२०८३ भाद्र २
August 18, 2026, Tuesday

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।

Advertisement

दुई दशकअघि ट्रयाक खुलेको उक्त सडक अहिले रघुगङ्गा गाउँपालिकाभित्र निर्माणाधीन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनाहरुको सहयोगमा सडक स्तरोन्नति सहित कालोपत्रे योजना सुरु गरिएको हो । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक अन्तर्गत घुमाउने ताल देखि गाउँपालिका केन्द्र मौवाफाँट जोड्ने करिब ६ किलोमिटर चारसय मिटर सडक कालोपत्रे गर्न लागिएको हो ।

रघुगङ्गामा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको प्रवर्धक नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ८० प्रतिशत र पालिका भित्र निर्माण सम्पन्न भएका र निर्माणाधीन अन्य जलविद्युत आयोजनाहरुको २० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नतिसहित कालोपत्रे योजना अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो ।

योजना अन्तर्गत घुमाउने तालदेखि पिप्ले हुँदै पालिका केन्द्र मौवाफाँट चोकसम्म कालोपत्रे र त्यहँदेखि बुक्ल–बाँधस्थल खण्डको सडक ग्राभेल सहित खोल्साहरुमा कलभर्ट निर्माण गरिने योजना छ । साँघुरो,जिर्ण र कच्ची सडकलाई, घुम्ती सुधार,नाली,पर्खाल तथा ग्यावियन निर्माण गरी फराकिलो पारेर कालोपत्रे योजना थालिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो।

जलविद्युत् आयोजनाहरुले पहुँच मार्गका रुपमा प्रयोग गरेको सडक स्तरोन्नतिका लागि गाउँपालिकाले धेरै प्रयास गरेपछि अहिले आएर सार्थकता पाएको उहाँले बताउनुभयो । गाउँपालिकाको संयोजनमा एकवर्ष अघि  भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको छलफलमा जलविद्युत् आयोजनाले पहुँच मार्गको रुपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाए अनुसार कालोपत्रेको योजना अघि बढेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

अहिले रघुगङ्गा हाइड्रोपावर कम्पनीले सडक फराकिलो पार्ने,नाली निर्माण र सबबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । उहाँका अनुसार राहुघाट जलविद्युत आयोजनाले कालोपत्रे गर्ने काम बाहेकका सम्पूर्ण कामहरु गर्ने र अन्य जलविद्युत आयोजनाहरुले कालोपत्रे गर्ने खर्चको २० प्रतिशत लागत ब्यहोर्ने गरी सम्झौता भएको छ । आगामी कार्तिक १५ गते सम्म सडक स्तरोन्नतिको काम सक्नुपर्ने आयोजनासँग लिखित सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।

करिब दुईदशक अघि मार्ग खुलेको यो सडक रघुगंगा गाउँपालिका भित्र सञ्चालित जलविद्युत आयोजनाहरुले पहुँच मार्गका रुपमा प्रयोग गरेका थिए । सडक स्तरोन्नति सहित कालोपत्रे भएपछि गाउँपालिकाका एक देखि ८ नम्बर वडाका सर्वसाधारणहरुलाई सदरमुकाम बेनी आवतजावत गर्न सहज हुने जिल्ला समन्वय समितिका पूर्व प्रमुख तथा रघुगङ्गा निवासी देवेन्द्रबहादुर केसीले बताउनुभयो ।

पालिका केन्द्र मौवाफाँट देखि दग्नाम,चिमखोला हुँदै कुइनेमंगले सम्म नै जलविद्युत आयोजनाहरुले सडक स्तरोन्नति गर्नका लागि पालिकाले पहल गर्नुपर्ने उहाँको भनाइ छ ।

रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा अहिले ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मंगले, २१.३ मेगावाटको ठूलोखोला, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’ लगायतका आयोजनाहरू सञ्चालनमा छन् ।  निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा आइपुगेको छ । gorakhaptra

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP