नेपाली कांग्रेस म्याग्दीले ४४औँ विपी स्मृति दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ। बेनी नगरपालिका–७ स्थित संगमचोकमा रहेको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा विपी स्मृति दिवससँगै क्रियाशील सदस्यता अद्यावधिक अभियान तथा ‘कांग्रेसको जरा अभियान’को समापन गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा म्याग्दीका लागि पार्टी प्रतिनिधि चन्द्रबहादुर पहरे मगरले नेपाली कांग्रेस सधैं जनताको पक्षमा उभिएको पार्टी भएको बताउनुभयो। उहाँले वर्तमान परिस्थितिमा पनि कांग्रेस जनताको हित र अधिकारका लागि निरन्तर सक्रिय रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता अद्यावधिक अभियान उत्साहजनक रूपमा सम्पन्न भएको बताउनुभयो।

त्यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य तथा म्याग्दीका निवर्तमान पार्टी सभापति रेशमबहादुर बानियाँले अहिले कांग्रेस गाउँ–गाउँ र जनताको आँगनसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई जनतासँग अझ नजिक भएर उनीहरूका समस्या, अपेक्षा र आवश्यकताका पक्षमा सक्रिय हुन आग्रह गर्नुभयो।
कार्यक्रममा क्रियाशील सदस्यता अद्यावधिक अभियानको उपलब्धि, ‘कांग्रेसको जरा अभियान’ अन्तर्गत भएका गतिविधि तथा अभियानको समग्र समीक्षा गर्दै औपचारिक रूपमा समापन गरिएको थियो।
कार्यक्रम नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन पार्टी सचिव भरतबहादुर रकालले गर्नुभएको थियो।कार्यक्रममा अन्य पार्टीका नेताहरुले समेत बोलेका थिए ।




