२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

गोठमै मितेरी साइनो लगाउँदा…

गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५ मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो ।

Advertisement

कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आउनुभएका घले करिब आठ महिनाअघिमात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिनुभएको थियो । भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताउनुभयो ।

Advertisement

“यहाँ आउँदा कोही आफन्त थिएनन्, गोठालाको साथी नै गोठाला बन्ने न हो, आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ”, घलेले भन्नुभयो । घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो ।

अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकैठाउँमा छन् । गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउराघाँसमा उहाँहरूले सहकार्य गर्नुहुन्छ । घलेले काम गर्ने भेडीगोठमा नियमितरूपमा चार–पाँच जना भइरहने भएकाले तुलाचनसमेत बिहान–बेलुका भेडीगोठमै गफगाफमा भेटिनुहुन्छ ।

वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आउनुभएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मितका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताउनुभयो । “हामीलाई गोठले नै साथी बनायो, उहाँ कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको १”, तुलाचनले भन्नुभयो । तुलाचनको गोठमा नौवटा भैँसी छन् ।

दुईजना मितेरी साइनेमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्नेमात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गर्नुभएको छ । भैँसीगोठबाट तुलाचनले नियमितरूपमा दूध लगेर भेडीगोठ पुग्नुहुन्छ भने भेडीगोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मित तुलाचनलाई चखाउने गर्नुहुन्छ ।

बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउनुहुन्छ ।

नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण ‘मित /मीतिनी’ साइनो हराउँदै गएको छ । रासस

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० माघ १०, बुधबार ०३:२३

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० माघ १०, बुधबार ०३:२३

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० माघ १०, बुधबार ०३:२३

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP