म्याग्दीको बेनी नगरपालिका–९ घतानमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ । शनिबार (मंसिर ७ गते) लायन्स क्लब अफ पोखरा अभियानको योजना तथा चरक मेमोरिएल हस्पिटल नागढुङ्गाको प्राविधिक सहयोग र बेनपा ९ को समन्वयमा निःशुल्क शिविरको आयोजना गरिएको कार्यक्रम संयोजक बल बहादुर केसीले जानकारी दिनुभयो ।
उक्त शिविरमा वरिष्ठ जनरल फिजिसियन, मुटु रोग विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, हाठजोर्नी विशेषक्ष, बालरोग विशेषज्ञ र मिर्गौला रोग विशेषज्ञ डाक्टरहरुको सेवा उपलब्ध रहेको संयोजक केसीले बताउनुभयो ।
राष्ट्रिय माविको प्राङगणमा हुने कार्यक्रमको तयारी पुरा भएको भएको बेनपा ९ का वडा अध्यक्ष चक्र बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार घतानमा अहिले सम्मकै निशुल्क बृहत स्वास्थ्य शिविर आयोजनाले वडामा बासीलाई सहज हुनेछ ।
क्लबको स्थापना दिवसको अवसरमा राष्ट्रिय माविका ६० जना विद्यार्थीलाई न्यानो कपडा र शिक्षा महिला आमा समुहलाई भजनका सामाग्री विरण गर्ने कार्यक्रम रहेको क्लबका अध्यक्ष मात्रिका पोखरेलले जानकारी दिनुभयो ।
उक्त शिविरमा सबै वडाबासीले सेवा लिनुहुन वडा कार्यालयले अनुरोध गरेको छ ।






