२०८१ मंसिर २९
December 14, 2024, Saturday

स्व. गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको जीवनी

प्रस्तुती : अजयमिलन श्रेष्ठ

Advertisement

स्व. विमला गौचनको संक्षिप्त जीवनी

***************

१) जन्म/ जन्मस्थान/ पिता-माता :

विमला गौचनको जन्म वि. सं. २०१८ असार ६ गते भएको हो। उनको जन्म साविक कोबाङ्ग गाउँ विकास समिति, वडा नं. ५ (हाल थासाङ्ग गाउँपालिका वडा नं. २), नाउरीकोट, मुस्ताङमा भएको हो। उनी स्व. जयप्रसाद र स्व. गंगादेवी शेरचनका छोरी थिईन्। शेरचन दम्पतिका एक भाइ छोरा र सात बहिनी छोरीहरू गरी आठ सन्तान जन्मिएका थिए। ती आठ दाजु र दिदीबहिनीहरू मध्ये विमला गौचन जन्म क्रमले चौथो र छोरी तर्फका साहिली थिईन् ।

२) बाल्यकाल/ शिक्षार्जन:

विमला गौचनका जिजु बमबहादुर र बाजे कर्णबहादुर त्यस ठाउँका सम्भ्रान्त परिवारका व्यक्ति मानिन्थे। आर्थिक रुपमा सबल सुब्बा खलकको पारिवारिक पृष्ठभूमिका परिवारमा जन्मे-हुर्केका गौचनको बाल्यकालमा कुनै कुराको अभाव भने हुन पाएन। साथै उनका बुवा जयप्रसाद त्यतिबेलाका सजग, भलाद्मी र जल्दाबल्दा मानिन्थे। त्यसैले पनि उनको पठनपाठन सहजरूपमा भयो ।

शिक्षाको महत्वलाई राम्ररी बुझेका शेरचन परिवारले छोराका साथै छोरीहरूलाई पनि विद्यालयमा पढाए। शेरचन परिवारको बसोबास म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा भएका बखत विमला गौचनले माध्यमिक तहको अध्ययन प्रकाश माध्यमिक विद्यालय, बेनीमा गरेकी थिईन्। त्यहीँबाट उनले २०३७ सालमा एस. एल. सी. उत्तीर्ण गरेकी थिईन्।

३) विवाह/सन्तान :

विमला गौचनको विवाह साविक लेते गाउँ विकास समिति (हालको थासाङ गाउँपालिका) धम्पु, मुस्ताङ पुर्ख्यौली घर भै पर्वत, खनियाघाटमा समेत बसोबास गर्ने प्रेमप्रसाद र प्रिमा गौचनका नाति, सत्यमान र सतदेवी गौचनका छोरा राम गौचन (जन्म: २०१३ मंसिर २८- स्वर्गारोहण: २०६४ साउन २८) सँग २०३७ बैशाख ६ गते भएको थियो। उनका एक छोरा रोशन (२०३८ असोज ३) र एक छोरी अनुषा (२०४२ माघ २२ ) जन्मिए।

४) पारिवारिक विवरण/ सन्तति:

विमला गौचनका बुवा- आमा जयप्रसाद – गंगादेवी हुन्। उनका ससुरा – सासु सत्यमान – सतदेवी गौचन हुन्। उनकी अर्की सासुआमापट्टिको जेठाजु – जेठानी दिदी मोतिप्रसाद – बेलकुमारी गौचन (खनियाघाट) रहेका छन्। उनका पति राम गौचन हुन्। यसैगरी उनका देवर – देवरानी हरि – राज्य गौचन (जोमसोम, मुस्ताङ) हुन्। उनका नन्द – नन्दज्वाँइ (हाल सम्धी – सम्धिनीसमेत) मोहनकुमारी – रामप्रसाद शेरचन (जोमसोम, मुस्ताङ) हुन्।

विमला गौचनका छोरा – बुहारी रोशन – दावा लामा गौचन (हाल : अमेरिका) रहेका छन्। यसैगरी छोरी – ज्वाइँ अनुषा – मुकेश शेरचन, जोमसोम, मुस्ताङ, हाल बेनीबजार रहेका छन्। यसैगरी विमला गौचनका नाति तीन मध्ये छोरा रोशनतर्फका दुई छोरा सिद्धार्थ र अनमोल अनि छोरी अनुषातर्फका एक छोरा रियान शेरचन रहेका छन्।

यसैगरी उनका माइतीघर तर्फका शेरचनका ठूलाबुवा – ठूली आमा स्व. कविप्रसाद – स्व. डम्मरकुमारी रहेका छन्। उनका कान्छा बुवा – कान्छी आमा लालप्रसाद – स्व. धनकुमारी शेरचन (गलेश्वर) रहेका छन्। फुपू – फुपाजुहरू स्व. खड्ककुमारी शेरचन (अविवाहित) र सन्तकुमारी – स्व. रत्नबहादुर भट्टचन (ताराखेत), भिमकुमारी – सुन्दरमान गौचन (बुटवल), स्व.धनकुमारी – भिमप्रसाद गौचन (पाखापानी) र लक्ष्मीकुमारी – स्व. रामप्रसाद भट्टचन (सहश्रधारा) हुन्।

उनका दाइ-भाउजु श्याम – गंगा र इन्द्रा शेरचन (हाल: काठमाडौं) रहेका छन्। उनका दिदी – भिनाजुहरू शान्ति – प्रेम भट्टचन (ताराखेत, हालः अमेरिका) र शरण तुलाचन – ईन्द्रप्रसाद तुलाचन (दाना) रहेका छन् ।

उनका बहिनी – ज्वाँइहरू सुनिला – चन्द्र गुरुङ मुस्ताङ, हाल काठमान्डौं, अचित्रा – अरबिन्द भट्टचन, रुम, हाल काठमाण्डौं, सुशिला शेरचन (अविवाहित, हाल काठमाण्डौं) र विना – आनन्द गौचन पोखरा रहेका छन् ।

५) पेशा/ व्यवशाय :

विमला गौचनका पति राम गौचनले शिक्षण पेसाका अतिरिक्त वि.सं. २०३२मा पुर्ख्यौली घर धम्पूबाट कालोपानी सर्दै त्यहाँ “थाक लज” खोलेर होटल व्यवसाय शुभारम्भ गरेका थिए। यसै पृष्ठभूमिमा वैवाहिक जीवनमा प्रविष्ट गौचन दम्पतीले वि.सं. २०४० देखि बेनीबजारको कालीपुलमा ‘गौचन गेष्ट हाउस’ सञ्चालन गरे। उक्त होटेललाई विस्तार गर्दै बेनीबजारको न्यूरोडमा थप सुविधा सम्पन्न भवन निर्माण गरी स्थानान्तरण गर्दै वि.सं. २०५१ देखि “यति होटल” नामाकरणका साथ सञ्चालन गरिएको थियो। उनले यस व्यवसायलाई निरन्तरता दिईन्। हाल उक्त होटेल उनका छोरी – ज्वाँइले सञ्चालन गरेका छन्।

६) विरान्ती नामले परिचित :

विमला गौचनको बाल्यकालको नाउँ विरान्ती थियोे। यही प्रिय नाम घर व्यवहारमा समेत प्रचलित थियो। मुस्ताङ्ग जिल्लामा उनी अझै पनि त्यहि नाउँबाट परिचित छिन्। सामाजिक सञ्जालमा उनले आफ्नो मुहारपुस्तिकामासमेत यहीँ नाम राखेकी थिईन्।

७) खेलकूद र नृत्यमा प्रतिभाशाली :

सानैदेखि अत्यन्त चलाख, वोलक्कड र समयानुकुल स्वभावकी विमला गौचन खेलकुद र साँस्कृतिक क्षेत्रमा अत्यन्त प्रतिभाशाली थिइन्। प्रकाश मा.वि. बेनीमा अध्ययनरत रहँदा यस क्षेत्रमा प्रशस्त पुरस्कार, पदक तथा प्रमाणपत्र हासिल गरेेकी थिईन्।

वैवाहिक जीवनमा प्रवेश गर्नासाथ संयोगवश संस्कृतिप्रेमी पति राम गौचनसँगै गीत अनुसार स्थानीय भेषभुषामा सजिएर रोचक ढङ्गले अभिनय गर्दै गौचन दम्पतीले लेतेको साँस्कृतिक कार्यक्रमहरूमा नृत्यमा सहभागी बन्दै विद्यालयको भौतिक विकासका लागि अर्थ सङ्कलन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

८) सामाजिक संघसंस्थामा क्रियाशील :

नेपाल रेडक्रस सोसाइटी र नेपाल बाल संगठनको आजीवन सदस्य रहेका विमला विभिन्न सामाजिक संस्थामा संलग्चन थिईन्। विभिन्न समयमा विविध स्थानहरूमा हुने दैवी प्रकोपका घटनाबाट पीडितहरूको उद्वार र राहत वितरण कार्यमा क्रियाशील रहँदै उनले आफूले पनि आर्थिक सहयोग प्रदान गर्ने गर्थिन्।

रिक म्याग्दीका अध्यक्ष, होटल व्यवासायी संघका अध्यक्ष, लायन्स क्लब लगायतका संस्थाका नेतृत्वदायी भूमिकामा रहेकी उनले विभिन्न शैक्षिक, सामाजिक संस्थालाई आर्थिक सहयोग गरेकी थिईन्।

उनले स्वर्गीय पति राम गौचनको स्मृतिमा ‘राम – विमला फाउन्डेसन’, ‘राम गौचन स्मृति पत्रकारिता पुरस्कार’ लगायतका लागि अक्षयकोष स्थापना गरेकी थिईन्।

९) नेपाली कांग्रेसको जिल्ला नेतृत्वमा :

वि.सं. २०५३ बैशाख १६ गते सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट गठित समितिलाई २०५५ माघ २० गते पुनर्गठन गर्दा कोषाध्यक्षमा चुनिएका उनका पति राम गौचनले २०५७ मंसिर १३ गते सम्पन्न तेस्रो जिल्ला अधिवेशन पश्चात् र २०६१ माघ २७ गते सम्पन्न चौथो जिल्ला अधिवेशन पश्चात् पनि जिल्ला कार्य समितिको सदस्य पदमा रहेर भूमिका निर्वाह गरेका थिए। २०६४ मा उनको अकल्पनीय निधनपश्चात् उनकै संलग्नता र भूमिकाको कदरस्वरुप विमला गौचनलाई पार्टी र भातृसंस्था नेपाल महिला संघमा जिम्मेवारी प्रदान गरिएको थियो ।

यसै क्रममा नेपाली कांग्रेस, म्याग्दीको २०६१ माघ १७ गते सम्पन्न चौथो जिल्ला अधिवेशन पश्चात गठित जिल्ला कार्य समितिमा गौचन‌लाई २०६४ पुस २९ गते सदस्य पद‌मा मनोनित गरिएको थियो । २०६८ साउन १६ गते सम्पन्न पाँचौ जिल्ला अधिवेशन पश्चात्‌को कार्य समितिमा २०६७ असोज १९ गते उनलाई सल्लाहकार‌मा मनोनित गरिएको उनलाई पार्टीको महिला विभाग संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।

२०७१ फागुन ११ गते सम्पन्न पर्टीिको पाँचौ जिल्ला अधिवेशन मार्फत महिला कोटा तर्फको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी गौचन २०७९ मंसिर ३ गते सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट पनि महिला खुल्ला- तर्फको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिईन । उनी पार्टीको विधानतः भएको गएकी प्रदेश समितिका पहिलो अधिवेशन बाट म्याग्दी जिल्लाको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेश सदस्य पद‌मा निर्वाचित भएकी थिईन् । उनले नेपाली कांग्रेस को तेहौं महाधिवेशनमा महिला कोटा तर्फको केन्द्रीय सदस्य पद‌मा उम्मेदेवत् बनी प्रतिष्पर्धा गरेकी थिईन।

१०) नेपाल महिला संघ, जि. का. स. का अध्यक्ष :

नेपाल महिला संघ, म्याग्दीको २०७१ पुस ९ गते सम्पन्न पाँचौ अधिवेशनबाट विमला गौचन सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिईन्।

२०७९ चैत्र २६ गतेसम्म उक्त समितिको अध्यक्ष रहेकी गौचनले २०८० जेठ १२ गते नेपाली कांग्रेस म्याग्दीले उक्त संस्थाको कार्य समिति गठन गर्न आयोजना गरेको विशेष भेलामार्फत उक्त पदमा नवनिर्वाचित अध्यक्ष निर्मला श्रेष्ठलाई हस्तान्तरण गरेकी थिईन् ।

११) प्रदेशसभा सदस्य :

२०७९ को संसदीय निर्वाचनमार्फत विमला गौचन नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सुचीमा सुचिकृत थिईन्। अघिल्लो पटक २०७४ मा समेत पार्टीबाट बन्दसूचीमा सिफारिसमा परेकी उनी यसपटक आदिवासी जनजाति महिलाकोटाबाट प्रदेशसभा सदस्य बनेकी थिईन्।

प्रदेशसभा सदस्य हुनु अघि २०७८ मा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा उनी पार्टीका तर्फबाट उम्मेदवार बनी प्रतिष्पर्धा गरेकी थिईन्।

१२) देहावसान :

विमला गौचनको निधन २०८१ कार्तिक २८ गते राती १२:३० मा भएको थियोे । ग्राण्डी हस्पिटलमा उपचाररत रहेका उनको निधन हृदयाघातबाट भएको थियोे।

नेपाली कांग्रेसका तर्फबाट समानुपातिक प्रदेश सभा सदस्य रहनुभएका म्याग्दी जिल्लावासी गौचनको निधनले गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश सरकार तथा नेपाली कांग्रेसलाई अपूरणीय क्षति भएको छ। निजले समग्र गण्डकी प्रदेश, प्रदेश सभा, पार्टी र समग्र म्याग्दी जिल्लाको सामाजिक विकासमा पुऱ्याएको योगदानलाई उच्च सम्मानसहित स्मरण गरिएको थियोे ।

उनको आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोक सन्तप्त सम्पूर्ण परिवारजन तथा इष्टमित्रहरुमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनी हार्दिक समवेदना व्यक्त गरिएको छ।

उनको पार्थिव शरीरलाई नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान प्रकट गरिएको थियो। उनको अन्तिम दाहसंस्कार म्याग्दी- कालीगण्डकी नदीको दोभानमा गरिएको थियो।

१३) पतिको लोकप्रियता र सफलताका सहयात्री/ सहयोगी :

उनका पति राम गौचन “सादा जीवन उच्च विचार”का अनुयायी साथै लगनशील र इमान्दार थिए। मानवीय मूल्य र मान्यतालाई आत्मसात र सम्मान गर्ने प्रवृत्तिका उनका हरेक सफलताका अंशियार विमला गौचन पनि थिईन् भन्न करै लाग्छ।

हरेक पुरुषको सफलतामा महिलाको हात हुन्छ भन्ने तथ्यलाई स्वीकार गर्ने पक्षबाट राम गौचनका राजनीतिक, सामाजिक, व्यावसायिक र वित्तीय सफलताको श्रेय विमला गौचनलाई पनि दिन सकिन्छ ।

राम गौचनको रिक्तता र तीक्ततालाई परिपूर्ति गर्दै आएकी उनको अल्पायुमा भएको निधनले अपुरणीय क्षति भएको महसुस गरिएको छ। तथापि यो श्वासत सत्यलाई स्वीकार्न हामी विवश भएका छौं।

सन्दर्भ सामग्रीहरू :

* म्याग्दी स्मारिका – २०५८, नेपाली कांग्रेस, म्याग्दी, बेनी (पृष्ठ ४२, ४४, ४६)

* श्रेष्ठ अजयमिलन, स्वर्गीय राम गौचन, जीवनगाथा,२०६५ (पृष्ठ ६,७,१०,११,१२,१३,१४,१६,१७,२१,२२,२३,२४,२५,२६,२७,२८,३०,३३)

* जयनेपाल, त्रैमासिक पत्रिका, नेपाली कांग्रेस, जि.का.स. म्याग्दी,बर्ष २, अंक १, पूर्णाङ्क ४, २०६७ माघ (पृष्ठ ११)

* श्रेष्ठ अजयमिलन, म्याग्दीमा नेपाली कांग्रेस, अभिलेख सङ्ग्रह १,२०६९ ( पृष्ठ ९, १०)

* म्याग्दी स्मारिका – २०७२, नेपाली कांग्रेस, जिल्ला कार्य समिति, म्याग्दी (पृष्ठ ३,४,५)

* श्रेष्ठ अजयमिलन, महिला मुक्तिको आवाज, ऐतिहासिक दस्तावेज , २०७४

Related News

बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि
बेनी नगरपालिकालाई अध्यक्ष कप बास्केटबलको उपाधि
  • २०८१ मंसिर १, शनिबार १५:२५

पोखरामा सम्पन्न भएको प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषतर्फको उपाधि म्याग्दीकाे बेनी नगरपालिकाले जितेको छ...

लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता
लोकदीप सहकारीको ११औं वार्षिक साधारणसभा, डिजिटल भुक्तानी र सहकारी शिक्षालाई प्राथमिकता
  • २०८१ मंसिर १, शनिबार १५:२५

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वि.सं....

बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
बेनी बचत तथा ऋण सहकारीको २३औं वार्षिक साधारणसभा
  • २०८१ मंसिर १, शनिबार १५:२५

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । २०५८...

TOP