२०८३ श्रावण ७
July 23, 2026, Thursday

सिम-पानाबगर खण्डमा कालोपत्र सुरू

पश्चिम म्याग्दीको लाइफलाइन बेनी–दरबाङ सडक आयोजनाको दोस्रो सिम–लाम्पाटा खण्डमा शनिबारदेखि कालोपत्र गर्न थालिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर–रणवाङको सिमानासम्म सडक कालोपत्र गर्न लागेको हो ।कार्यालयका सडक इञ्जिनियर सञ्जय सुवेदीले सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न सिमतर्फबाट प्राइम कोट (बिटुमिन) बिछ्याउन थालिएको जानकारी दिए । ‘डिबिएसडी प्रविधिको कालोपत्र गर्न चिप्स बिछ्याउनुभन्दा २४ घण्टा पहिले प्राइम कोट राखिएको हो’, उनले भने, ‘सिमदेखि तोराखेत हुँदै माटेबगरसम्म एकतर्फी एक हजार तीन सय मिटरमा प्राइम कोट बिछ्याउने काम सकिएको छ ।’

Advertisement

विसं २०६१ मा मार्ग खुलेको सडक दुई दशकपछि कालोपत्र गर्ने तयारी भएको जनाइएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किमी आठ सय मिटर सडक कालोपत्र गर्न विसं २०७८ पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गर्न लागिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताए । तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुको विवादले करिब एक सय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उनले बताए ।

अठार महिनाको ठेक्का अवधि रहेको सो सडक तीन वर्षमा सम्पन्न हुन लागेको हो । चालु आवमा रु चार करोड बजेट विनियोजन भएको यो खण्डको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किमी दूरीको बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा विसं २०६३ मा सडक पुगेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP