२०८३ असार १५
June 29, 2026, Monday

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास

राकेश शर्मा
म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१ गुर्जाको दुर्गमता बारेमा सहजै बुझ्न सकिन्छ । केही समयअघिसम्म पैदल यात्रा नै एकमात्र विकल्प रहेको गुर्जामा अहिले सवारीसाधन पुग्न थालेपछि केही सहजता आएको छ । तर, दुर्गम भूगोलका बीच पनि यहाँका स्थानीय अहिले उद्यमशीलताको अभ्यास गर्दै आत्मनिर्भरताको बाटो समात्न थालेका छन् ।
धवलागिरि गाउँपालिका–१ गुर्जाका किसानले सामूहिक रूपमा व्यवसायिक तरकारीखेती गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत किसानहरूले जग्गा भाडामा लिएर सामूहिक तरकारीखेती थालेका हुन् । गाउँमा ताजा तरकारीको उत्पादन बढाउने, बाहिरबाट हुने आयात घटाउने र स्थानीयसँगै पर्यटकलाई अर्गानिक तरकारी उपलब्ध गराउने उद्देश्यले सुरु गरिएको यो अभियानले दुर्गम गाउँमा उद्यमशीलताको नयाँ सम्भावना देखाएको छ ।

Advertisement

गुर्जाकी रेशकुमारी छन्त्यालका अनुसार करिब चार रोपनी जग्गा भाडामा लिएर २१ जनाले बन्दा, खुर्सानी, गोलभेँडालगायतका तरकारीखेती गरिरहेका छन् । प्रगति लघुउद्यमी समूहकी अध्यक्षसमेत रहेकी छन्त्यालका अनुसार गाउँमा आवश्यक पर्ने ताजा तरकारी उपलब्ध गराउने उद्देश्यले सामूहिक खेती सुरु गरिएको हो । ‘गुर्जामा आवश्यक पर्ने ताजा तरकारी आपूर्तिका लागि सामूहिक खेती गरेका हौँ।’ उहाँले भन्नुभयो, ‘तरकारी आयात घटाउने, स्थानीयवासी र गुर्जा घुम्न आउने पर्यटकलाई ताजा तथा अर्गानिक स्वाद पस्किने उद्देश्यले खेती गरिएको हो ।

Advertisement

हिमालको काखमा भएकाले भनेजस्तो उत्पादन हुन सकेको छैन, तर खेतीलाई निरन्तरता दिएका छौँ ।’ उहाँका अनुसार गाउँपालिकाले दिएको उद्यमशीलता तालिमले नै सामूहिक खेती गर्ने आत्मविश्वास दिएको हो । ‘पहिले त यस्तो हिमाली भेगमा पनि के तरकारी खेती गर्न सकिएला र भन्ने लागेको थियो । पालिकाबाट तालिम लिएपछि आँट आयो र तरकारी खेती सुरु गर्यौँ । धवलागिरि–१ का वडाध्यक्ष झक छन्त्यालका अनुसार परीक्षणका रूपमा गरिएको खुर्सानी खेती सफल भएपछि समूहमार्फत अन्य तरकारीखेती विस्तार गर्ने प्रयास गरिएको हो। तर, मौसम र भौगोलिक अवस्थाका कारण अपेक्षाअनुसार प्रतिफल भने प्राप्त हुन सकेको छैन ।

गाउँ–गाउँमा उद्यमशीलता विस्तार गर्ने प्रयास

धवलागिरि गाउँपालिकाले गुर्जामा मात्रै सीमित नरही पालिकाभित्र उद्यम गर्न चाहने र सम्भावना भएका अन्य गाउँका नागरिकलाई पनि विभिन्न तालिममार्फत उद्यमशीलतासँग जोड्ने प्रयास गरिरहेको छ ।
गाउँपालिकाको लघुउद्यम शाखामार्फत गरिबी न्यूनीकरणका लागि लघुउद्यम विकास कार्यक्रम, नयाँ उद्यमी सिर्जना, उद्यमशीलतामा सामाजिककरण, प्राविधिक सीप विकास तथा प्रविधि हस्तान्तरण लगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । यी कार्यक्रममार्फत वित्तीय पहुँच विस्तार र बजारीकरणमा समेत सहयोग प्रदान गरिँदै आएको छ ।

लघुउद्यम शाखाकी प्रमुख सुस्मा विकका अनुसार चालु आर्थिक वर्षमा मुनामा ५० जनालाई आठ दिने उद्यमशीलता तालिम प्रदान गरिएको छ । नागरिकको मागका आधारमा उक्त तालिम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार २०८० सालमा मुनामा २२ जनालाई पाँच दिने च्याउखेती सम्बन्धी तालिम पनि प्रदान गरिएको थियो । ‘तालिम लिएका उद्यमीहरूले केही समय त तालिमको ऊर्जाले पनि उद्योग गर्छु, आफू आत्मनिर्भर बन्छु भन्ने सोचेर काम सुरु गर्नुहुन्छ, तर त्यसलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सक्नु भएको छैन ।’ विकले भन्नुभयो। धवलागिरि जस्तो दुर्गम ठाउँमा उद्यमशील बन्नुपर्छ भन्ने सोचको विकास अझै भइसकेको छैन ।

लघुउद्यम शाखाका अनुसार २०८० यता नयाँ उद्यमी बन्ने उद्देश्यले करिब ३०० जनालाई उद्यमशीलता तालिम प्रदान गरिएको छ। तर तालिमपछि दीर्घकालीन रूपमा व्यवसाय सञ्चालन गर्ने र उद्यम दर्ता गर्नेको संख्या भने अपेक्षाअनुसार बढ्न सकेको छैन । चालु आ.वमा पालिकाले १८ जनालाई आठ दिने उद्यमशीलता तालिम र ५० जनालाई सीप विकास तालिम प्रदान गरिसकेको छ । आगामी दिनमा ५०–५० जनालाई दुवै तालिम सञ्चालन गरेर उद्यमशीलतामा थप सक्रिय बनाउने योजना रहेको शाखाले जनाएको छ ।

शाखा प्रमुख विकका अनुसार चालु आर्थिक वर्षमा नयाँ व्यवसाय सञ्चालन गर्नका लागि सीप विकास तालिम लिन १६ जना छनोट भएका थिए । उक्त तालिम फलिया गाउँमा सञ्चालन गरिने छ ।
गुर्जामा सामूहिक तरकारीखेती मात्र नभई सिस्नोको पाउडर बनाउने सम्बन्धी गरिबी निवारण कार्यक्रम पनि सञ्चालन गरिएको थियो । चालु आर्थिक वर्षमा गुर्जाका लागि स्तरउन्नति कार्यक्रममार्फत बजेटसमेत विनियोजन गरिएको छ ।
लघुउद्यम शाखाका अनुसार पालिकाले सञ्चालन गर्ने कार्यक्रममध्ये तरकारीखेती, सिस्नोको धुलो बनाउने, बाख्रापालन, मुडा बुन्ने तथा साबुन बनाउने तालिमको माग बढी हुने गरेको छ ।

लघुउद्यम विकास कार्यक्रममा आदिवासी, जनजाति तथा विदेशबाट फर्किएका नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने नीति रहे पनि गाउँको अवस्थाका कारण त्यो पूर्ण रूपमा कार्यान्वयन गर्न कठिन हुने गरेको छ । संघीय सरकारमार्फत प्राप्त बजेटमा गाउँपालिकाले शतप्रतिशत थप गरेर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तालिमलाई व्यवहारमा उतार्नु नै चुनौती

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माका अनुसार कार्यक्रम सञ्चालनअघि आवश्यकताको सूक्ष्म अध्ययन, अनुगमन र प्रभावकारिताको मूल्याङ्कन गरी मात्रै योजना अघि बढाइन्छ । ‘दुर्गम गाउँपालिकाभित्रका अधिकांश बस्तीहरू दुर्गम क्षेत्रमा पर्ने भएकाले यहाँ उद्यम गर्ने नागरिक खोज्न निकै कठिन हुने गरेको छ । तालिम लिनुहुन्छ, तर त्यसलाई व्यवहारमा लागू गराउने मुख्य चुनौती रहेको छ ।’ शर्माले भन्नुभयो ।

गाउँपालिकाले नागरिकको आवश्यकता र मागका आधारमा तालिम सञ्चालन गरे पनि त्यसलाई व्यवहारमा रूपान्तरण गराउन अझै चुनौती कायमै छ । तद्यापि पालिकाले वडा मार्फत समेत यस्ता कार्यक्रमहरु संचालन गरेर व्यवसायीरकणमा जोड दिएको छ । ‘हामीले नागरिकको आवश्यकताका आधारमा नै तालिम सञ्चालन गर्छौँ, तर उहाँहरूले तालिमलाई व्यवहारमा लागू गर्न सक्नु हुन्न अधिकृत शर्माले भन्नुभयो ।’ यहाँको भूगोल र बजारिकरणको पनि मुख्य चुनौती रहेकाले यस्ता समस्या उत्पन्न भएका हुन् ।

व्यवसायीकरणबाट आत्मनिर्भर बनाउने लक्ष्य

धवलागिरि गाउँपालिकाले हरेक वर्ष नीति तथा कार्यक्रममार्फत नागरिकलाई व्यवसाय र स्वरोजगारमा जोड्ने प्रयास गरिरहेको छ । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनका अनुसार रोजगारी सिर्जना र व्यवसायीकरणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन हुँदै आएको छ । ‘हामीले हरेक वर्ष पालिकाका नागरिकलाई व्यवसायमा केन्द्रित गर्न नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेका छौँ । तर उहाँहरूको सक्रियता अपेक्षाअनुसार हुन सकेको छैन ।’ अध्यक्ष पुनले भन्नुभयो ।

उहाँका अनुसार प्रत्येक नागरिकलाई व्यवसायी र स्वरोजगार बनाउन सके गाउँपालिकाको आन्तरिक आम्दानीसमेत बढ्ने विश्वासका साथ विभिन्न कार्यक्रम सञ्चालन गरिएको हो । ‘हामीले हरेक नागरिकलाई व्यवसायी र स्वरोजगार बनाउन सकेमा पालिकाको पनि आन्तरिक आम्दानी बढ्छ भनेर पहल गरेका छौँ, तर त्यसलाई प्रभावकारी बनाउन सकेका छैनौँ।’ उहाँले भन्नुभयो ।

अध्यक्ष पुनका अनुसार कतिपयले व्यवसाय दर्ता पनि विदेश जान सहज हुने सोचका साथ मात्रै गर्ने गरेका छन् । त्यसैले आगामी वर्ष व्यवसाय दर्ता तथा नवीकरणलाई सहज बनाउन विशेष शिविर सञ्चालन गर्ने योजना गाउँपालिकाले बनाएको छ । धवलागिरि गाउँपालिकाले सञ्चालन गरिरहेका उद्यमशीलतामूलक कार्यक्रमहरूले दुर्गम क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने प्रयास गरिरहेका छन् । तर, तालिमलाई व्यवहारमा रूपान्तरण गर्ने, व्यवसायलाई दीर्घकालीन रूपमा टिकाइराख्ने र उद्यमशील संस्कृतिको विकास गर्ने चुनौती अझै कायम छ । यद्यपि गुर्जामा सुरु भएको सामूहिक तरकारीखेतीले भने दुर्गम गाउँमा पनि अवसर सिर्जना गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ । स्थानीय सरकार, नागरिक र सम्बन्धित निकायबीचको सहकार्य अझ प्रभावकारी बन्न सके यस्ता कार्यक्रमले स्वरोजगार, उत्पादन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिकाAdvertisement म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

पालिकाको तालिमको प्रभाव ः विदेशबाट फर्केर गाउँमै सम्भावना खोज्दै युवाहरु
पालिकाको तालिमको प्रभाव ः विदेशबाट फर्केर गाउँमै सम्भावना खोज्दै युवाहरु
  • २०८३ असार १२, शुक्रबार ०२:४२

राकेश शर्मा म्याग्दीको ग्रामीण भेगका गाउँमा घर छन्, तर घरधनी छैनन् । खेतीयोग्य जमिन प्रशस्त छ, तर त्यो जमिन सदुपयोग...

TOP