२०८२ मंसिर १८
December 3, 2025, Wednesday

जेठो हिमाल ‘अन्नपूर्ण प्रथम’ आधार शिविर पूर्वाधारको प्रतीक्षामा

अन्नपूर्ण प्रथम हिमाल आरोहणका हिसाबले विश्वको जेठो मानिन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४मा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्ला हिमालहरुमध्ये मानव पाइला परेको पहिलो हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूूर्ण हिमाल फ्रान्सेली नागरिक मौरिज हर्जोगले सन् १९५० जुन ३ तारिकका दिन आरोहण गर्नुभएको थियो । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेको थियो । हर्जोगले अन्नपूर्ण नर्थ ९उत्तरी० आधार शिविरबाट आरोहण शुरु गर्नुभएको थियो । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्ला समेटेको अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको भूगोलमा पर्छ ।

Advertisement

हर्जोगले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । हर्गोजको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भएको हो । विश्वमा हिमाल आरोहणको इतिहाससँग जोडिएको म्याग्दीको अन्नपूर्ण आधार शिविर पूर्वाधारको पर्खाइमा छन् । कास्कीको एबिसी क्याम्पलाई अन्नपूर्ण आधार शिविर बुझ्ने र त्यही अनुसारको प्रचार गरिनु पनि नर्थ अन्नपूर्ण आधार शिविर गुमनाम हुनुको कारण रहेको अन्नपूूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुुमार पुुनले बताउनुभयो ।

Advertisement

उहाँका अनुुसार खोज अनुसन्धान, पुर्वाधार र प्रचारप्रसारको कमीले ऐतिहासिक अन्नपूर्ण आधार शिविर ओझेलमा परेको हो । “सत्तरी वर्षअघि हर्जोगले इतिहास रचेको अन्नपूर्ण आधार शिविर र उनले प्रयोग गरेको पदमार्गको अहिले पहिचान भएको छ,” अध्यक्ष पुुनले भन्नुभयो “प्रकृतिको वरदान मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आधार शिविरलाई व्यवस्थित गरेर पर्यटक भित्र्याउन पहल थालेका छौँ ।” पर्यटनविद् रामहरि लामिछाने अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्य, ऐतिहासिक, धार्मिक र पर्यटकीय विशेषताको प्रचार(प्रसार र भौतिक पूर्वाधार निर्माणको काम एकैसाथ गर्नुुपर्ने बताउनुुहुुन्छ ।

नारच्याङदेखि हुमखोलासम्म सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको पदमार्ग तयार भएको छ । पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत्र सुविधा र सुरक्षाको व्यवस्थापन आवश्यकता देखिएको लामिछानेले बताउनुभयो । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ ।

पदमार्गको प्रचार(प्रसार गर्न प्रवेशबिन्दुमा पर्ने नारच्याङमा २०७७ सालमा गाउँपालिकाले अन्नपूर्ण पर्यटन महोत्वस आयोजना गरेको थियो । नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दूरीमा पदमार्ग निर्माण भएको छ । दुुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको मौरिस हर्गोज पदमार्गका अभियन्ता गुरुङले बताउनुभयो ।

“हर्गोजले आरोहणका लागि आधार शिविर जान प्रयोग गरेको पदमार्गलाई पछ्याउँदै पदमार्ग तयार गरेका छौँ,”उहाँले भन्नुभयो,“अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्री खोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ ।”अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एकयाप० को सहयोगमा छोटेपा, हुमखोला, सम्धिखर्क, गुफाँफाँट, भुसकेत र आधार शिविरमा बीस÷बीस जना क्षमताको आश्रयस्थल बनाइएको छ । पर्यटकको चाप बढेकाले आश्रयस्थल साँघुरो र असहज बनेको छ ।

वस्तीदेखि टाढा, होटल तथा लजको सुविधा नभएकाले आश्रय स्थलमा बस्ने गरेका छन् । खानेकुरा तयारी गरेर लैजानुपर्छ । चिसोका कारण पर्यटक बिरामी पर्ने जोखिम हुन्छ । केही दिनअघि अन्नपूर्ण आधार शिविर पुगेर फर्कनुभएका नेपाल सरकारका पूर्वमुख्य सचिव डा।सोमलाल सुवेदीले आश्रयस्थलको क्षमता विस्तारसँगै खाने, बस्ने सुविधाका लागि होटल तथा लज बनाउनुपर्ने सुझाव दिनुभयो ।“छिनछिनमा हुने मौसम परिवर्तन, विविधतायुक्त भूगोल र हावापानीसँगै आधार शिविरमा रहेको पञ्चकुण्ड तालले यात्राको दुः ख भुलायो,” उहाँले यात्राको अनुुभव सुुनाउनुुभयो “छोटो यात्रा गरेर पुगिने नजिकको आधार शिविर हुनुले पनि यसको महत्व र सम्भावना धेरै छ ।

एकीकृत योजना बनाएर पूर्वाधार विस्तार गर्नुपर्छ ।” पछिल्लो पाँच वर्षयता मौरिस हर्गोज पदमार्ग, झोलुङ्गे पुल, आश्रयस्थल, लगायतका पूर्वाधार बनाउन पर्यटन मन्त्रालयले दुई करोड ८० लाख र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०ले ४० लाखभन्दा बढी लगानी गरेका छन् । पदमार्ग निर्माण हुनुअघि मुस्ताङको ताक्लुङ हुँदै जङ्गल, भिर, पहराको जोखिमयुक्त बाटोमा करिब एक हप्ता पैदल हिँडेर अन्नपूर्ण आधार शिविर पुग्नुपर्दथ्यो ।

गत वसन्तयाममा अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका पाँच वटा समूहका ५४ जनाले एक करोड चार लाख २६ हजार ४१० शुल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ । शरद यामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका थिएनन् । गत कात्तिक महिनामा आन्तरिक पर्यटकहरु दैनिकजसो अन्नपूर्ण आधार शिविर पुगेका थिए । मङ्सिर महिनामा पनि दैनिकजसो पाँचदेखि १० जनाको अनुुपातमा पर्यटक त्यहाँ गइरहेका वडा सदस्य भीम शेरपुुञ्जाले बताउनुुभयो ।

आधार शिविर जाने पर्यटकको अभिलेख राख्ने गरिएको छैन । हेलिकप्टरमार्फत सिधैँ आधार शिविर जाने पर्वतारोहीलाई पदमार्गबाट जाने वातावरण बनाउन पर्यटन व्यवसायीहरुसँग पहल गरिएको वडा सदस्य शेरपुुञ्जाले बताउनुभयो । पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान सजिलो र सस्तो हुुने अपेक्षा गरिएको छ । गाउँपालिकाले पदमार्गको नक्सा तयार पारेको छ । नारच्याङको बेसी गाउँदेखि छोटेपा हुुँदै हुुमखोलासम्म नीलगिरि जलविद्युत् आयोजनाले बनाएको सडक प्रयोग हुुन्छ ।

हुमखोलादेखि एक दिनमा भुसकेत र अर्को दिन तीन घण्टा हिँडेर आधार शिविर पुग्न सकिन्छ । फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने यो पदमार्ग सबैभन्दा छोटो, रमणीय र सुरक्षित मानिएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुुद्धबहादुुर गुुरुङले बताउनुुभयो । केही दिनअघि आधार शिविर पुुगेर फर्कनुुभएका राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्यसचिवसमेत रहेका गुुरुङले हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गको आकर्षण भएको बताउनुुभयोे ।

समुद्री सतहदेखि चार हजार ३०५ मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरको प्राकृतिक सौन्दर्ययुक्त दृष्य रमणीय र मनमोहक छ । पदयात्राका क्रममा हिमाल, अग्ला पहाडबाट खसेका झरना, हिमताल र विभिन्न वनस्पति, फूल, चराचुरुङ्गी, वन्यजन्तुको पनि अवलोकन गर्न सकिन्छ । अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण, फ्रेन्क, तिलिचो र नीलगिरि हिमालको फेदीमा निलो रङ्ग र गोलो आकारको तलाउ छ ।

सुख्खा र उजाड पहाडको बीचमा रहेको तालमा हिमालको छायाँ हेर्न सकिन्छ । चिसो याममा तालको पानी जमेको छ । धेरै हिमालको चुचुरो एकै ठाउँबाट अवलोकन गर्न सकिन्छ ।यो ताल करिब एक किलोमिटर लम्बाइ र पाँच सय मिटर चौडाइमा फैलिएको छ । अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर प्राकृतिक हिमताल बनेको हो । रक्त, दुग्ध, ताम्र, शुद्ध, स्वर्ण गरी पाँच छुट्टाछुट्टै ताल छन् ।

तालको सौन्दर्यले मोहित र प्रफुल्लित बनाउने आन्तरिक पर्यटक सुुकबहादुुर गर्बुुजाले बताउनुुभयो । ताल र हिमाल हेरेपछि पदयात्राको दुःख कष्ट भुलाएको उहाँले अनुुभव सुुनाउनुुभयो । पितृको सम्झनामा पिण्डदान गर्नाले पुण्य प्राप्त हुने विश्वास छ । ताललाई धार्मिक गन्तव्यको रुपमा विकास गराउन शिव मन्दिर र बौद्ध गुम्बा निर्माण गरिएको छ ।

ताल नजिकैको काग भुुसुुन्डे डाँडाको बारेमा हिन्दुु धर्मग्रन्थ रामायणमा उल्लेख छ । रामायणमा कागभुुसुुन्डी नाम गरेका ऋषिले नीलगिरि हिमालको फेदीको डाडामा ध्यान गरेको उल्लेख भएकाले यसको धार्मिक महत्व रहेको बताइएको छ । अन्नपूूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूूर्ण आधार शिविर र मौसिज हर्गोज पदमार्गको एकीकृत विकासका लागि गुुरुयोजना निर्माणको काम शुुरु भएको जानकारी दिनुुभयो ।

आधार शिविर र पदमार्गमा पूर्वाधार विस्तारसँगै प्रवर्द्धनका लागि गुुरुयोजना बनाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख बजेट विनियोजन गरेको छ । गुुरुयोजना तयार पारेर गाउँपालिका, सङ्घीय र प्रदेश सरकारले साझेदारी गरेर पूर्वाधार विस्तारको काम गर्ने लक्ष्य राखिएको छ । आधार शिविरको पर्यटन प्रर्वद्धनका लागि १० लाख विनियोजन भएको छ ।

मौरिस हर्गोज पदमार्गलाई नै लक्षित गरेर पर्यटक गाइड तालिम सञ्चालन गर्न १५ लाख बजेट विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुुनले बताउनुुभयो । यसै आर्थिक वर्षमा भुुसकेत र आधार शिविरमा सामुुदायिक लज सञ्चालनका लागि भवन बनाउने तयारी गरेको गाउँपालिकाले जनाएको छ । बाँसबोटमा पर्यटकको अभिलेख राख्ने र पदयात्रीलाई सहयोग गर्न पर्यटक सूूचना केन्द्र स्थापना गर्न लागिएको छ ।

यसैगरी अन्नपूूर्ण गाउँपालिकाले हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित अन्नपूूर्ण हिमालको रोयल्टी दाबी गरेको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दाबी पेश गरिएको जानकारी दिनुभयो । “म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ,” उहाँले भन्नुभयो “म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आफ्नै भूगोलमा भएको हिमालको रोयल्टीबाट वञ्चित भएकाले तथ्यसहित दाबी पेश गरिएको हो ।”

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हिमाललगायत प्राकृतिक स्रोतबाट प्राप्त हुने सलामी दस्तुरलाई तीन तहको सरकारलाई बाँडफाँट गर्दै आएको छ । १३ वर्षअघि अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको भूगोलमा पर्ने तथ्य पहिचान भएपछि तत्कालीन जिल्ला विकास समितिको सभाले पनि रोयल्टी माग गरे पनि सम्बोधन भएको थिएन ।

पछिल्लोपटक अन्नपूर्ण गाउँपालिकाले रोयल्टीको दाबी गरेपछि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलसहितको टोलीले स्थलगत अध्ययन गरेको छ । “राज्य पुनःसंरचनाका क्रममा जिल्ला तहबाट भएको सिफारिस अनुसार यो गाउँपालिकाको नामकरण अन्नपूर्ण हिमालबाट भएको थियो,” अध्यक्ष पौडेलले भन्नुभयो “राज्यका निकायहरुबाट प्राप्त तथ्याङ्कको आधारमा रोयल्टीको बाँडफाँट हुने गर्छ । हामीले प्रयोग गरेका तथ्याङ्कमा समस्या रहेछ भने त्यसलाई सच्चाउन सकिन्छ ।” रासस

Related News

कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
कुइनेमंगलेमा पखला लागेर ४८ वटा भेडाबाख्रा मरे
  • २०८० मंसिर २७, बुधबार १२:३५

म्याग्दीमा जंगली घाँस खादा पखलाका कारण ४८ वटा भेडाबाख्रा मरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको चौर गाउँमा पखलाका कारण...

फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको  उद्धार
फापरखेतबाट ट्रक म्याग्दी नदीमा खस्यो, चालकको उद्धार
  • २०८० मंसिर २७, बुधबार १२:३५

पश्चिम म्याग्दीको लाइफलाइन मानिएको बेनी–दरबाङ सडकखण्ड अन्तर्गतको बेनी नगरपालिका–४ तातोपानीको फापरखेत पहिरोबाट ट्रक म्याग्दी नदीमा खस्दाचालक घाईते भएका छन् ।...

राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
राप्रपा म्याग्दीको अध्यक्षमा पुनः बिरबहादुर थापा निर्विरोध चयन
  • २०८० मंसिर २७, बुधबार १२:३५

राष्ट्रिय प्रजातन्त्र पाटी म्याग्दीको आठौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा बिरबहादुर थापा निर्विरोध चयन हुनुभएको छ । शनिबार सदरमुकाम बेनीबजारमा सम्पन्न...

TOP