Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

प्रेस चौतारीको २५औं स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

‘समृद्धिका लागि सञ्चार कर्म ! प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीले आज (आइतबार) २५औं स्थापना दिवस मनाएको छ । प्रेस चौतारी म्याग्दी शाखाले बेनी अस्पतालमा उपचाररत बिरामीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफुल वितरण गरी स्थापना दिवस मनाएको हो ।

Advertisement

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको सर्कुलरअनुसार रचनात्मक कार्यक्रमअन्तर्गत अस्पतालमा उपचार गराइरहेका बिरामीहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको प्रेस चौतारी म्याग्दी शाखाले जनाएको छ । दिवसको अवसरमा बेनी अस्पतालमा उपचाररत विभिन्न १८ जना बिरामीहरुलाई मौसम अनुकुल हुने गरी स्याउ, केरा, अङ्गुरलगायत फलफुलहरु वितरण गरिएको थियो । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले म्याग्दीका उपसचिव तथा प्रचार विभाग प्रमुख राजकुमार थापाले प्रेस चौतारी व्यावसायिक र श्रमजीवि पत्रकारहरुको सङ्गठन भएको बताउनुभयो ।

Advertisement

प्रेस चौतारीले स्थापनाकालदेखि नै सञ्चारका गतिविधिसँगै समुदायस्तरमा विभिन्न खालका रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझै सशक्त र प्रभावकारी रुपमा सञ्चारको क्षेत्रबाट आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो ।जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत रहनुभएका एमाले उपसचिव थापाले जिल्लामा निर्माणाधीन तथा अधुरा योजनाहरुको निर्माणकार्य पुरा गर्नका लागि आफूले सम्बन्धित निकायमा पहल गरिरहेको जानकारी दिनुभयो ।

उहाँले बेनी अस्पतालको ५० शैया क्षमताको भवन निर्माणकार्यमा भैरहेको ढिलाइप्रति आफूले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा म्याग्दीबाट निर्वाचित संघ र प्रदेशका सांसद एवं अस्पतालका अध्यक्षसँग समन्वय गरी निर्माण व्यवसायीलाई भवनको निर्माणकार्यमा फर्काउन पहल भैरहेको बताउनुभयो । उहाँले जिल्लाको विकास निर्माणमा भैरहेको ढिलासुस्तीबारे सञ्चारको क्षेत्रबाट पनि प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज प्रकाश पौडेलले प्रेस चौतारी नेपाल श्रमजीवी र क्रियाशील पत्रकारहरुको साझा सङ्गठन भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्ष समेत रहनुभएका केन्द्रीय सदस्य पौडेलले सञ्चारका गतिविधिसँगै रचनात्मक क्रियाकलापमा प्रेस चौतारी क्रियाशील रहेको भन्दै सञ्चारमाध्यममार्फत जिल्लामा सुशासन तथा विकास निर्माणमा भैरहेका ढिलासुस्तीको विषयमा आवाजहरु उठाइएको बताउनुभयो ।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण कार्यक्रम सराह्रनीय रहेको बताउँदै बेनी अस्पताल म्याग्दीमा निर्माण भैरहेको अस्पतालको भवन निर्माणकार्य अलपत्र अवस्थामा रहेकाले पत्रकारिताको माध्यमबाट खबरदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रेस सेन्टर म्याग्दीका अध्यक्ष कमल खत्रीले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको बीचमा व्यावसायिक एकता रहेको बताउनुभयो । कार्यक्रममा बेनी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शंकरराज लामिछाने, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, मानवअधिकार एलायन्स गण्डकी प्रदेश कमिटी सहसचिव दीपक पौडेल, पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का, वर्तमान उपाध्यक्ष हरिकृष्ण गौतम, सचिव सन्तोष गौतम, प्रेस युनियनका जिल्ला सभापति राकेश शर्मा, फोनिजका अध्यक्ष साधन राम्जाली र अनेरास्ववियु म्याग्दीका अध्यक्ष मिलन खत्रीलगायत जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका आयोजक र अतिथिहरुले बिरामीहरुलाई फलफुल वितरण गर्नुभएको थियो । कार्यक्रम प्रेस चौतारी म्याग्दी शाखाका अध्यक्ष प्रताप बानियाँको अध्यक्षता र स्वागत तथा सचिव अमित विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP