२०८३ श्रावण १२
July 28, 2026, Tuesday

१३ वर्ष विदेश बसेर फर्किएपछि किबी खेतीमा रमाउँदै

म्याग्दी – बिहान उठेपछि बारीमा पुगेर किबी खेती हेर्नु, चराचुरुङ्गी धपाउनु र किबीको स्याहारसुसार गर्नु एक किसानको दैनिकी हो । किबीलाई समय समयमा गोडमेल, सिचाइँ, मलमुत्रको व्यवस्थापन पनि गर्नुपर्दछ । यसका साथै व्यावसायिक रुपमा कृषि खेती गरेका किसानहरुले नगदेबालीको विशेष हेरचाह गर्ने गर्दछन् ।
यही किबी खेतीको व्यावसायिक उत्पादनमा लाग्नुभएका म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली मुसुङका किसान लालबहादुर घर्ती हिजोआज किबी खेतीको स्याहारसुसारमा निकै व्यस्त हुनुहुन्छ । उहाँले विदेशका विभिन्न मुलुकमा पुगेर रोजगारी गरेर गाउँ फर्किएपछि तीनवर्ष अघिदेखि किबी खेती सुरु गर्नुभएको थियो । उहाँले १० वर्ष ओमान र ३ वर्ष साउदीअरब बसेर घर फर्किएर स्याउ र किबी खेती लगाउनुभएको हो ।
विदेशबाट फर्किएको सुरुमा ५० बोट स्याउ खेती गर्नुभएका कृषक घर्तीले स्याउबाट भने जस्तो उत्पादन नभएपछि किबी खेती गरेको जानकारी दिनुभयो । उहाँले तत्कालीन कृषि विकास कार्यालय म्याग्दीबाट अनुदानमा स्याउका विरुवा लगेर लगाए पनि स्याउले खासै उत्पादन दिन सकेन ।

Advertisement

गाउँका अरु किसान साथीभाइले स्याउ लगाएको देखेपछि आफूले पनि स्याउ खेती गरेको उहाँको भनाइ छ । तर विदेशबाट फर्किएलगत्तै गरेको स्याउ खेतीबाट पनि प्रतिफल राम्रो आएन ।
वि.सं. २०५१ सालमा ओमान जानुभएका किसान घर्ती १० वर्षसम्म त्यहाँ बसेपछि २०६१ सालमा घर फर्किनुभएको थियो ।

त्यसपछि ३ वर्ष साउदीअरब जानुभयो र फर्किएर पुनः ओमान जानुभयो । ओमानमा कार्पेन्टर काम गर्ने भनेर गएको भए पनि कम्पनीले कहिले उँट त कहिल भेडा चराउन जङ्गल पठायो । उहाँले ओमानमा एक महिना उँट र भेडा चराएपछि कम्पनीको काम गर्न मन लागेन अनि आफ्नै खर्चमा टिकट काटेर घर फर्किनुभयो ।

धेरै धन कमाउने लोभमा पुनः ओमान गएर पनि एक महिनामै घर फर्किनु परेपछि व्यावसायिक रुपमा फलफूल खेतीतर्फ आफू आकर्षित भएको घर्ती बताउनुहुन्छ । उहाँले सुरुमा स्याउ खेती गर्नुभयो, त्यसपछि किबी ।
कृषि विकास कार्यालयबाट स्याउका विरुवा ल्याएर लगाएको तर उत्पादन राम्रो नभएपछि २०७६ सालमा किबी खेती सुरु गरेको घतीले जानकारी दिनुभयो । उहाँले भकिम्ली वडा कार्यालयबाट अनुदानमा किबीका १ सय ५० बोट र कृषि ज्ञान केन्द्रबाट एकलाख ५० हजार रुपैयाँको अनुदान सहयोग पाएपछि व्यावसायिक किबी खेती गरेको बताउनुभयो । उहाँको अहिले ७ रोपनीको बारीमा कोदोसँगै किबी लटरम्मै फलेको छ ।

किसान घर्तीका अनुसार स्याउ र किबी खेतीका लागि हालसम्म पाँचलाख रुपैयाँभन्दा बढी लगानी भएको छ । उहाँले मनोज पशुपन्छी तथा जडिबुटी कृषि फर्म दर्ता गरेर सोही फर्ममार्फत फलफूल खेती गरिरहनुभएको छ ।
किबीसँगै किसान घर्तीले डिभिजन वन कार्यालय म्याग्दीको अनुदान सहयोगमा १ सय ५० बोट टिम्मुरका विरुवा पनि लगाउनुभएको छ । कोदोसँगै किबी लगाउनुभएका घर्तीले बारीको छेउछाउ र बारमा टिम्मुर खेती लगाएको बताउनुभयो ।

मुसुङमा उत्पादित किबी बोटबाटै प्रतिकेजी दुईसय पचास रुपैयाँको दरमा बिक्री हुने गरेको छ । गत वर्षदेखि उत्पादन दिन सुरु भएको किबी म्याग्दी सदरमुकाम बेनीबजार हुँदै बागलुङ, पर्वतको कुश्मा र पोखराको बजारसम्म पुग्ने गर्दछ । भकिम्लीको मुसुङसहित सिम, भुकभुके, छापलगायत स्थानका किसानहरुले व्यावसायिक रुपमा किबी खेती गर्दै आएका छन् ।
स्वास्थ्यका हिसाबले निकै पोषिलो मानिने किबी फल धेरै फल्नुका साथै उत्पादन गर्न सहज हुने भएकाले यसले बजार पनि सजिलै पाउँछ । यसको फल अण्डा आकारको खैरो रङको मसिनो झुसले ढाकेको हुन्छ ।

लहरामा फल्ने किबी हरेक वर्ष फागुन चैतमा पूmल फुल्ने र कात्तिक, मंसिरमा पाकेपछि टिप्ने गरिन्छ । किबीमा भिटामिन सी, इ, के र अन्य खनिज पदार्थहरु पाइने कृषि प्राविधिकहरु बताउँछन् । समुन्द्री सतहको एक हजार मिटरदेखि २५ सय मिटरको उचाइसम्म किबी खेती हुने गरेको छ ।
हिमाली जिल्ला म्याग्दीमा पछिल्लोपटक व्यावसायिक रुपमा किबी खेती लगाउने किसानहरुको सङ्ख्या बढ्दै जान थालेको छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको अधिकांश ठाउँमा नगदेबाली किबीलगायत फलफूलहरुको उत्पादन हुने गर्दछ ।

फलफूल खेतीमध्ये उत्कृष्ट मानिने किबी खाँदा निकै स्वादिलो र रसिलो हुने भएकाले यसको माग बजारमा उच्च रहेको छ । ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP