२०८२ असार २
June 16, 2025, Monday

शीतभण्डार निर्माणपछि बेनीका किसानलाई राहत

फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर (शीतभण्डार) निर्माण भएपछि राहत महसुस गरेका छन् । बेनी नगरपालिका-४, सिङ्गा राजिकुलोमा तयार भएको कोल्डस्टोर (शीतभण्डार) सञ्चालनमा आएपछि किसानलाई सुविधा भएको हो । 

Advertisement

कोल्डस्टोरमा सुन्तलाको सफल परीक्षणपछि अहिले किसानले आलु भण्डारण गरेका छन् । गत वर्ष सुन्तला फल्ने याममा करिब एक हजार पाँच सय केजी सुन्तला भण्डारण गरेका किसानले परीक्षणबाट सन्तुष्ट भएका थिए । यसपटक आलुको सिजनमा सस्तो मूल्यमा बजारमा बेच्नुभन्दा कोल्ड स्टोरमा राखेर बेमौसममा महँगो मूल्यमा बिक्री गर्ने गरी धमाधम भण्डारण गर्न थालेको बेनी नगरपालिका-४ का वडाअध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

Advertisement

“कोल्डस्टोर बनेपछि किसानमा खुसी छाएको छ, उहाँहरुले आफूले उत्पादन गरेका कृषि उपजलाई शीतभण्डारमा भण्डारण गरी उचित समयमा बजार पुर्‍याउन पाउनुभएको छ,” अध्यक्ष खड्काले भन्नुभयो । कोल्ड स्टोरमा राखेपछि निकाल्ने समयमा प्रतिकेजी रू.१० शुल्क तिर्नुपर्छ । हाल कोल्डस्टोरमा सात हजार पाँच सय ५० केजी आलु भण्डारण गरिएको छ र थप तीन सय केजी आलु ल्याउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । 

कोल्डस्टोरमा विद्युत् आपूर्तिसहित अन्य संरचनाहरु आधुनिक भएकाले परीक्षण सफल भएसँगै यसपटक म्याग्दीमा आलु उत्पादन गर्ने कृषि सहकारी, किसानका साथै छिमेकी जिल्ला बागलुङबाट समेत भण्डारणका लागि माग गरिएको छ । कोल्डस्टोर एक करोड ६० लाखमा निर्माण गरिएको हो । त्यसमा अन्य आवश्यक संरचनाहरु थपिने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो ।

“कृषकलाई कोल्डस्टोर वरदान साबित हुन्छ, कृषकलाई प्रतिफल हुने गरी नगदे बालीलाई प्राथमिकता दिएका छौँ,” प्रमुख केसीले भन्नुभयो । जिल्लामा सुन्तला र आलु अत्यधिक उत्पादन हुने भएकाले यामबाहेक बेमौसममा बिक्री वितरणका लागि सहज हुने स्थानीय बताउँछन् । कोल्ड स्टोरमा मौसमअनुसार आलु, तथा किवीका साथै अन्य नगदे बाली भण्डारण गर्न सकिन्छ । 

बेनी नगरपालिकाले कोल्ड स्टोरलाई वर्षैभरि प्रयोग हुने गरी तापक्रमलाई सन्तुलित बनाई राख्ने उपकरण र संरचनासहित बनाएको छ । किसानले व्यापारीलाई बारीबाटै सस्तो मूल्यमा तरकारी, फलफूल बिक्री गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने बेनी नगरपालिकाले जनाएको छ । रासस 

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८१ श्रावण २२, मंगलवार ०९:५१

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८१ श्रावण २२, मंगलवार ०९:५१

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८१ श्रावण २२, मंगलवार ०९:५१

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP