म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ बजारमा शुद्ध खानेपानी ल्याउने आयोजना सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । वि.सं. २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ ।
सङ्घीय सरकारको क्रमागत बजेटअन्तर्गत २०७८ मै आयोजना सम्पन्न हुनुपर्ने थियो । सङ्घीय सरकारको दुई करोड ९९ लाख ४० हजार ९३६ रुपियाँ र स्थानीयवासीको २० प्रतिशत श्रमदानमा दरबाङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिमार्फत निर्माणाधीन उक्त आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरेपछि २०७४ फागुन महिनादेखि काम थालिएको थियो ।
खानेपानी आयोजना निर्माणमा ढिलाइ हुँदा स्थानीवासीले सास्ती बेहोर्नु परेको दरबाङका रघुनाथ न्यौपानेले बताउनुभयो । दरबाङमा जनसङ्ख्या बढ्दै गएकाले समयमै आयोजना निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता स्थापनासँगै खानेपानी कार्यालयको संरचना परिवर्तन, विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारी, २०७७ मा आयोजना निर्माण क्षेत्रको जङ्गलमा आगलागी हुँदा र बर्सातको समयमा दरबाङ–दिच्याम सडकबाट खसेको पहिरोले पाइप बगाउँदा निर्माणमा ढिलाइ भएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रकाश शेरचनले बताउनुभयो ।
उहाँका अनुसार उक्त आगलागीमा ९० एमएमको तीन सय मिटर, ६३ एमएमको एक हजार मिटर ५० एमएमको ९५० मिटर पाइप जलेर नष्ट भएको थियो । चालू आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेर आयोजना निर्माणलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विविध कारण केही समय आयोजना निर्माणको काम रोकिएको हो । सुचारु भएको आयोजना निर्माणलाई यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी तीव्रता दिएका छौँ ।”
योजनाअन्तर्गत गाउँपालिका–७ स्थित छिपछिपे, ढुनोट र वडा नम्बर ६ गोजाखोला मुख्य मुहान र तेलचाप्रे, धाढखर्कमाथिको सहायक मुहानबाट पानी ल्याएर दरबाङलाई वितरण गरिनेछ ।
उक्त खानेपानी आयोजनाबाट प्रतिदिन ९९ हजार ३८५ लिटर पानी आपूर्ति हुनेछ । आयोजनाबाट २९६ घरधुरीका १५४१ जनसङ्ख्या लाभान्वित हुनेछन् । अहिलेसम्म सबै मुहानमा ट्याङ्की, सङ्कलन र रिजर्भ ट्याङ्की निर्माण भएका छन् । मुहानबाट ६.८० किलोमिटर मुख्य पाइपलाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । भने ३.६८ किलोमिटर शाखा लाइनको पाइप बिछ्याउने र धारामा मिटर जडानको काम बाँकी रहेको छ ।
खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीका इन्जिनियर राजेश उलकका अनुसार, कार्यालयले आयोजना निर्माणका लागि पाइपसहित आवश्यक सामग्री खरिद गरी आयोजना निर्माण स्थलसम्म ढुवानीसमेत
गरिसकेको छ ।
पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका...
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङमा निःशुल्क आँखा शिविर तथा मोतियाविन्दुको शल्यक्रिया शिविर सुरु भएको छ । मालिका गाउँपालिका, पश्चिम नेपाल...
म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई...