२०८३ श्रावण ११
July 27, 2026, Monday

डोटीमा अदुवाभन्दा पिँडालु महँगो

दिपायल– डोटीका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र कुनै समय कौडीको भाउमा बिक्री हुने पिँडालु यति बेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, बीपी नगर र कैलालीको धनगढी, अत्तरियालगायत बजारमा बिक्री भइरहेको छ ।

Advertisement

बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिलो समय मूल्य नपाएपछि किसानले पिँडालु खेती गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिकाका किसानले सधैँभरि व्यावसायिक रूपमा गर्दै आएको अदुवा खेती छोडेर पिँडालु खेती गर्न थालेका छन् ।

पहिले अदुवाको मूल्य धेरै भएको तर पछिल्लो दुई वर्षयता बजारमा त्यसले मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका–२ का नरबहादुर शाहीले बताए ।


उनले भने, “अदुवाभन्दा कम मिहिनेत लाग्ने, पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती सुरु गरेको हुँ ।”

थोरैबाट सुरु गरेको पिँडालु खेतीबाट वार्षिक रूपमा ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको पनि उनले बताए । आफूले पिँडालु खेती गरेपछि यस क्षेत्रका दर्जनभन्दा बढी किसानले पिँडालु खेती गरिरहेका शाहीले बताए ।

कुनै समय प्रतिकेजीको ९० रुपैयाँमा बेचिने अदुवा यति बेला प्रतिकेजी २० रुपैयाँका दरले बिक्री गर्न बाध्य भएपछि पिँडालु खेती गरेको बडीकेदार गाउँपालिका–५ का तेज कोटकेनीले बताए । उनले भने, “अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु ३० रुपैयाँका दरले बिक्री गरिरहेका छन् । पहिले कसैले पनि खरिद नर्गने पिँडालु महँगोमा बिक्री हुन्छ । तर, सधैँभरि किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।”

स्थानीयस्तरमा बजारीकरण नभएका कारण किसान सस्तोमा बेच्न बाध्य भएको उनले बताए । ‘घरघरमा सिंहदरबार’ आए पनि किसानलाई कसैले नहेरेको उनको गुनासो छ ।

दुई रोपनीबाट सुरु गरेको पिँडालु खेतीबाट राम्रौ आम्दानी भएको बडीकेदार–४ का घनबहादुर ताडीले बताए । ६० देखि ७० रोपनीमा गरेको अदुवा खेती बिचौलिया व्यापारीका कारण मिहिनेत गरेजति मूल्य नपाएको र भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उनले बताए । यो वर्ष १५ हजार रुपैयाँबराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको ताडीले बताए ।

यस क्षेत्रमा बढी मात्रमा उत्पादन हुने अदुवाको मूल्यसँगै बजारमा नबिक्ने भएका कारण अदुवा खेती छोडेर कोही फलफूल त कोही पिँडालु खेती गरिरहेको ताडीले बताए ।

पछिल्लो समय अदुवाको बजार र कम मूल्य भएका कारण अधिकांश किसानले पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिकाको कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए ।

यस क्षेत्रमा पिँडालु राम्रै उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिन र बजारीकारण र कोल्ड सेन्टरका लागि पहल गरिने शाहीले बताए । रासस

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP