२०८३ श्रावण ११
July 27, 2026, Monday

सुदूरपश्‍चिमबाट एमाले शून्य हुँदै, यस्तो छ प्रतिनिधि सभाका १६ वटै सिट गुमाउने आँकलन

काठमाडौं- नेकपा एमाले यही मङ्सिर ४ गते हुने निर्वाचनमा नराम्रोसँग पराजय व्यहोर्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको घमन्ड, विरोधीहरूलाई पाखा लगाउने षड्यन्त्र, आन्तरिक विवाद, कमजोर सङ्गठन र प्रतिस्पर्धामा सत्ता गठबन्धन लगायतका कारणहरूले यस पटक नेकपा एमालेको पराजय निश्चितजस्तै बनेको एमालेकै नेताहरु बताउन थालेका छन् । यसमा ओली पनि सहमत भएको बुझिएको छ ।

Advertisement

सुदूरपश्चिमका १६ वटै क्षेत्र गुमाउने आँकलन गरेका ओलीले आफ्ना उम्मेदवारहरूलाई सान्त्वना दिनका लागि दोस्रो पटक पनि चुनावी कार्यक्रम गर्ने भएका छन् । पहिलो चुनावी कार्यक्रममा डा भीमबहादुर रावलमाथि खनिएका ओली अब फरक रणनीति लिएर सुदूर जान लागेको स्राेत बताउँछ । उनले मतदातालाई फकाउनका लागि दोस्राे सभा गर्न लागेको पनि ओली निकट नेताले बताएका छन् ।

गठबन्धन कसिलो भएपछि प्रतिरक्षा गर्दै एमाले

देशभरमा सबैभन्दा बलियो सङ्गठन भएको सुदूरपश्चिम नै यस पटक नेकपा एमाले शून्य हुने दाबी गरिएको छ। सुदूरपश्चिम १६ वटा प्रतिनिधि सभा क्षेत्रमध्ये नेकपा एमालेले दुई वटा क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट आएका व्यक्तिहरूलाई उम्मेदवार बनाएको छ भने एक जिल्लामा एमालेको उम्मेदवार नै छैन ।

ओलीले सुदूरपश्चिमका प्रभावशाली नेता डा भीमबहादुर रावललाई पाखा लगाउन खोज्दा पार्टीको सङ्गठन नै ध्वस्त बनेको छ। अछाम-१ मा एमालेले भीम रावललाई टिकट नदिएर माओवादी केन्द्रबाट आएका झपट बोहरालाई टिकट दिएपछि व्यापक असन्तुष्टि रहेको छ। उक्त असन्तुष्टिका कारण सयौँ नेता-कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।

बाजुरामा ओलीका विश्वास पात्र कर्णबहादुर थापा उम्मेदवार बनेका छन् । जहाँ प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे मैदानमा छन् । यसअघि वाम गठबन्धन हुँदा पनि झिनो मतान्तरले कांग्रेस उम्मेदवार पराजित भएका थिए । यस पटक स्थानीय तहको नतिजा र सत्ता गठबन्धन हुँदा थापा निकै कमजोर अवस्थामा छन् ।

त्यसै गरी बझाङमा ओलीले विवादित ऐन महरलाई टिकट दिएको भन्दै पार्टीभित्र नै ठूलो असन्तुष्टि रहेको छ। यसअघि नेकपा एमालेमा रहँदा प्रभावशाली नेताको हैसियत बनाएका भानुभक्त जोशी अहिले नेकपा एकीकृत समाजवादीबाट गठबन्धन उम्मेदवार बनेका छन् । जोशी आफ्नै बलियो पकड रहेको छ। महरको पहिलो चुनाव भएका कारण पनि उनलाई यस पटक निकै सङ्कट रहेको छ।

दार्चुलामा उम्मेदवार गणेश ठगुन्नाविरुद्ध नेपाली काँग्रेसका प्रभावशाली नेता दिलेन्द्रप्रसाद बडू उम्मेदवार बनेका छन् । वाणिज्य मन्त्रीसमेत रहेका बडूले यो चुनाव जित्ने निश्चित भएपछि केपी ओली राष्ट्रवादको गफ दिन दार्चुला नै पुगेका थिए । ओली पुगे पनि उक्त कार्यक्रममा एमालेका धेरै नेताहरू नै सहभागी भएनन् ।

बैतडीमा एमालेले दामोदर भण्डारीलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनबाट नरेन्द्र कुँवर उम्मेदवार रहेका छन् । बैतडीमा कांग्रेस बलियो अवस्थामा छ भने माओवादी दोस्रोमा छ। पहिलो र दोस्रो मत रहेको कांग्रेस र माओवादी मिल्दा एमालेको पराजय निश्चित बनेको छ।

डडेल्धुरामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेका छन् । उक्त जिल्लामा नेकपा एमालेले कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्ललाई समर्थन गरेको छ। मल्लको त्यहाँ खास महत्त्वपूर्ण प्रभाव नभएका कारण प्रधानमन्त्री देउवाको जित कुनै पनि शक्तिले रोक्न नसक्ने अवस्था बनेको छ ।

डोटीमा नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता प्रेम आले मगर उम्मेदवार बनेका छन् । उनी विरुद्ध नेकपा एमालेले गौरी ओलीलाई उम्मेदवार बनाएको छ। डोटीमा पनि आलेको जित निश्चित बनेपछि गौरी तनावमा छन्। ओलीको नजिक भनिएकी ओलीलाई टिकट दिएपछि डोटीमा पनि पार्टीभित्रै ठूलो असन्तुष्टि रहेको छ।

दुई क्षेत्र रहेको अछाममा एमालेले एक नम्बरमा माओवादीबाट आएका झपट बोहरा र दुई नम्बरमा यज्ञ बोगटीलाई उम्मेदवार बनाएको छ। भीम रावलले टिकट नपाएपछि जिल्ला कार्यसमिति र क्षेत्र कार्यसमितिलगायतका कमिटीमा रहेका सयौँले पार्टी परित्याग गरेर निष्क्रिय भएपछि अछामका दुवै क्षेत्र एमालेले गुमाउने भएको छ। रावल जिल्ला पनि पुगेका छैनन् ।

कञ्चनपुरको १ मा तारा लामा तामाङ, २ मा नरबहादुर धामी र ३ मा निरुदेवी पाललाई एमालेले उम्मेदवार बनाएको छ। कञ्‍चपुरका तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका प्रभावशाली उम्मेदवारहरू बिना मगर, एनपी साउद र रमेश लेखकले क्लिन स्वीप गर्ने भएका छन् ।

त्यसैगरी कैलाली-१ मा टपेन्द्र रावल, २ मा झपट रावल, ३ मा गौरीशङ्कर चौधरी, ४ मा लेखराज भट्ट र ५ मा नारदमुनि रानालाई एमालेले उम्मेदवार बनाएको छ।

अछामका मतदाताहरू रहेको कैलाली-१ र २ मा रावलहरूलाई पराजित गर्न भीम रावल आफैँ खटिएका छन् । यसअघि सुदूरपश्चिममा थुप्रै रावलहरू भएको भन्ने अभिव्यक्ति दिएपछि ती रावलहरूलाई पराजित गर्न भीम रावल नै सक्रिय भएका कारण कैलालीको कुनै पनि क्षेत्रमा एमालेको जित देखिँदैन । साभार: हाम्रा कुरा डटकम

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP