२०८३ बैशाख २१
May 4, 2026, Monday

धौलागिरी बेसक्याम्प पुग्ने नयाँ रुट खोज्न निस्कियो टानको टोली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको टोली म्याग्दी र मुस्ताङ जोड्न नयाँ पदमार्ग पहिचान गर्न निस्किएको छ ।

Advertisement

व्यवसायी, पत्रकार, पोर्टरसहित २० जनाको टोली शनिबार म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ टोड्केबाट यात्रामा निस्किएको हो । अहिले आधार शिविर जान धवलागिरी गाउँपालिका-४ मुदिबगर हुँदै पाँच दिनमा आधार शिविर पुगिन्छ । नयाँ ट्रेक टोड्के धौलागिरी पदयात्रा मार्गको खोज, अध्ययन, अनुसन्धान तथा प्रवर्द्धन कार्यक्रम लिएर टोड्केबाट शनिबार बिहान गन्तव्यतर्फ निस्किएको छ । टोलीलाई गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले प्रस्थानविन्दु तय गरिएको टोड्केमा बिदाइ गरे ।

Advertisement

यो टोली पहिलो दिन शनिबार टोड्केबाट मालिकाधुरी हुँदै ठाडाखानी पुग्ने छ । दोस्रो दिन ठाडाखानीबाट कुइने, तेस्रो दिन कुइनेबाट घाय्सिखर्क , चौंथो दिन झासीखर्कबाट सङ्गुरथाला कछुवा ओडार, पाँचौ दिन कछुवा ओडारबाट धौलागिरी आधार शिविर, छैटौं दिन आधार शिविरबाट कालीबराह हुँदै मुस्ताङको लेते निस्कने टान गण्डकीका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । यात्राको आठौं दिन टोली लेतेबाट भुरुङ तातोपानी हुँदै पोखरा फर्कने छ ।

टोलीलाई बिदाइ गर्दै पर्यटनमन्त्री थापाले पर्यटनको भविष्य कसरी विकास गर्न सकिन्छ भन्ने भएरै मन्त्रालयले नयाँ पदमार्ग पहिचानमा मन्त्रालयले साथ दिएको सुनाए । उनले `कस्तुरीले बिना´ खोजेजस्तै सम्भावना हुँदाहुँदै नेपालीहरुले पर्यटनको सम्भावना भएपनि त्यसको पहिचान गर्न नसकेको बताए । `पर्यटकलाई पोखरा ल्याउनुपर्छ । तर अब पोखरा र सेरोफेरो साँघुरो भइसक्यो,´ उनले थपे, `अब धेरै पदमार्ग विकास गरेर दिन कसरी लम्ब्याउन सकिन्छ भनेर खोज गरिरहेका छौं । त्यसको एउटा गन्तव्य टोड्के-लेते पदमार्ग नयाँ गन्तव्य बन्न सक्छ ।´

मन्त्रालयका उद्योग-पर्यटनतर्फका सचिव कुमानसिंह गुरुङले सरकार, निजी क्षेत्रले प्रवर्द्धनमा सहयोग गर्ने भएपनि आफ्नो कला संस्कृति देखाएर पर्यटन विकासमा स्थानीयले भूमिका खेल्नुपर्ने बताए । उनले नयाँ पदमार्ग विकास हुन सकेमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे ।

टानका प्रथम उपाध्यक्ष आचार्यले २०७२ सालतिरै यो पदमार्ग विकास गत्ने योगदान भएपनि भूकम्प र कोरोना भाइरसको संक्रमणले गर्दा नसकेको बताए । मोटरबाटोको विकासले अन्य पदमार्ग समस्याग्रस्त रहेको अवस्थामा पर्यटन क्षेत्र जोखिममा परेको र अब नयाँ पदमार्ग विकास गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

टोड्के रिसोर्टका सञ्चालक भीम शेरचनले गाडीले अन्य ट्र्याक लोप भएको अवस्थामा अब धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल हेर्दै नयाँ पदमार्गको खोजी हुनु सकारात्मक भएको बताए । शेरचनकै पहलमा टोड्केबाट आधार शिविर पुग्न नयाँ पदमार्ग पहिचान थालिएको हो ।

टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा भएपछि पदमार्ग पर्यटन विकास भएकाले धौलागिरीलाई पनि संरक्षण क्षेत्र घोषणा गर्दा उचित हुने सुझाव सरकारलाई दिए । संरक्षण क्षेत्र घोषणा भएपछि स्थानीयले नै लगानी गर्न पाउने र स्थानीयस्तरको जनजीवन विकास हुने उनले सुनाए । पहिचान यात्रा सफल भएमा पोखरा फर्किएर बुलेटिन र म्याप प्रकाशन गर्ने अध्यक्ष पन्थीले जानकारी दिए ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० माघ १३, शनिबार ०४:३३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० माघ १३, शनिबार ०४:३३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० माघ १३, शनिबार ०४:३३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP