Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

जलविद्युत छ तर बत्ती बल्दैन

बागलुङको तमानखोला गाउँपालिका-६ नर्जाखानीमा केन्द्रीय प्रसारण लाइन नपुग्दा गाउँका मानिसहरू अन्धकारमा बस्न बाध्य छन् । वर्षौँदेखि लघु जलविद्युतको भरमा रहेका स्थानीय पछिल्लो समय खोलामा पानीको मात्रा घटेपछि अन्धकारमा बस्न बाध्य भएका हुन् ।

Advertisement

पानीको बहाव कम हुँदै गएपछि विद्युत उत्पादन पनि घटेको बताइएको छ । यति बेला स्थानीयलाई एउटा चिम (बल्ब) बल्न पनि मुस्किल परेको छ । साथै वडा कार्यालयबाट सेवा प्रवाहमासमेत समस्या हुँदै आएको छ । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत आपूर्ति हुन नसक्ने र बर्खामा बाढीले नहर बगाइदिँदा स्थानीय मारमा पर्दै आएका छन् । विद्युत नियमित नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवासमेत प्रभावित बन्दै आएको तमानखोला-६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताउनुभयो । 

Advertisement

जलविद्युत भए पनि रातमा अन्धकारमा बस्नुपर्ने बाध्यता यहाँका स्थानीयको रहेको उहाँको भनाइ छ । “वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेकट्रोनिक सामान छन् तर विद्युत आपूर्ति नहुँदा हस्तलिखित सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ”, वडा अध्यक्ष छन्त्यालले भन्नुभयो, “आधुनिक प्रविधिको विकासले कामकाजलाई छिटो र छरितो बनाए पनि विद्युतको समस्याका कारण प्रविधिदेखि टाढा हुनु परेको छ ।” जिल्लाकै सबैभन्दा विकट मानिने यस ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन नपुग्दा सयौँ नागरिकले समस्या खेप्नु परेको वडा अध्यक्ष छन्त्यालले बताउनुभयो ।

“यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीन वटै बस्तीमा तीन वटा साना लघु जलविद्युत छन् । तर हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तिसमेत बाल्न गाह्रो हुने गरेको छ”, उहाँले भन्नुभयो । नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत आयोजना, पात्लेमा तीन किलो वाटको खालीखोला लघु जलविद्युत आयोजना र भित्री वनमा छ किलो वाटको बराहथानखोला लघु जल विद्युत आयोजना सञ्चालनमा रहेका वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । 

यी सबै आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । “अहिले एक घण्टा ड्याममा पानी जम्मा गर्ने, एक घण्टा विद्युत बाल्ने गरिरहेका छौँ । यसरी काम गर्दा सेवाग्राही निकै मर्कामा परेका छन् । बर्खामा खोला उर्लेर आउँछ, नहर र ‘पावर हाउस’ बगाएन भने बत्ती बाल्ने हो नत्र अन्धकारमै बस्नुपर्छ । हिउँदमा खोला ह्वात्तै घट्ने हुँदा पानी पुग्दैन”, वडा अध्यक्ष छन्त्यालले भन्नुभयो, “सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने, घटना दर्ता गर्नुपर्ने हुन्छ । बिजुली नआएपछि हस्तलिखितमार्फत काम गरिरहेका छौँ । प्रविधिको विकास भएपनि केन्द्रीय प्रसारण लाइन नपुग्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।”

अति आवश्यक काम कम्प्युटरमार्फत गर्नु परे विद्युत गृहमा फोन गरेर एक-दुई घण्टा लाइन मागेर छिटोछिटो काम गर्नुपर्नेस्थिति रहेको वडा अध्यक्ष छन्त्यालको भनाइ छ । यस वडामा दुई सय ५० घरधुरीका करिब पन्ध्र सय जनसङ्ख्या रहेको उहाँले जानकारी दिनुभयो । यहाँ रहेको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भने सोलार जडान गरिएको उहाँले बताउनुभयो । विद्युत आपूर्ति नहुँदा विद्यालयमा रहेका कम्प्युटर र प्रोजेक्टर यतिकै थन्क्याउनु परेको उहाँको भनाइ छ । हिउँदमा बिहान एक घण्टा र बेलुकी तीन घण्टा बत्ती मात्रै बाल्न सकिने छन्त्यालले बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख पवन पौडेलले नर्जाखानी गाउँमा अघिल्लो वर्ष नै म्याग्दीबाट केन्द्रीय प्रसारण लाइन ल्याउने योजना बनाइएको भन्दै बजेट अभावका कारण कार्यान्वयन नभएको बताउनुभयो । यस वर्ष नर्जाखानीसहित तमानखोलाका सबै वडामा लाइन पुर्‍याउनका लागि ठेक्का आह्वान प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ ।

आगामी असोज-कात्तिकसम्म नर्जाखानीमा केन्द्रीय लाइन पुर्‍याउने गरी काम भइरहेको प्रमुख पौडेलले जानकारी दिनुभयो ।“अहिले ठेक्का आह्वान प्रक्रियाको काम भइरहेको छ । अघिल्लो वर्षको बजेटले धेरै काम भए पनि नर्जाखानीसम्म केन्द्री लाइन पुर्‍याउन सकिएन”, उहाँले भन्नुभयो, “सो ठाउँमा म्याग्दीबाट ल्याउने योजना बनाइएकामा विविध कारणले कार्यान्वयन भएन । यस वर्ष बागलुङबाट लैजाने गरी काम भइरहेको छ । नयाँ ठेक्का लागेसँगै असोज-कात्तिकसम्ममा विद्युत पुग्छ ।” रासस 

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP