Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २४
October 10, 2026, Saturday

गोठमै मितेरी साइनो लगाउँदा…

गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो ।

Advertisement

कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आउनुभएका घले करिब आठ महिनाअघिमात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिनुभएको थियो । भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताउनुभयो ।

Advertisement

“यहाँ आउँदा कोही आफन्त थिएनन्, गोठालाको साथी नै गोठाला बन्ने न हो, आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ”, घलेले भन्नुभयो । घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो ।

अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकैठाउँमा छन् । गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउराघाँसमा उहाँहरूले सहकार्य गर्नुहुन्छ । घलेले काम गर्ने भेडीगोठमा नियमितरूपमा चार–पाँच जना भइरहने भएकाले तुलाचनसमेत बिहान–बेलुका भेडीगोठमै गफगाफमा भेटिनुहुन्छ ।

वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आउनुभएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मितका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताउनुभयो । “हामीलाई गोठले नै साथी बनायो, उहाँ कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको १”, तुलाचनले भन्नुभयो । तुलाचनको गोठमा नौवटा भैँसी छन् ।

दुईजना मितेरी साइनेमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्नेमात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गर्नुभएको छ । भैँसीगोठबाट तुलाचनले नियमितरूपमा दूध लगेर भेडीगोठ पुग्नुहुन्छ भने भेडीगोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मित तुलाचनलाई चखाउने गर्नुहुन्छ ।

बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउनुहुन्छ ।

नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित /मीतिनी’ साइनो हराउँदै गएको छ । रासस

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP