म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरमा ‘मंगला इन्द्रेणी पार्क’ उद्घाटन गरिएको छ । मंगला गाउँपालिका–२ बावियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिकाको एक करोड, गण्डकी प्रदेश सामाजिक विकास कायालर्यको संग्राहलय निर्माणमा १६ लाख र जेष्ठ नागरिक बिश्राम स्थलका लागि ७ लाख र डिभिजन वन कार्यालयको १८ लाख आर्थिक सहयोगमा पार्क निमाण भएको हो ।
आइतवार एक समारोहका बिच उक्त पार्कको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका र जग्गादाता अधिकारीले उद्घाटन गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा शुरु गरिएको पार्कको निर्माण कार्य सकिएपछि औपचारिक रुपमा खुला गरिएको हो ।

पार्कमा संग्राहलय, खानेपानी, गार्डेन, बाल उद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, सौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकहरुको आकर्षण र स्थानीय बालबालिका, युवायुवति र ज्येष्ठ नागरिकहरुको फुर्सदको समयलाई उचित सदुपयोगका लागि पार्क सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।
पार्कको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ ।
स्थानीय मौलिक संस्कृति र परम्परागत सामाग्रीको संरक्षणका लागिसंग्राहलय समेत स्थापना गरिएको छ । पार्क बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले ३ रोपनी, १५ आना, ३ पैसा २ दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो । त्यसैगरि थप पाँच आना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु १ लाख र मंगला युवा क्लबले रु २ लाख आर्थिक सहयोग गर्नुभएको थियो ।

आइतवार पार्क उद्घाटनको अवसरमा जग्गादाता र सहयोगदातालाई सम्मान समेत गरिएको छ । बाजागाजा सहित बावियाचौर बजार परिक्रमा पश्चात पार्कमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवार संगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मंगला युवा क्लबका पदाधिकारीहरुलाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । आफु जन्मेर हुर्केको ठाउँमा दिर्घकालिन उपयोगका लागि जग्गाको आबश्यकता परेपछि समग्र मंगलाको समृद्धिमा सघाउने उदेश्यले आर्थिक रुपमा महंगो पर्ने जग्गालाई आफुहरुले निःशुल्क दान गरेको जग्गादाता इन्द्रबहादुर अधिकारीले बताउनुभयो ।
पार्कलाई निःशुल्क जग्गा दिने इन्द्रबहादुर अधिकारीको सम्मानमा पार्क परिसरमा अधिकारीको अर्धकदको सालिक बनाइएको छ भने संग्रहालयको नाम ‘मंगला खड्ग नन्द संग्रहालय’ नामाकरण गरिएको छ ।

म्याग्दी नदी किनारमा निर्माण भएको पार्क स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महशुस हुने गरी निर्माण गरिएको छ । पार्कलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । पार्क सञ्चालनमा आएसंगै मंगलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

पार्कको उद्घाटनको पूर्वसन्ध्यामा सहयोगदातालाई पञ्चेबाजामा बावियाचौर बजार परिक्रममा गरिएको थियो । उद्घाटन समारोहमा मंगला माविका प्रधानध्यापक गमबहादुर खत्री, गाउँपालिकाका प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष एकजित रोका, पूर्व गाउँपालिका उपाध्यक्ष सिर्जना केसी लगायतले बोल्नुभएको थियो । सोही अवसरमा पहिलो स्थानीय तहको निर्वाचनमा विजय भएका जनप्रतिनिधिलाई समेत सम्मान गरिएको थियो । उक्त कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले गर्नुभएको थियो ।




गाउँमा सामाजिक र खेलकुद कार्यमा सक्रिय म्याग्दीको मंगला गाउँपालिका–१ पूर्ण गाउँमा रहेको युवा क्लबले स्थानीय स्तरमा उत्पादन हुने बस्तु र...
हिमाली जिल्ला म्याग्दीमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका शिक्षा मन्त्री महाविर पुन सहित १३ जना उम्मेदवारले मनोनयन दर्ता...
बेनी, : बेनीमा आइतबार सम्पन्न पहिलो ‘बि।सि।एस।एस।’ कप जिल्ला स्तरीय अन्तर विद्यालय छात्र÷छात्रा भलिबल प्रतियोगिताको उपाधी राष्ट्रिय मावि र आयोजकले...