सुन्दरताले भरिएको यो क्षेत्रलाई पदमार्ग मासेर खसेका सडकको धुँवा र धुलो समस्याको रुपमा देखिएको अनुभुति सुनाउनुभयो । ‘‘ हामी पहिलो पटक यहाँ आएका हौँ, पुनहिल साँच्चीकैको रमणीय रहेछ, यहाँबाट देखिने हिमशृङ्खला र सूर्योदयले मनै लोभ्याएको छ, तर यहाँ आइपुग्दा पदयात्रामा सडकको धुलो र धुँवाले हामीलाई नमज्जा लाग्यो’’–उहाँले भन्नुभयो ।
सडकको पहुँचले आन्तरिक पर्यटकहरुको आगमन भने बढ्दो छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–शिख –चित्रे हुँदै घोडेपानी सम्म सडक पुगेपनि देशका विभिन्न स्थानका विद्यालय, कार्यालय, संघ संस्था, समूहहरुबाट पुनहिल क्षेत्रको भ्रमणमा पुग्नेहरु बढेका छन् । आन्तरिक पर्यटकहरु बढेपनि समग्रमा पर्यटन क्षेत्रको प्रभाब विदेशी पर्यटकहरुमै निर्भर हुने भएकाले विदशी पर्यटकहरुको आगमन घट्दै जाँदा पर्यटन व्यवसायीहरु चिन्तित छन् । पुनहिल घोडेपानी पुग्ने पुरानो पदमार्ग मध्येमा पर्ने पोखरेबगर–घार–शिख–चित्रे–घोडेपानी पदमार्ग पूर्ण रुपमा सडकले विस्थापित गरेको छ ।
यो पदमार्गमा आउने पर्यटकहरुलाई लक्षित गरि दुरविनडाँडा, घार, शिख लगायतका क्षेत्रमा खोलिएका होटलहरु पूर्ण रुपमा बन्द भैसकेका छन् । घोडेपानी पुनहिल पुग्ने मुख्य पदमार्गहरुमध्ये कास्कीदेखि उल्लेरी हुँदै आउने पदमार्ग समेत अधिकाँश सडकले मासिएको भन्दै पथप्रदर्शकहरु चिन्तित छन् । सडक विस्तार गर्दा पदमार्गलाई जोगाउने गरि सडकको नक्सांकन र विस्तार गर्न उनीहरुले माग गरेका छन् । घोडेपानीमा कास्कीको घान्द्रुक भएर आउने पदमार्गका साथै अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग हुँदै मोहरेडाँडा र फुलवारी हुँदै समेत पर्यटकहरु पुग्ने गर्छन ।RSS

Related News

सडक आश्रित मानव उद्धारमा सक्रिय सामाजिक विकास कार्यालय म्याग्दी
सडक आश्रित मानव उद्धारमा सक्रिय सामाजिक विकास कार्यालय म्याग्दी
  • २०८० मंसिर २२, शुक्रबार १२:४०

म्याग्दीको सामाजिक विकास कार्यालय म्याग्दीले सडक आश्रित मानवको उद्धारमा सक्रिय भएको छ । बिहिबार पुनः एक भारतीय नागरिकको उद्धार गरेको...

मंगलाका ३२ द्वन्द्वपीडितलाई सम्मान
मंगलाका ३२ द्वन्द्वपीडितलाई सम्मान
  • २०८० मंसिर २२, शुक्रबार १२:४०

म्याग्दीको मंगला गाउँपालिका भित्रका ३२ द्धन्द्धपीडित परिवारलाई सम्मान गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा द्धन्द्धपीडित अधिकार मञ्च, द्धन्द्ध महिला राष्ट्रिय...

अन्नपूर्ण गाउँपालिका उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मानित
अन्नपूर्ण गाउँपालिका उत्कृष्ट ५ कृषक र एक समुहलाई नगदसहित सम्मानित
  • २०८० मंसिर २२, शुक्रबार १२:४०

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले उत्कृष्ट कृषकलाई नगद पुरस्कार सहित सम्मानित गरेको छ । आइतबार १० औं कृषक दिवसको अवसरमा उत्पादनमा आधारित...

TOP